चिकित्सकहरू विदेश जाने प्रवृत्ति बढ्दो छ

  Sampatti News Online

February 3, 2023

कठमाडौं । अहिले देशमा आफ्नो सीपको उपयोग हुने सम्भावना नदेखेपछि धेरै चिकित्सक बाहिर जाने प्रवृत्ति बढेको छ । यो रोक्न आकर्षण कम भएका विधामा छात्रवृत्तिको कोटा थप गर्नुपर्छ । अनि मात्रै देशमा विशिष्टीकृत सेवा राम्रो बनाउन सकिन्छ ।

नेपालमा अझै पनि ‘सुपर स्पेसलिस्ट’ सेवा दिनसक्ने उपकरण, सेन्टर धेरै छैनन् । यस्ता सेवा दिनका लागि उपकरण सबै ठाउँमा नपुगिसकेको अवस्था छ । डीएम, एमसीएच गरेका चिकित्सकले आफ्नो विशेषज्ञता अनुसार काम पाउनुभएको छैन । डीएम, एमसीएच अध्ययन गरेपछि पनि स–साना स्वास्थ्य केन्द्रमा, जिल्ला अस्पतालमा काम गर्नु परेपछि उहाँहरूको सीप खेर गएको देखिन्छ ।

सुपर स्पेसलिस्ट विशेषज्ञता लिइसकेपछि जस्तै मुटु सर्जन भएपछि ती चिकित्सकले जनरल सर्जनको काम गर्दैनन् । किनभने, यस्तो गर्दा उहाँहरूको सीप खेर जाने भइहाल्यो । त्यसकारण स्वास्थ्य क्षेत्रका उपकरण, प्रविधिको हिसाबले सरकारी अस्पतालमा अझै पनि पछि छौं ।

सरकारले (एमडी, एमएस) गरेका चिकित्सकलाई पनि उचित व्यवस्थापन गर्न सकेको छैन । आधारभूत स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउनु परेको छ । उचित र स्तरीय खालका उपकरण भएका सीमित अस्पताल छन् । त्यसमाथि विशेषज्ञ पनि थोरै छन् । चिकित्सक जुन खालको सीप विकास गर्छन्, त्यसअनुसार दबरन्दी थोरै हुँदा आकर्षण कम हुँदै गएको छ ।

यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जनस्वास्थ्य ऐन २०७५ अन्तर्गत गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गर्ने काम थालेको छ । जसअनुसार न्यूनतम सेवा मापदण्डमा कुन अस्पतालले कुन सेवा दिन्ने भन्ने किटान हुनेछ ।

प्रकाशित मिति:February 3, 2023