५५ वर्षमा पहिलो पटक घट्यो राजस्व सङ्कलन

  Sampatti News Online

February 13, 2023

नेपालमा विगत ५५ वर्षपछि पहिलो पटक अघिल्लो आर्थिक वर्षको तुलनामा कम राजस्व सङ्कलन भएको विवरण अर्थमन्त्री विष्णु पौडेलले संसद्‌मा पेस गरेका छन्।

अर्थमन्त्रीका अनुसार राजस्व सङ्कलनमा आएको यो गिरावट आर्थिक वर्ष २०२४/२५ यता पहिलो पटक देखिएको हो।

“यस अवधिमा गरिएको आयात नियमनको असर तथा आर्थिक गतिविधिमा आएको सुस्तता लगायतका कारणहरूले गर्दा राजस्व वृद्धिदर नकारात्मक हुन गई सरकारी वित्त सन्तुलनमा चरम दबाव परेको छ,” अर्थमन्त्रीले आइतवार संसद्‌मा भने।

सरकारले पुस मसान्तसम्म छ खर्ब ५१ अर्ब ६२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो। तर गत पुस मसान्तसम्म सरकारले चार खर्ब ९० अर्ब चार करोड मात्रै राजस्व उठायो।

अर्थमन्त्री पौडेलका अनुसार लक्ष्यभन्दा करिब २५ प्रतिशत र गत वर्षको यही अवधिको भन्दा १५ प्रतिशत कम राजस्व सङ्कलन भएको हो।

गत जेठ १५ गते तात्कालिक अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेटमा यो आर्थिक वर्षभित्र कुल १४ खर्ब तीन अर्ब १४ करोड राजस्व सङ्कलन हुने अनुमान गरिएको थियो।

निर्वाचनपछि बनेको सरकारका अर्थमन्त्री पौडेलले त्यसलाई संशोधन गर्दै १२ खर्ब ४४ अर्ब ७५ करोड मात्रै सङ्कलन हुने अनुमान अघि सारेका छन्।

भूतपूर्व अर्थसचिव रामेश्वर खनाल नेपालले विगत केही दशकयता सामना गरेका कठिन समयमा पनि राजस्व सङ्कलनमा हुने यस्तो गिरावट नदेखिएको बताउँछन्।

“माओवादी सशस्त्र द्वन्द्व, नाकाबन्दी, कोभिड महामारी कहिले पनि अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्षको राजस्व घटेको थिएन,” उनले भने।

राजस्व सङ्कलनमा आएको यो गिरावटका पछाडि अर्थमन्त्रीले औँल्याएका प्रमुख पाँच कारण यस्ता छन् –

  • कोभिड महामारीको असर
  • युक्रेन युद्ध र आपूर्तिमा विश्वव्यापी अवरोध
  • ठूला अर्थतन्त्र भएका देशहरूको कसिलो नीति
  • अल्पकालीन आन्तरिक नीति समीक्षा नहुँदाको प्रभाव
  • राजस्व चुहावटको असर।

पूर्वसचिव खनाल अर्थमन्त्री पौडेलले यसअघिका अर्थमन्त्री जनार्दन शर्माको व्यवस्थापकीय कमजोरी पनि यसमा जिम्मेवार ठान्छन्।

कतिपयले डलर सञ्चितिमा परेको दबाव र आपूर्ति प्रणालीमा देखिएको असरबीच यसअघिको बजेटमार्फत् ठूलो राजस्व सङ्कलनको लक्ष्य तय गरिएका कारण पनि यस्तो समस्या आएको दाबी गरेका छन्।

प्रकाशित मिति:February 13, 2023