बालाजु क्षेत्रमा यातायात मजदुरको उग्र प्रदर्शन

  Sampatti News Online

February 14, 2023

काठमाडौं । ट्राफिक नियम उल्लंघनमा गरिने कारबाही खुकुलो पार्न र बसपार्कबाहिरै माइक्रोबस पार्किङ दिन माग गर्दै यातायात मजदुरले सोमबार अपराह्नदेखि रातिसम्म बालाजु क्षेत्रमा उग्र प्रदर्शन गरेका छन् । बुधबारदेखि सार्वजनिक यातायात ठप्प पार्ने पूर्वघोषित कार्यक्रम सार्वजनिक गर्न बालाजु जम्मा भएका मजदुर र नयाँ बसपार्क सञ्चालनको ठेक्का लिएको ल्होत्से बहुउद्देश्यीय प्रालि कर्मचारीबीच पार्किङको विषयमा झडप भएपछि प्रहरीले नियन्त्रणको प्रयास गर्दा प्रदर्शन झन् उग्र बनेको हो । 

ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गरेको भन्दै लिने जरिवाना बढी भएको विरोधमा यातायात क्षेत्र ठप्प पारेर आन्दोलनमा उत्रिएका मजदुर र प्रहरीबीच पटकपटक झडप भएको थियो । आन्दोलनकारीले नेपाल प्रहरीको माछापोखरीमा रहेको अस्थायी प्रहरी बिट र २ वटा भ्यानमा आगो लगाइदिएका छन् । त्यसै गरी आन्दोलकारीले ल्होत्से महलभित्र प्रवेश गरी तोडफोड गरेका छन् । ट्राफिक प्रहरीले माघ १ गतेदेखि देशभर सवारी नियम उल्लंघन गर्ने सवारीकर्ताले १ हजार ५ सय रुपियाँ जरिवाना पु¥याएपछि यातायात मजदुरले त्यसको विरुद्धमा आवाज उठाउँदै आएका थिए ।

यातायात मजदुरले आज मंगलबार उपत्यकामा सार्वजनिक सवारीसाधन चल्न नदिने घोषणा गरेका छन् । सोमबार बालाजु क्षेत्रमा भएको आन्दोलनका कारण लामो दूरीमा चल्ने सार्वजनिक बससमेत प्रभावित भएका थिए । राजधानीबाट बाहिर जाने कुनै पनि सवारीसाधन चल्न सकेका थिएनन् ।

आन्दोलनमा सहभागीहरूमध्ये केही युवाहरू लुटपाटमा समेत संलग्न भएपछि स्थिति प्रहरीको नियन्त्रण बाहिर गएको थियो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पटकपटक प्रयास गरेको भए पनि आन्दोलनकारी अनियन्त्रित भएपछि प्रहरीले केही राउन्ड हवाइ फायर गरेको थियो ।

नयाँ बसपार्क बाहिर रहेका साना सार्वजनिक सवारीसाधनको पार्किङसमेत नयाँ बसपार्कबाट नै हुनुपर्ने नियम बनाएपछि यातायात मजदुरहरू नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउदेश्यीय कम्पनीविरुद्ध आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका नाममा स्थानीय ट्यापे मुन्द्रेहरूको प्रवेश भएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बालाजु क्षेत्रको अवस्था तनावग्रस्त भए पनि उक्त आन्दोलन प्रहरीको नियन्त्रण बाहिर नगएको दाबी गर्नुभयो । सो क्षेत्रमा आन्दोलनकारीले बाटोबाटोमा सवारीसाधन तेस्र्याएर विरोध प्रदर्शन गरेपछि बाटोमा हिँड्ने बटुवासमेत प्रभावित भएका छन् । बटुवालाई समेत आन्दोलनकारी र सुरक्षा निकायले लखेटेकाले स्थिति झन् अन्योलग्रस्त बनेको स्थानीय व्यवसायी सन्तोष बस्नेतले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

आन्दोलनका कारण सार्वजनिक तथा निजी सवारीसाधन नचलेपछि सो क्षेत्रमा बसोबास गर्ने स्थानीय पनि प्रभावित भएका छन् । उनीहरूलाई आन्दोलनकारी र प्रहरीले समेत सार्वजनिक बाटोबाट हिँड्न रोक लगाउँदा स्थानीय सर्वसाधारणहरू हात उठाएर आ–आफ्नो गन्तव्य गइरहेको कारुणिक दृश्य देखिएको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन सयौंको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । दुवै तर्फबाट ढुंगा हानाहान हुँदा सो क्षेत्र रणभूमिमा परिणत भएको छ । आन्दोलनले उग्ररूप लिएपछि आन्दोलनकारी र सरकारी पक्षबीच वार्ता भए पनि वार्ता निष्कर्षमा भने पुगिसकेको छैन ।

सो क्षेत्रमा राखिएको सार्वजनिक सम्पत्तिमा समेत आन्दोलनकारीले निसाना बनाउँदा सवारी सुरक्षाका लागि राखिएका सबै वस्तुहरूमाथि आन्दोलनकारीले आक्रमण गरेका छन् ।

केही महिनायता सवारी नियम उल्लंघन गर्नेमाथि कारबाही गर्ने भन्दै ट्राफिक प्रहरी निर्मम बन्न थालेपछि यातायात मजदुर आक्रोशित हँुदै आएका थिए । अहिले ३ वटा मजदुर संगठनले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेको उनीहरूले जनाएका छन् । आन्दोलनमा उत्रने मजदुर संगठनमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल मजदुर यातायात संघ र अखिल नेपाल मजदुर संघ रहेका छन् । उनीहरूले विभिन्न १० बुँदे मागसमेत राखेका छन् ।

यातायात मजदुरहरूले अहिले लागू भएको ट्राफिक नियमसमेत नमान्ने घोषणा गरेका छन् । उनीहरूले ऐन संशोधनको मागसमेत गरेका छन् ।

एम्बुलेन्स मात्रै फुटाएनन्, मोबाइलसमेत लुटे : चालक

प्रदर्शनकारीको आक्रमणमा एम्बुलेन्स पनि पर्‍यो । प्रदेश–३ ००१–०२२ च २६३१ नम्बरको एम्बुलेन्सको चारैतिर सिसा फुटेको छ । रसुवाबाट बिरामी लिएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुर्‍याएर फर्किँदै गरेको एम्बुलेन्स आक्रमणमा परेको हो । 

चालक ठाकुरप्रसाद न्यौपानेले भने, ‘म रसुवाको कालिका गाउँपालिकाबाट ल्याएको बिरामी टिचिङमा छाडेर फर्किँदै थिएँ । प्रदर्शनकारीले एम्बुलेन्स तोडफोड मात्रै गरेनन्, मेरो मोबाइल पनि लुटे ।’ क्षतिग्रस्त एम्बुलेन्स बनाइदिन माग गर्दै सोमबार राति नै न्यौपानेले गोंगबुु प्रहरीवृत्तमा निवेदन दिएका छन् । चारैतिरको सिसा फुटेको उनले बताए । 

शान्तिपूर्ण आन्दोलनमाथि हस्तक्षेप भएपछि झडप : केसी
अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले सामान्य संघर्षका कार्यक्रमबारे मजदुरलाई जानकारी गराउने क्रममा ल्होत्सेले बिथोल्न खोजेपछि झडपको अवस्था आएको बताए । ‘यातायात मजदुरहरूलाई भेला पारेर शान्तिपूर्ण ढंगले आन्दोलनका कार्यक्रम र हाम्रा मागबारे जानकारी गराउँदै थियाैँ,’ उनले भने, ‘सोही क्रममा ल्होत्सेको टिमले हामीलाई त्यहाँबाट हटाउन खोज्यो, यहीबाट विवाद सुरु भएको हो ।’ उनले सोमबार पक्राउ परेका चारैजना माइक्रोबस चालक रहेको बताए । बसपार्कभित्र ल्होत्सेको एकाधिकार, पार्किङ भाडा वृद्धि, ट्राफिक जरिवाना र कारबाहीबारे आफूहरूको आपत्ति रहेको उनको भनाइ छ । 

मन्त्री श्रेष्ठले वार्तामा बोलाए
मजदुरहरूका माग र झडपबारे छलफल गर्न मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मजदुर संगठनका नेता, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, महानगरलगायतलाई बोलाएका छन् ।

प्रकाशित मिति:February 14, 2023