८ खर्ब २५ अर्ब नाघ्यो व्यापार घाटा

  Sampatti News Online

February 22, 2023

काठमाडौं– चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कुल व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड नाघेको भन्सार विभागले तथ्यांक सार्वजनिक गरेको छ।

बुधबार विभागले सार्वजनिक गरेको तथ्यांअनुसार माघ मसान्तसम्म नेपालले कुल १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ। यसमध्ये ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा ९३ अर्ब ४३ करोड २३ लाख बराबरको मात्रै निर्यात भएको छ।

यो अवधिमा नेपालले गरेको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७७ प्रतिशत र निर्यातको हिस्सा ९.२३ प्रतिशत छ। गत माघ मसान्तसम्म भएको वैदेशिक व्यापारबाट २ खर्ब १२ अर्ब १२ करोड ७४ लाख बराबर भन्सार राजस्व उठेको विभागको तथ्यांकबाट देखिन्छ।

गत आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षा अवधिमा नेपालले गरेको कुल वैदेशिक व्यापारको तुलनामा यसवर्षको सोही अवधिमा गरेको व्यापार २०.८४ प्रतिशतले घटेको छ।

त्यस्तै, गत वर्षको तुलनामा आयात १९.९० प्रतिशतले घटेको छ भने निर्यात २९ प्रतिशतले घटेको विभागले जनाएको छ। सबैभन्दा ठूलो व्यापार साझेदार भारतबाट माघ मसान्तसम्म नेपालले ५ खर्ब ७० अर्ब ९६ करोड ९७ लाख बराबरको सामान आयात गरेको छ।

यही अवधिमा नेपालबाट भारतमा भएको निर्यात भने ६६ अर्ब २२ करोड ६५ लाख बराबर मात्रै छ। ६ महिने अवधिमा चीनबाट १ खर्ब २५ अर्ब ५ करोड २४ लाख बराबरको आयात गरेको छ भने ४२ करोड २६ लाख बराबरको मात्रै निर्यात गरेको छ।

यो अवधिमा नेपालले वैदेशिक व्यापार गरेको तेस्रो ठूलो मुलुक इन्डोनेसिया हो। इन्डोनेसियाबाट ५७ अर्ब ९ करोड ६९ लाख बराबरको आयात हुँदा १० करोड ३६ लाख बराबर मात्रै निर्यात भएको छ। त्यस्तै, संयुक्त अरब इमिरेट्सबाट २० अर्ब २६ करोड २५ लाख बराबरको सामान आयात हुँदा २५ करोड ८९ लाख बराबरको निर्यात भएको छ। 

अर्जेन्टिनासँग १८ अर्ब ५६ करोड ६० बराबरको आयात र १० लाख २० हजार बराबरको निर्यात कारोबार भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

तथ्यांकअनुसार माघ मसान्तसम्म नेपालले ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख बराबरको वस्तु तथा सेवा आयात गरेको छ भने ९३ अर्ब ४३ करोड २३ लाख बराबरको मात्रै निर्यात भएको छ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात गरेको छ। विभागका अनुसार ६ महिनामा ८४ अर्ब ६१ करोड ६४ लाख बराबरको डिजेल, ३८ अर्ब ७३ करोड ३३ लाख बराबरको पेट्रोल र ३३ अर्ब ३४ करोड बराबरको एलपी ग्यास आयात भएको छ। यही अवधिमा नेपालले २६ अर्ब ४२ करोड ४२ लाख बराबरको अप्रशोधित सोयाबिन तेल आयात गरेको छ।

त्यसैगरी २३ अर्ब ६६ करोड बराबरको फलाम, १८ अर्ब ४५ करोड ३५ लाख बराबरका सुनजन्य वस्तु, १७ अर्ब ७६ करोड बराबरको अप्रशोधित पाम आयल र १४ अर्ब ७६ करोड ८३ लाख बराबरको स्मार्टफोन आयात भएको छ।

६ महिने अवधिमा नेपालबाट सबैभन्दा धेरै पाम आयल निर्यात भएको छ। यो अवधिमा १३ अर्ब ९२ करोड ६७ लाख बराबरको पाम तेल निर्यात भएको देखिएको हो। त्यस्तै, सोयाबिन तेल ८  अर्ब २७ करोड ७५ लाख बराबरको निर्यात भएको छ।

विभागको तथ्यांकअनुसार ४ अर्ब ८९ करोड ७३ बराबरको अलैंची र २ अर्ब ५८ करोड ३४ लाख बराबरको चिया निर्यात भएको छ।

वैदेशिक व्यापार गर्ने सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सार हो। वीरगञ्ज भन्सारबाट ६ महिने अवधिमा ३ अर्ब ४३ करोड ६३ लाख ४३ हजार बराबरको सामान आयात भएको छ भने २३ अर्ब २८ करोड ४० लाख बराबरको निर्यात भएको छ। नेपालले यो अवधिमा गरेको कुल वैदेशिक व्यापारमा वीरगञ्जबाट मात्र ३७.३९ प्रतिशत आयात भएको छ भने कुल निर्यातको २४.९२ प्रतिशत हिस्सा रहेको छ।

त्यस्तै, भैरहवा भन्सारबाट १ खर्ब ३० अर्ब ५३ करोड ९३ लाख बराबरको आयात र ५ अर्ब ४२ करोड ७० लाख बराबर निर्यात भएको छ। विराटनगर भन्सारबाट १ अर्ब ६ करोड ९० लाख १९ हजार बराबरको आयात हुँदा २५ अर्ब ५३ करोड ८० लाख बराबरको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति:February 22, 2023