नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषदको बैठक आज बस्दै

  Sampatti News Online

March 24, 2023

काठमाडौँ । नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषदको बैठक आज बस्ने भएको हो ।

हिजो बिहीबार बस्नुपर्ने नियमित मन्त्रिपरिषदको बैठकलाई आज शुक्रवारको लागि सारिएको थियो । आज शुक्रवार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने भएको हो ।

नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दज्र्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बन्नेछन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति भएका थिए ।

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । त्यसपछि रिक्त हुने आइजिपी पदमा हाल पदोन्नति भएका एआइजीबाटै बढुवा गर्नुपर्ने भएकाले अब पाँच एआइजीमध्ये एक जनाले महानिरीक्षकको पदमा बस्न महत्वपूर्ण अवसर प्राप्त गर्दै छन् ।

प्रकाशित मिति:March 24, 2023