टेलिफोन महसुल घटाउन भारत सकारात्मक – मन्त्री शर्मा

  Sampatti News Online

March 25, 2023

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन भारत सकारात्मक रहेको बताएकी छन्। चारदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुरा बताएकी हुन् । 

उनले भारतमा बस्ने र यहाँबाट भारत जाने नेपालीले भोग्दै आएका समस्या समाधान गर्न आफूले छलफल गरेको बताइन् । ‘विभिन्न सन्दर्भमा भारतमा ठूलो सङ्ख्यामा नेपालीको बसोबास रहेको छ, नेपालबाट भारतमा टेलिफोन गर्दा शुल्क कम छ, तर भारतबाट नेपालमा टेलिफोन गर्दा शुल्क महँगो छ’, उनले भनिन्, ‘यो विषयलाई हामीले गम्भीतापूर्वक उठाएका छौँ ।’ 

भेटमा आफूले नेपालको भन्दा कम दर नभए पनि कमसे कम ‘रेसिप्रोकल’ ढङ्गबाट भारतले नेपालमा कल गर्दा लाग्ने शुल्कमा घटाइदिन आग्रह गरेको बताइन्। ‘उनीहरूले त्यो विषयलाई सकारात्मक लिनुभएको छ’, मन्त्री शर्माले भनिन्। भारतमा गएका नेपालीले मोबाइलको सीम कार्ड लिन समस्या भोग्नुपरेको अवस्थालाई समाधान गर्न आफूले आग्रह गरेको उनले बताइन् ।

प्रकाशित मिति:March 25, 2023