देउवाले दुई मन्त्रीको नाम टुँग्याए

  Sampatti News Online

April 5, 2023

काठमाडाैं । नेपाली कांग्रेसले पार्टीका सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा पठाउन बाँकी ४ मन्त्रीमध्ये २ जनाको नाम टुंग्याएको हो।

बैठकमा सहभागी भएका एक पदाधिकारीले दिएको जानकारीअनुसार केन्द्रीय सदस्यद्वय मोहनबहादुर बस्नेत र नारायणप्रकाश (एनपी) साउद मन्त्री बन्ने टुंगो लागेको छ।

साउद गत मंसिरको चुनावमा कञ्चनपुर- २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गराउँदै कांग्रेसले उनलाई मन्त्री बनाउन लागेको हो।

यस्तै बस्नेत सिन्धुपाल्चोक-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनलाई बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको हो।

कांग्रेसले सात प्रदेशको प्रतिनिधित्व हुने गरी र समावेशी सिद्धान्तअनुसार मन्त्री छानेर सरकारमा पठाउने मापदण्ड बनाएको थियो।

कांग्रेसले पाएका ८ मन्त्रालयमध्ये कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ।

यसअघि गत चैत १७ गते उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रीमा उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा प्रवक्ता प्रकाशशरण महत, सहरी विकास मन्त्रीमा सीता गुरूङ र उद्योग मन्त्रीमा रमेश रिजाललाई पठाइएको थियो।

प्रकाशित मिति:April 5, 2023