सगरमाथामा तीन शेर्पा गाइड बेपत्ता

  Sampatti News Online

April 13, 2023

सगरमाथा आरोहीहरूको सामान बोकेर गइरहेका तीन जना शेर्पा गाइड बेपत्ता भएका छन्। उनीहरू सेर्‍याक फल (हिम पहिरो) मा परी बेपत्ता भएका हुन्। घटना भएको थाहा पाएलगत्तै नाम्चे इलाका प्रहरी कार्यालयको टोली उद्धारमा संलग्न भएको छ।

पर्यटन विभाग पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले नाम्चेबाट घटनास्थल पुगेको इलाका प्रहरी कार्यालयको टोलीले बेपत्ता शेर्पाहरूको खोजी गरिरहेको बताए। टोलीमा संलग्न सहायक प्रहरी निरीक्षक पूर्णप्रसाद दाहालका अनुसार बेपत्ता शेर्पा गाइडहरू सोलुखुम्बु पासाङ गाउँपालिका-५ का स्थायी बासिन्दा हुन्। बेपत्ता हुनेमा सोलुखुम्बु पासाङ गाउँपालिका-५ का २१ वर्षीय लाक्पारिता शेर्पा, ३२ वर्षीय पेम्बातेन्जी शेर्पा र ४२ वर्षीय दाछिरी शेर्पा रहेको उनले बताए।

चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पु्र्याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने स्थानमा इम्याजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिका तर्फबाट खटिएका गाइड बेपत्ता भएका हुन् ।

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले इम्याजिन नेपालबाट खटिएका तीन शेर्पा गाइड हराइरहेको बताए । उनले भने, “इम्याजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिका तर्फबाट खटिएका शेर्पा बाटो बनाउने क्रममा आवश्यक सामग्री पुर्याएर फिर्ता हुने क्रममा हिउँको ढिस्कोले पुरिएर बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।”

वसन्त ऋतुमा सगरमाथा आरोहण टोलीलाई आवश्यक सामग्री पुर्याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा पर्ने आइसफल क्षेत्रमा हिउँको ढिस्को भर्‍याङसहित खस्दा गाइड हराइरहेको इम्याजिन नेपालले बताएको छ । राति १ बजे नै आधार शिविरका लागि प्रथान गरेको सो गाइड टोली क्याम्प–१ र क्याम्प–२ मा लागि सामान पुर्याएर फर्किंदै थियो । दिनभर खोजी कार्य जारी राखिएको भए पनि हराएका शेर्पा गाइडको स्थिति पत्ता लाग्न सकेको छैन ।

गाइड हराएको विषयमा जानकारी प्राप्त हुनासाथ स्थानीय प्रशासन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार संघ, इम्याजिन नेपाल कम्पनी र पर्वतारोहण सञ्चालक संघसँगको सहकार्यमा सिम्रिक एयरको हेलिकप्टरले ३ पटक खोजी गरेको विभागले बताएको छ । हिमपहिरो खसेको ढिस्को करिब ६० मिटर तल खोंचमा रहेकाले खोज तथा उद्धार गर्न कठिन भएको छ ।

हेलिकप्टरले खोजी गर्दा हावाको चापले थप हिउँको ढिस्को खस्ने सम्भावना भएकाले हेलिकप्टर घुमाएर खोजी गर्न नसकिएको बताइएको छ । हवाई मार्गबाट पत्ता नलागेपछि आधार शिविरबाट थप शेर्पा गाइडहरुलाई माथि पठाएर खोजी कार्य सुरु गरिएको इम्याजिन नेपालले बताएको छ । विभागले समेत स्थलगत मार्गवाट तीव्र रुपमा खोजतलास तथा उद्धार गर्ने कार्य जारी राखिएको जनाएको छ । बिहीबार भने हेलिकप्टरमा डोरी र यन्त्र उपकरणको सहयोगले खोंचमा खोजी कार्य तीव्र गर्ने जानकारी दिएको छ ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि २६ समूहका २ सय ६६ जनाले आरोहण अनुमति लिएका छन् । वर्षको पहिलो आरोहण शेर्पासहितको ११ जनाको टोलीले सगरमाथामा रोप फिक्सिङ (डोरी टाँगेर) बाटो बनाउँदै यस वर्षको पहिलो आरोहण पूरा गरेको थियो । गत वर्षको सिजनमा सगरमाथा आरोहणका क्रममा गएका ३ नागरिकको मृत्यु भएको थियो, जसमा २ नेपाली र १ विदेशी रहेका थिए ।

प्रकाशित मिति:April 13, 2023