लुम्बिनीका मुख्यमन्त्री लिला गिरी पदमुक्त, पाएनन् विश्वासको मत

  Sampatti News Online

April 24, 2023

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेकाे प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो ।

उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाए ।

माओवादी केन्द्र, नेपाली कांग्रेस नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, एकिकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज समेत रहेका गिरी गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र दुई स्वतन्त्र गरि ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

तर, राष्ट्रिय राजनीतिमा फेरिएको सत्ता समिकरणपछि राप्रपा बाहेकका दलहरूले गत चैत्र १२ गते नेकपा माओवादी केन्द्र लगायतका दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। सरकारमा सहभागि दलहरूले समर्थन फिर्ता लिएको एकमहिना बिताएर गिरीले विश्वासको मत लिएका हुन्

प्रकाशित मिति:April 24, 2023