आठ महिनादेखि पाएनन् ‘सक्कली भुटानी’ले शरणार्थी परिचयपत्र

  Sampatti News Online

May 17, 2023

काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्यहरू पक्राउ परिरहँदा खाँटी भुटानी शरणार्थीहरूले भने आफूहरू सबैको परिचयपत्र आठ महिनादेखि नवीकरण हुन नसकेको गुनासो गरेका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकमा नै तहल्का मच्चाइरहेका बेला सक्कली भुटानीहरुले भने परिचयपत्र अझै पाएका छैनन्’, भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राई भन्नुहुन्छ– ‘त्यसमाथि नक्कली भुटानी शरणार्थी काण्डले वर्षौंदेखि झापा र मोरङको शिविरमा कष्टकर जीवन बिताइरहेका शरणार्थीलाई गम्भीर असर पुर्‍याएको छ ।’ जसकाकारण पनि भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले सो काण्डका बारेमा स्वतन्त्र एवं निष्पक्ष छानबिनका लागि सरकारसँग औपचारिक रुपमा आग्रहसमेत गरेको हो ।

‘हालै गैरभुटानीलाई भुटानी बनाएर पश्चिमा देश खासगरी अमेरिका लैजान ठूलो धनराशीको भ्रष्टाचार मुद्दामा नेपाली नागरिकदेखि उच्च तहका कर्मचारी र पूर्वमन्त्रीहरूसमेत गिरफ्तार भइसकेको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ –उहाँले भन्नुभयो । सो संस्थाले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न तथा त्यसमा आवाश्यक सहयोग गर्न संस्था प्रतिबद्ध रहेको समेत जनाएको छ ।

झापा र मोरङमा शिविरहरुमा कष्ठपूर्ण जीवन बिताइरहेका करिब ६ हजार ५ सय हाराहारीका भुटानी शरणार्थीको जीवनयापनका बारेमा संवेदनशील भइदिन पनि सो समितिले आग्रह गरेको छ ।

प्रकाशित मिति:May 17, 2023