व्यक्ति बदलिए मात्र कांग्रेस बदलिन्छ : महामन्त्री थापा

  Sampatti News

June 2, 2023

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिए मात्रै कांग्रेस बदलिने बताएका छन् । नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले कांग्रेस बदलिनका लागि कांग्रेसभित्रका व्यक्ति बदलिनुपर्ने आवश्यकता रहेको बताए । 

‘कुशासन, बेथिति र भ्रष्टाचार अन्त्य गरी भविष्य दिने पार्टीका रूपमा कांग्रेसलाई स्थापित गर्न सकेमात्र कांग्रेसप्रति जनतामा आकर्षण पैदा हुन्छ,’ उनले भने । पार्टीभित्र विश्वास फर्काउन कांग्रेस बदलिनुपर्नेमा उनले जोड दिए । 

महामन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहमा सबैभन्दा धेरै सिट जितेको कांग्रेसले जनतामा आशलाग्दो काम गरे आगामी निर्वाचनमा अझ धेरै सिट जित्ने दाबीसमेत गरे ।  

‘कांग्रेसभित्रको गुट भत्काउनुपर्छ, सदस्यता प्रणाली बदल्नुपर्छ, उम्मेदवार संसदीय समितिले होइन जनताले छान्ने व्यवस्था गर्नुपर्छ,’ महामन्त्री थापाले भने । महामन्त्री थापाले टिकटका लागि पार्टी नेतृत्वतिर फर्कने अवस्थाको अन्त्य गरी जनतातिर जाने परिस्थिति पार्टीभित्र सिर्जना गर्नुपर्ने बताए । कांग्रेस बदलिए देशको परिस्थिति बदलिने उनको भनाइ थियो ।

उनले श्रमजीवी पत्रकारको पक्षमा नेपाल प्रेस युनियन लाग्नुपर्ने बताए । कांग्रेसले विधिको शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताको बेवास्ता गरेमा खबरदारी गर्ने काम प्रेस युनियनको भएको उनको भनाइ थियो । 

प्रकाशित मिति:June 2, 2023