‘लू’बाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध

  Sampatti News Online

June 3, 2023

काठमाडौँ । देशका तराई भू-भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

‘आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू-भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने देखिन्छ । तसर्थ: तराईका भू-भागमा तातो हावा र लूबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ’, बुलेटिनमा उल्लेख छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाले अबका तीन दिनसम्म लू चल्ने सम्भावना रहेको बताए । ‘विगत दुई दिनदेखि तराईका अधिकांश भू-भागमा लू चलिरहेको छ । समग्रमा तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा तापक्रम ४० डिग्री नाघेर तातो हावा तथा लू चलेको छ । नेपालगञ्जलगायत क्षेत्रमा तापक्रम ४० डिग्री हाराहारी छ, यसले गर्मी बढेको छ’, उनले भने ।

प्रकाशित मिति:June 3, 2023