पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षा, तराईमा ‘लू’ को सम्भावना

  Sampatti News Online

June 6, 2023

काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिम प्रदेश र लुम्बिनी  प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
     
दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
     
रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज काठमाडौँको विवरणमा आज काठमाडौँको न्यूनतम तापक्रम १८ दशमलव चार र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ ।

यस्तैगरी, मध्य तथा पूर्वी तराईका भू-भागहरूमा अधिकतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भू-भागहरूमा तातो हावा ‘लू’चलिरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:June 6, 2023