मुलुकको सर्वाङ्गीण विकासका लागि दक्ष जनशक्ति उत्पादन गर्दै सिटिइभिटी

  Sampatti News Online

June 8, 2023

सीपयुक्त नेपाल, समृद्ध जनता भन्ने दूरदृष्टिका साथ अघि बढेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार आवश्यकताको लागि सक्षम जनशक्ति विकास गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम प्रणाली प्रवर्द्धन गरी एक जीवन्त संस्थाका रुपमा स्थापित भएको छ ।आधारभूत, मध्यमस्तरीय तथा उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न सुनियोजित रुपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको व्यवस्था र सीपको स्तर निर्धारण एवं प्रमाणीकरण गर्नको लागि  परिषद्को स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएकोले सिटिइभिटीको स्थापना भएको थियो ।
सीपयुक्त नागरिक नै विकासको प्रमुख स्रोत भएको तथ्यलाई आत्समाथ गरी सिटिइभिटीले मुलुकको सर्वाङ्गीण विकासका लागि दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । नेपाली युवालाई ज्ञान, सीप, कला र कौशलले सुसज्जित गरी स्वदेशमै काम गर्न सक्षम बनाउँदैछ परिषद् । दक्ष जनशक्तिको परिचालन गरी उपलब्ध श्रोतसाधनको सदुपयोगद्वारा देशको विकासमा योगदान पु-याउने दृढ संकल्पका साथ परिषद् सक्रिय छ । आर्थिक वर्ष २०७८/७९ सम्ममा परिषद्ले डिप्लोमा तथा प्रमाणपत्र तहमा १,१८,६१७ जना र प्रि–डिप्लोमा तहमा २,५६,२६६ जना प्राविधिक जनशक्ति उत्पादन गरेको छ । लामो अवधिका प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमबाट हालसम्म ३,७४,८८३ जना प्राविधिक जनशक्ति उत्पादन भइसकेका छन् ।प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमले गरिबी र बेरोजगारी कम गराई आर्थिक विकासको राष्ट्रिय लक्ष्य हासिल गर्न टेवा पु-याउने निर्विवाद तथ्यलाई परिषद्ले हृदयङ्गम गरेको छ ।  प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमले व्यक्तिलाई “बोली खाने भन्दा गरी खाने” बनाउने परिषद्को मान्यता छ ।दूरदृष्टि प्राप्तिको लागि लक्ष्य र प्रत्येक लक्ष्य प्राप्तिको लागि रणनीति तयार गरी सो अनुसार कार्यक्रम कार्यान्वयन गरिएको छ ।
सिटिइभिटी प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम क्षेत्रको राष्ट्रिय स्वायत्त सर्वोच्च निकाय हो । देशमा सीपयुक्त प्राविधिक जनशक्तिको विकास गर्न प्राविधिक तथा व्यावसायिक शिक्षाको नीति निर्माण तथा समन्वय गर्ने एक मात्र सरकारी निकायको रूपमा यो संस्था रहेको छ । परिषद्ले देशभित्र स्तरीय प्राविधिक जनशक्ति निर्माण, पाठ्यक्रम विकास, सीप प्रमाणिका निर्माण साथै अध्ययन र अनुसन्धानका कार्यहरू गर्दै आएको छ । परिषद्ले नेपालको लागि युनेस्को–यूनिभोक केन्द्रको रूपमा समेत काम गर्दै आएको छ । राष्ट्रलाई आवश्यक पर्ने प्राविधिक र दक्ष जनशक्ति उत्पादन गर्न सिटिइभिटीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । विशेषगरी  नीति निर्माण, गुणस्तर नियन्त्रण, योग्यतामा आधारित पाठ्यक्रमको तयारी, विभिन्न पेशाहरूको सीपको मापदण्ड विकास गर्ने र मानिसहरूको सीप परीक्षण गर्ने, विभिन्न अनुसन्धान अध्ययनहरू सञ्चालन गर्ने र तालिम आवश्यकताहरूको मूल्याङ्कन आदि कार्य परिषद्ले सञ्चालन गरिरहेको छ ।
पहुँच र समानता सुनिश्चित गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम कार्यक्रमहरू विस्तारको विस्तार गर्ने, गुणस्तर, सान्दर्भिक र कुशल प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम प्रणाली सुनिश्चित गर्ने कार्यमा परिषद् दत्तचित्त भएर संलग्न छ ।सञ्चालित कार्यक्रमको प्रभावकारिता र दक्षता अभिवृद्धि गर्ने, शिक्षा ढाँचासँग यसको अनुकूलता सुनिश्चित गर्ने, सरोकारवालाहरू बीच प्रभावकारी समन्वय स्थापना गर्ने लक्ष्यप्राप्तिका लागि सिटिइभिटी कटिबद्ध छ ।
नेपालको विकासका लागि दक्ष जनशक्ति उत्पादन गर्दै  परिषद्ले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम नीति तथा कार्यक्रमका सम्बन्धमा सरकारलाई सल्लाह,सुझावसमेत  दिँदै आएको छ ।कार्यक्रमको दायरा र मापदण्डहरू निर्धारण गरी आधारभूत तहदेखि उच्च शिक्षासम्म प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम कार्यक्रमहरूको व्यवस्था र सञ्चालन गर्ने अभिभारा परिषद्को काँधमा छ ।  परिषद्ले गुणस्तरीय शिक्षा र तालिमका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग सम्पर्क र समन्वय समेत गरिरहेको छ ।सरोकारवालाबीच प्रभावकारी समन्वय स्थापना गर्ने कार्य समेत परिषद्ले गर्दै आएको छ ।
परिषद्को ऐतिहासिक पृष्ठभूमि

परिषद्को वार्षिकोत्सव समारोहमा सहभागी सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा लगायत अतिथिगण


सीपयुक्त जनशक्ति नै देश विकासका मूल आधार हुन् भन्ने मान्यतालाई मनन् गर्दै आधारभूत तथा मध्यमस्तरीय दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न वि.सं. २०३७ मा प्राविधिक शिक्षालय योजना लागू भई जुम्लामा सर्वप्रथम कर्णाली प्राविधिक शिक्षालयको स्थापना भएको थियो । तत्पश्चात लहान प्राविधिक शिक्षालय, सिराहा, उत्तरपानी प्राविधिक शिक्षालय, धनकुटा, जिरी प्राविधिक शिक्षालय, दोलखा क्रमशः स्थापना भएको पाइन्छ । प्राविधिक शिक्षालय योजना कार्यान्वयन सम्बन्धी नीतिगत मार्गदर्शनका लागि वि.सं. २०३९ मा राष्ट्रिय शिक्षा समिति अन्तर्गत रहने गरी राष्ट्रिय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम समिति गठन भयो । देशका विभिन्न स्थानमा स्थापना भएका प्राविधिक शिक्षालयहरूको व्यवस्थापन एवं प्रशासनिक कामकाजका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा निर्देशनालय गठन भयो । प्राविधिक तथा व्यावसायिक शिक्षा पद्धतिको समग्र विकासका लागि समन्वय र सहजीकरण गर्न छुट्टै निकायको आवश्यकता महसुस भयो । आधारभूत, मध्यम तथा उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने, सीपको स्तर निर्धारण एवं प्रमाणीकरण गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम  प्रदायक निकायहरुसँग समन्वय गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका कार्यक्रमहरुको बिस्तार गर्ने मूल उद्देश्यका साथ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन, २०४५ बमोजिम स्वायत्त निकायको रुपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्थापना भएको हो ।


परिषद्को संगठन संरचना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ मा २३ सदस्यीय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सभा र ९ सदस्यीय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् रहने व्यवस्था छ । सभा र परिषद् दुवैको अध्यक्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रहनुका साथै एक जना पूर्णकालीन उपाध्यक्ष र कर्मचारीमध्येबाट एक जना सदस्य–सचिव कार्यकारी प्रमुखको रुपमा नेपाल सरकारबाट नियुक्ति गरिने व्यवस्था छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा रहेको छ । केन्द्रीय कार्यालय अन्तर्गत ९ वटा महाशाखा, ३ वटा अर्ध स्वायत्त संस्था र ७ वटा प्रदेश कार्यालयहरु रहेका छन् । त्यस्तै परिषद् अन्तर्गत ६५ वटा आङ्गिक शिक्षालय, ५२ वटा साझेदारी स्वरुपमा सञ्चालनमा रहेका शिक्षालय, ६३६ वटा प्राविधिक शिक्षा संचालन गर्न सामुदायिक विद्यालय ४२९ वटा सम्बन्धन प्राप्त निजी शिक्षालयहरु र १,५६० वटा छोटो अवधिको तालिम सञ्चालन गर्न स्वीकृति लिएका निजी तालिम प्रदायक संस्थाहरु मार्फत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका कार्यक्रमहरु सञ्चालन भैरहेका छन् ।
परिषद् अन्तर्गत सञ्चालित कार्यक्रम


परिषद्ले दुई प्रकारको कार्यक्रम सञ्चालन गर्दै आएको छ : १) प्राविधिक शिक्षा र २) व्यावसायिक तालीम ।
प्राविधिक शिक्षाः यस कार्यक्रमतर्फ परिषद्ले स्वास्थ्य, इन्जिनियरिङ्ग, कृषि, होटल व्यवस्थापन आदि जस्ता विधामा प्राविधिक एस.एल.सी. र डिप्लोमा/प्रमाणपत्र तहका विभिन्न कार्यक्रमहरू संचालन गर्ने गरेको छ । प्राविधिक शिक्षा तर्फ विभिन्न विषयका कोर्षहरू यस प्रकार छन्ः
प्राविधिक एस.एल.सी.: यो तहमा प्राविधिक विधाका तपसिलका कोर्षहरू सञ्चालित छन् । परिषद् अन्तर्गतका शिक्षालयहरुमा एसईई परीक्षामा ई ग्रेड प्राप्त विद्यार्थीहरू र सोही सरहको २४ महिने औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण सञ्चालन गरेको छ । सो अध्ययनका लागि एस.एल.सी. उत्तीर्ण वा एसईई दिएको हुनु पर्ने छ ।
कृषि : जे.टी.ए (पशुपालन/एनिमल साईन्स),  जे.टी.ए (प्लान्ट साईन्स),  टेक्स्टाइल एण्ड सेरिकल्चर, माथिल्लो तहको अध्ययनः प्रा.एस.एल.सी.मा कम्तिमा ६८.३३ प्रतिशत अंक ल्याई उत्तीर्ण विद्यार्थीले आई एस्सी कृषि तथा सम्वन्धित विषयमा अध्ययनका लागि प्रवेश परीक्षामा सामेल हुन पाउने व्यवस्था रहेको छ ।
इञ्जिनियरिङ्ग:
सिभिल (सव–ओभरसियर),  मेकानिकल (सव–ओभरसियर), अटोमोवाइल (सव–ओभरसियर), जुनियर कम्प्युटर टेक्निसियन,  एयर कण्डिसनीङ्ग एवं रेफ्रिजेरेशन,  इलेक्ट्रिकल (सव–ओभरसियर),  इलोक्ट्रोनिक्स (सव–ओभरसियर), वाटर सप्लाई एण्ड स्यानटरी (सव ओभरसियर),  सर्वे (सव–ओभरसियर)
स्वास्थ्य   ः सामुदायिक स्वास्थ्य सहायक/कम्युनिटी मेडिसिन एसिस्टेण्ट (सि.एम.ए.) अक्जिलरी नर्स मिडवाइफ (अ.न.मी.), ए.ए.एच.डव्ल्यू (आयुर्वेद),ल्याव एसिस्टेण्ट,  आम्ची, अक्यूपन्चर
विकास तथा व्यवस्थापन :
सामजिक परिचालन,  कार्यालय व्यवस्थापन/कम्प्यूटर एप्लिकेशन एण्ड सेक्रेटरियल मेनेजमेण्ट, उद्यमशीलता विकास, होटल म्यानेजमेण्ट

परिषद्का मुख्य कार्यक्रम तथा क्रियाकलाप
परिषद्ले आफ्नो भूमिकालाई कार्यक्रम सञ्चालक/कार्यान्वयन कर्ताबाट सहजकर्ता/समन्वयकर्ताको भूमिकामा केन्द्रित गरी प्राविधिक शिक्षालयहरू, श्रम विभाग, घरेलु तथा साना उद्योग, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू, राष्ट्रिय गैर सरकारी संस्थाहरू तथा निजी क्षेत्रमा सञ्चालित प्राविधिक संस्थाहरूको क्षमता अभिवृद्धिको निम्ति प्राविधिक सहयोग तथा आवश्यकता अनुसारको अन्य सहयोग गर्ने गरेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमको गुणस्तर बढाउन परिषद्ले अनुगमन, मूल्यांकन, स्तर निर्धारण र प्रभावकारिता अध्ययन गरी सोको आधारमा नीति र कार्य योजना बनाउने गरेको छ ।
परिषद् केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय परिषद् अन्तर्गतका आंगिक प्राविधिक शिक्षालयहरू, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम रहेका विद्यालय, साझेदारी शिक्षालय र परिषद्सँग सम्वन्धन लिएका प्राविधिक शिक्षालयमार्फत सेवाग्राही समक्ष प्रभावकारी सेवा पु-याउन परिषद्ले निम्न कार्यहरू मार्फत नागरिकलाई सेवाप्रवाह गर्दै आएको छः
– विभिन्न संस्थाहरूले संचालन गर्ने प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमका कार्यक्रमहरूलाई समन्वय गरी प्रभावकारी ढंगले सञ्चालन गर्ने ।
– उपलव्ध सीमित साधन र श्रोतहरूको अधिकतम उपयोग गर्ने ।
– प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमको आवश्यकता पहिचान गरी सोही अनुसारको कार्यक्रमहरू सञ्चालन गर्ने ।
– श्रम बजारको माग अनुरुप सीप सक्षमतामा आधारित पाठ्यक्रम तयार गर्ने र समयसापेक्ष परिमार्जन गर्ने ।  
–स्थानीय आवश्यकता र औचित्यका आधारमा तोकिएको मापदण्ड, पूर्वाधार र पाठ्यक्रमका आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमका कार्यक्रम सञ्चालन गर्न सम्वन्धन प्रदान गर्ने ।
 –प्राविधिक प्रशिक्षण प्रतिष्ठान मार्फत प्रशिक्षक/प्रशिक्षणको गुणस्तरियता तथा दक्षता अभिवृद्धिको लागि तालीम, पाठ्यक्रम विकास, सामुदायिक विकास तालीमको साथै अन्य क्षमता र व्यवस्थापकीय दक्षता अभिबृद्घि सम्बन्धी तालीम सञ्चालन गर्ने ।  
–सीपको तह निर्धारण, प्रमाणीकरण र सीप परीक्षण परीक्षा सञ्चालन गरी प्रमाणपत्र वितरण गर्ने र सीप परीक्षण कार्यक्रमलाई व्यापक रुपमा विस्तार गर्ने ।
  –अनुगमन, मूल्यांकन, निरीक्षण तथा परीक्षाका माध्यमबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम कार्यक्रमको गुणस्तर सुनिश्चित गर्ने ।
 –प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम सम्बन्धी अध्ययन, अनुसन्धान गरी प्राप्त तथ्य एवं निष्कर्षहरू सरोकारवालाहरूमा सुसूचित गराई प्रभावकारी कार्यान्वयनमा जोड दिने ।
– व्यावसायिक तालीम तथा सामुदायिक विकास कार्यक्रमलाई विस्तार गर्ने ।

पहुँच वृद्धि गर्न छात्रवृत्ति कार्यक्रम
 प्राविधिक शिक्षाका कार्यक्रमहरुमा पिछडिएका वर्ग, क्षेत्र र समुदायको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ परिषद् कार्यालयले नेपाल सरकारको नियमित कार्यक्रम अन्तर्गत विशेष छात्रवृत्तिको व्यवस्था गरी दलित, मुस्लिम, विपन्न, लोपोन्मुख, अल्पसंख्यक लगायत सरकारले तोकेको लक्षित वर्गलाई निर्वाह भत्ता, यातायात र पोशाक खर्च समेतको व्यवस्था गरी निःशुल्क प्रशिक्षणको व्यवस्था गर्दै आएको छ । सो अनुसार शैक्षिक सत्र २०७८/७९ मा डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न सात वटा कार्यक्रममा २८० जना र प्रि–डिप्लोमा तहमा पनि सातवटै कार्यक्रममा २८० जना गरी जम्मा ५६० जनाले विशेष छात्रवृत्तिमा प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन् । हालसम्म परिषद बाट ७,११० जनाले यस प्रकारको छात्रवृत्ति प्राप्त गरिसकेका छन् । त्यसै गरी वर्गीकृत निशुल्क छात्रवृत्ति अन्तर्गत लक्षित वर्गमा अपाङ्ग, पूर्व कमैया/हलिया, पिछडिएको दुर्गम क्षेत्र, दलित, महिला (एकल महिला), सूचिकृत आदिवासी–जनजाति र आर्थिक वा सामाजिक रुपमा विपन्न वर्गका सामुदायिक विद्यालयबाट एस.ई.ई. उत्तीर्ण गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिन्छ । शैक्षिक सत्र २०७८/७९ सम्ममा यो छात्रवृति प्राप्त गरी उत्तीर्ण हुने विद्यार्थीको संख्या ४,२३३ रहेको छ ।
परिषद्ले सञ्चालन गरेका परियोजना

सीप परीक्षण पद्धतिलाई सुधार गरी राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको विकास गर्ने, प्राविधिक शिक्षालय र रोजगारदाताहरुको सहकार्यमा कार्यस्थलको सिकाइलाई बढी प्रभावकारी ढंगले सञ्चालन गर्ने र प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली परियोजना, दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना परियोजना र क्वालिटी परियोजना क्रियाशील रहेका छन् ।
परिषद्को विकासका लागि सबैको सहयोग अपरिहार्य
विशुद्ध सेवाको भावना एवं मुनाफारहित ढंगले प्राविधिक तथा व्यवसायिक शिक्षा प्रदान गर्दै आएको सिटिइभिटीबाट उत्पादित दक्ष जनशक्ति राष्ट्रिय–अन्तर्राष्ट्रिय श्रम बजारमा कार्यरत रही मुलुकको गौरव बढाएका छन् । यहाँबाट शिक्षा तथा तालिम हासिल गरेका अधिकांश विद्यार्थी रोजगारीमा जोडिएका छन् । अध्ययन र रोजगारीका लागि दिनहुँ हजारौँ युवा  विदेशिन बाध्य भइरहेको सन्दर्भमा विश्वविद्यालयको औपचारिक शिक्षाभन्दा परिषद्ले सञ्चालन गरेका तालिम कार्यक्रम प्रभावकारी देखिएका छन् । परिषद्को विकासका लागि नेपाल सरकारका सम्बद्ध निकाय, दातृ संस्था र सरोकारवालाले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु अपरिहार्य छ ।

परिषद बाट उत्पादित दक्ष प्राविधिक जनशक्तिले आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान 

पु-याएका छन्  

खगेन्द्र प्रसाद अधिकारी

उपाध्यक्ष

सिटिइभिटी

नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाले अङ्गिकार गरेको समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकांक्षा पूरा गर्न र संविधानकोमा उल्लेख भए बमोजिम शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारीमूलक एवं जनमुखी बनाई सक्षम प्रतिष्पर्धी नैतिकवान एवं राष्ट्र हितप्रति समर्पित जनशक्ति तयार पार्न परिषद् क्रियाशील रहेको छ । यसका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको समतामूलक एवं समावेशी पहुँच स्थापित गर्न बहुप्राविधिक शिक्षालयहरुको स्थापना एवं उपलब्ध साधन श्रोतको एकीकृत परिचालन गरिनु बाञ्छनीय देखिन्छ । प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको विकास र विस्तारलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राख्दै आएको छ । यस क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा विभिन्न मित्र राष्ट्रहरू जस्तै भारत, चीन, कोरिया, बेलायत, स्वीजरल्याण्ड आदि र दातृ निकायहरू विशेष गरी एशियाली विकास बैंक र विश्व बैंकले उल्लेखनीय योगदान पु-याएका छन् । परिषद बाट उत्पादित दक्ष प्राविधिक जनशक्तिले देशको गरिबी न्युनीकरण र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु-याएका छन् ।

स्वरोजगार र उद्यमशीलता विकासमा परिषद्ले जोड दिएको छ

जीव नारायण काफ्ले

सदस्य सचिव

सिटिइभिटी

 गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिममा सबै नागरिकको समावेशी एवं समतामूलक पहुँच पु-याउन परिषद् क्रियाशील छ । शैक्षिक संस्था वा कार्यक्रमको विस्तार गर्दा भौगोलिक अवस्था, जनसंख्याको चाप, विकासको अवस्था र विशिष्ट सामाजिक एवं साँस्कृतिक अवस्थालाई मध्यनजर गर्दै उत्पादित जनशक्तिको रोजगारीको सुनिश्चितता हुने गरी परिषद्ले आफ्ना कार्यक्रमहरूलाई कार्यस्थलको सिकाइसँग जोड्ने गरी सञ्चालन गर्न गराउन प्रयासरत छ । प्रशिक्षार्थीहरूलाई बढी भन्दा बढी प्रयोगात्मक अभ्यासमा संलग्न गराउने र अध्ययनको क्रममा उत्पादन भएका वस्तु तथा सेवालाई व्यवस्थित गर्दै आय आर्जन र दिगो विकासमा सहयोग पु-याउने उद्देश्यले हरेक शिक्षालयहरूमा ‘सिक, कमाउ र तिर’को अवधारणा लागु गरी उत्पादन इकाई स्थापना मार्फत स्वरोजगार र उद्यमशीलता विकासमा परिषद्ले जोड दिएको छ ।

प्रकाशित मिति:June 8, 2023