राष्ट्र बैंकबाट आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक , मुद्रास्फीति ७.४१ प्रतिशत

  Sampatti News Online

June 9, 2023

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति शुक्रबार सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । आयात १६.८ प्रतिशतले, निर्यात २४.५ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.४ प्रतिशतले र अमेरिकी डलरमा १३.४ प्रतिशतले बढेको छ ।शोधनान्तर स्थिति रु.२१४ अर्ब ६७ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.१४७० अर्ब ३३ करोड र अमेरिकी डलरमा ११ अर्ब २१ करोड रहेको छ । संघीय सरकारको खर्च रु.१०४७ अर्ब ७६ करोड र राजस्व परिचालन रु.७५६ अर्ब २५ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ६.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ ।बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.३ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.३ प्रतिशत रहेको छ ।

प्रतिवेदन अनुसार कुल ७५३ स्थानीय तहमध्ये २०८० वैशाखसम्म ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन्। २०७९ वैशाखसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।
राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८० वैशाख मसान्तमा ११९ रहेको छ । यसमध्ये २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६३ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११,५२८ रहेकोमा २०८० वैशाख मसान्तमा ११,५६९ पुगेको छ ।

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात्२०८० वैशाख मसान्तसम्म कुल २५९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये १८५ संस्थाहरुको इजाजत खारेज हुन गई ७४ संस्था कायम भएको समीक्षामा उल्लेख छ।

प्रकाशित मिति:June 9, 2023