भारतको उत्तराखण्डमा दुर्घटना हुँदा ४ नेपालीको मृत्यु

  Sampatti News Online

June 11, 2023

कञ्चनपुर । भारत उत्तराखण्डको बनबासा–खटीमा सडकखण्ड अन्तर्गत चकरपुरमा शनिबार मध्याह्न कार र दुई स्कुटर ठोक्किँदा स्कुटरमा सवार चार जना नेपालीको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका–२ उल्टाखाम र भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्ला अन्तर्गत खटीमा नजिकै मुडेलीमा गरी दोहोरो बसोबास भएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पना चन्दको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनीहरु सबै कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पूजापाठ सकेर मुडेलीतर्फ फर्किरहेका थिए । २ वटा स्कुटरमा गइरहेका उनीहरु चकरपुरमा कारसँग ठोक्किएका हुन् । दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई अस्पताल पुर्‍याउने बित्तिक्कै मृत घोषणा गरिएको थियो ।

प्रकाशित मिति:June 11, 2023