मनसुन पूर्वतयारी राष्ट्रिय कार्ययोजना स्वीकृत

  Sampatti News

June 12, 2023

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना(२०८० स्वीकृत गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा प्राधिकरणको सभाहलमा बसेको समितिको १८ औं बैठकले कार्ययोजना स्वीकृत गरेको हो ।

स्वीकृत कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र र मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रसलगायत गैरसरकारी संस्थाहरुको जिम्मेवारीका साथै खोज, उद्वार तथा राहत सामग्रीहरुको मौज्दातीको विवरण समेटिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले उपलब्ध साधन स्रोतको अधिकतम परिचालन गरी विपद् जोखिम न्यूनीकरण गर्नतिर ध्यान दिन र विगत वर्षहरुका कमजोरी तथा असावधानी पुनरावृति हुन नदिई कार्ययोजनाको ठोस कार्यन्वयन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिए ।

प्रकाशित मिति:June 12, 2023