नक्कली भुटानी शरणार्थी प्रकरणः थुनछेक बहस सकिने सम्भावना

  Sampatti News

June 15, 2023

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहस बिहीबार सकिने सम्भावना रहेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले ‘भोलि जसरी पनि सक्नुपर्छ’ भनेर बुधबार इजलास टुंग्याएका थिए ।
प्रतिवादीका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्न लगाएर उनले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी वा साधारण तारिखमा छाडेर मुद्दा किनारा लगाउने भन्ने आदेश दिनेछन् ।
इलजासमा बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र पूर्वसांसद आङ्टावा शेर्पाका कानुन व्यवसायीहरूले बहस गरेका थिए । बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट १६, हरिभक्त महर्जनका तर्फबाट दुई र उनकी पत्नी लक्ष्मी महर्जनका तर्फबाट एक जना अधिवक्ताको बहस हुनेछ । त्यसलाई खाजाअघिको समयमै सक्ने योजनामा न्यायाधीश न्यौपाने रहेका छन् ।

प्रकाशित मिति:June 15, 2023