न्याम्स उपकुलपतिका लागि चिकित्सकले दिए आवेदन

  Sampatti News Online

June 15, 2023

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति पदका लागि वीर अस्पताल र कान्ति अस्पतालमा कार्यरत विभिन्न चिकित्सकको आवेदन परेको परेको छ । उपकुलपतिको लागि आवेदन दिनेमा डा. भुपेन्द्र बहादुर बस्नेत, डा. बुलन्द थापा, डा. गुणराज लोहनी, डा. अनिलकुमार मिश्र, डा. प्रवीण श्रेष्ठ, डा. सरोज शर्मा,डा. अजित रायमाझी लगायतले दरखास्त दिएको श्रोतले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार एक सूचना जारी गर्दै सात दिनको समय दिएर दरखास्त आह्वान गरेको थियो । समयमै उपकुलपति नियुक्त नहुँदा परीक्षा सञ्चालन,नतिजा प्रकाशन तथा प्रतिष्ठानक दैनिक प्रशासनिक कार्य सञ्चालन कठिनाई भइरहेको छ ।


हाल कार्यवाहक उपकुलपति समेत रहेका डा. बस्नेत नेपाली कांग्रेस निकट मानिन्छन् भने डा. बुलन्द थापा नेकपा माओवादी सम्बद्ध हुन् । चिकित्सा जस्तो गरिमामय सेवाको नेतृत्वमा राजनीतिक हस्तक्षेप हुने हो कि सक्षम र योग्य व्यक्तिलाई तटस्थताका आधारमा छनोट गरिने हो भन्ने जिज्ञासा नेपालको चिकित्सा वृत्त र सरोकारवालले व्यक्त गरेका छन् ।
मुलुककै जठो वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई नेतृत्व प्रदान गर्दै आएको प्रतिष्ठानका निवर्तमान उपकुलपति देवनारायण शाहको अवकासपछि सो पद रिक्त छ ।उपकुलपति सिफारिसका लागि सर्च कमिटी समेत गठन गरिएको थियो । प्रधानमन्त्री एवं न्याम्सका कुलपति पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति अध्यक्षतमा दुई सदस्यीय सर्च कमिटी गठन गरेका थिए । उक्त कमिटीले न्याम्सको उपकुलपति सिफारिस गर्ने छ ।

प्रकाशित मिति:June 15, 2023