श्रीराम सुगर मिल्स लिलामीको प्रक्रियामा, सेयरधनी समेत डुब्ने 

  Sampatti News Online

June 16, 2023

रौतहट १ असार । रौतहटको मध्यभाग गरुडा स्थित जिल्लाकै सबै भन्दा ठूलो उधोगको रुपमा रहेको श्रीराम सुगर मिल्स लिलामीको प्रक्रियामा जाने भएकाे छ।

गोल्छा परिवारको स्वामित्वमा रहेको श्रीराम सुगर मिल्सले ऋण नतिरेपछि मुख्य लगानीकर्ता नेपाल बैकले उद्योग लिलामीको प्रक्रिया अघि बढाएको हो।

श्रीराम सुगरमा नेपाल बैकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष, हिमालयन बैक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १७ करोड रुपैयाँ ऋण लगानी गरेका थिए। ब्याजसमेत गरी अहिलेसम्म कुल २६ करोड रुपैयाँ पुगेको छ।

बैंकहरुले उद्योगमा रहेको मेशिनरी उपकरणहरु बोलकबोलबाट बिक्री गर्ने भएको छ। लिलाम गर्न लागेको मिल मेशिनरीको न्यूनतम् मूल्य ३८ करोड ११ हजार ७ सय ५५ रुपैयाँ तोकेको छ। बोलकबोलदाताले सो भन्दा बढी रकम कबोल गर्नुपर्ने छ।

मेशिनरी तथा उपकरण बेचेर कर्जा असुली हुने देखिएकाले लिलामी प्रक्रिया अघि बढाएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले बताए। उद्योगले बैंकहलाई २६ करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको उनले जानकारी दिए।

बैंकले बोलकबोल पेश गर्ने अन्तिम दिन साउन ४ गतेलाई तोकेको छ। २०४९ साउन १३ गते गोल्छा अर्गनाइजेनसले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ गतेदेखि पूर्ण रुपमा बन्द छ।

लगातार नोक्सानमा गएपछि गोल्छा समूहले श्रीराम सुगर बन्द गराएको हो। उद्योग बन्द हुँदा २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ सञ्चित नोक्सान थियो। उद्योग स्थायी रूपमा बन्द भएको व्यवस्थापनले जानकारी गराएको थियो। सञ्चालनमा प्रयास भइरहंदा पनि नोक्सान बढेपछि बन्द गर्नुपरेको उद्योगले जनाएको थियो। 

चालुपूँजी जुटाउन उद्योगले १ बराबर ३ अनुपातमा ८९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। हकप्रद सेयर निष्कासन गर्न नपाएपछि अन्त्यमा गोल्छा समूहले उद्योग बन्दको निर्णय गरेको हो।   श्रीराम नेप्सेमा सूचीकृत उद्योग हो। नेप्सेमा सूचिकृत कम्पनी भए पनि श्रीरामले हालसम्म कुनै पनि त्रैमासिक विवरण सार्वजनिक गरेको थिएन ।उद्योगको ३० लाख ४५ हजार ९९० कित्ता सेयर नेप्सेमा सूचीकृत छ । कम्पनीको चुक्ता पुँजी ३० करोड ४५ लाख ९९ हजार रुपैयाँ छ। मिल्स बन्द भएपछि सर्वसाधारणको लगानी जोखिममा परेको छ।मिल्समा सर्वसाधारणको ९ र बाँकी ९१ प्रतिशत संस्थापक लगानीकर्ता गोल्छा परिवारको सेयर रहेको छ। कुल ३० लाख ४५ हजार ९९० कित्ता सेयर छ। जसमध्ये सर्वसाधारणको २ लाख ७४ हजार १३९ कित्ता छ। गोल्छा परिवारको स्वामित्वमा रहेको भृकुटी कागज कारखाना पनि बन्द छ।  तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको पहलमा रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६ महम्मदपुरमा  ८० विगाह जग्गा खरीद गरी मिल सञ्चालन भएकोे थियो।

सञ्जय मिश्रा

प्रकाशित मिति:June 16, 2023