वैदेशिक रोजगारीमा जानेमा झापा पहिलो स्थानमा र काठमाडौं वरिपरिका महिला

  Sampatti News Online

June 20, 2023

झापा । झापा जिल्लाबाट वैदेशिक रोजगारीका लागि जाने मध्ये देशकै पहिलो नम्बरमा रहेको पाइएको छ ।

वैदेशिक रोजगारीमा जानेलाई परामर्श गरिरहेको सुरक्षित आप्रवास कार्यक्रम (सामी) भद्रपुरको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा  झापाबाट रोजगारीका लागि झण्डै ८ हजारले विदेश यात्रा गरेका छन् । 

सामीका अनुसार झापाबाट फागुनमा २ हजार ७३५, चैत्रमा २ हजार ८२३ र वैशाखमा २ हजार ३१५ जना वैदेशिक रोजगारीमा गएका छन् । यो देशकै सबैभन्दा बढी सङ्ख्या हो ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका भद्रपुर संयोजक फणिन्द्रप्रसाद दाहालका अनुसार वैदेशिक रोजगारीमा जाने झापालीको सङ्ख्या बढेसँगै जोखिम र असुरक्षा पनि बढेको छ ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा ठगीमा परेका ११० जनामध्ये ३४ जना कामदारलाई न्यायमा पहुँच पुर्‍याएर १६ लाख ९५ हजार रकम क्षतिपूर्ति भराइएको छ । 

झापामा२०७२ सालदेखि तत्कालीन जिल्ला विकास समिति अन्तरगत सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना २०७४ सालको स्थानीयतहको निर्वाचन पछि स्थानीय तह हरूले नै सो परियोजना सञ्चालन सुरु गरेका हुन् ।  २०७६ मङसिरदेखि भद्रपुर नगरपालिकाले परियोजना सञ्चालन गर्न बिर्तामोडको विराट सामुदायिक अध्ययन केन्द्रलाई जिम्मेवारी दिएको थियो । तर, यस आ.व.देखि सुरक्षित आप्रवासन (सामी) कार्यक्रम भद्रपुर नगरपालिकाले आफै सञ्चालन गरिरहेको संयोजक दाहालले जानकारी दिनुभयो । सूचनाको पहुँच अन्तरगत नै वैदेशिक रोजगारीबाट फर्केकाहरूबाटै स्वयम् सेवकहरू घरदैलोमा सूचना प्रवाह गर्ने, सम्भावित स्थानमै गएर सामुदायिक अभिमुखीकरण कार्यक्रमको आयोजना गरिरहेको उहाँको भनाइ  छ । गत आवमा भनपामा १५ वटा र चालु वर्षमा ३ वटा सामुदायिक अभिमुखीकरण कार्यक्रम रहेको बताइएको छ ।

 सूचनाको पहुँच, न्यायिक सहजीकरण, सीपमा पहुँच, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श यि शीर्षकले वैदेशिक रोजगारी सम्बन्धी सबै समस्या समाधान गर्ने संयोजक दाहालको भनाइ छ ।
सूचनाको पहुँच अन्तरगत नै सम्भावित वैदेशिक रोजगारीमा जाने अर्थात राहदानी लिएकाहरूलाई विशेष अभिमुखीकरण र पत्रकारहरूलाई समेत वैदेशिक रोजगार सम्बन्धीका समस्या समाधानमा सूचना प्रवाहको लागि अभिमुखीकरण रहेको दाहाल बताउनुहुन्छ ।

स्वीस सरकार विकास सहयोग एसडीसी र नेपाल सरकारको संयुक्त कार्यक्रमको रुपमा भद्रपुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबाट वैदेशिक रोजगार सम्बन्धी कुनै पनि समस्या समाधान नगरपालिकाबाटै हुने उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारीमा रहेका समस्याहरूलाई सहजीकरण गरी नगरवासीको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन भद्रपुर नगरपालिकाले  सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सञ्चालन गरेको हो ।

राहदानी बनाउने बेलादेखि वैदेशिक रोजगारीबाट घर फर्कने बेलासम्म अझ घर फर्केर पनि श्रम स्वीकृति रहेको अवधिसम्ममा पर्ने कुनै पनि समस्या समाधान सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले गर्ने संयोजक दाहालको भनाइ छ ।

सामीले गरेको अनुसन्धानमा वैदेशिक रोजगारमा मुख्यतया सूचनामा कमी, न्यायको पहुँच नहुनु, सीप र तालिमको अभाव, वित्तीय साक्षरतामा कमी र मनोसामाजिक परामर्शमा कमी जस्ता समस्याले धेरै जसो रोजगारहरुले दुःख झेल्नु परिरहेको जनाइएको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषण रहित बनाउन नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुरूप २०६७ सालमा नेपालका पहिलो २ वटा खोटाङ र सर्लाही जिल्लामा सञ्चालित भएको थियो । जसको परिणाम राम्रो भएपछि अहिले ३८ वटा जिल्लाका १५६ स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको पनि दाहालले जानकारी गराउनुभयो ।

अहिलेसम्म कामका लागि विदेश जाने महिलामध्ये राजधानी काठमाडौं र यसको वरिपरिका जिल्लाका धेरै रहेको तथ्याङ्क छ । बागमती प्रदेशको काठमाडौं र वरिपरिका ६ जिल्लाबाट मात्रै ५१ प्रतिशत महिला वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

अहिलेसम्म संस्थागत रुपमा श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश जाने एक लाख ३२ हजार ९९५ जना महिलामध्ये काठमाडौं, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रे, नुवाकोट र चितवनबाट ६७ हजार ९६८ जना रहेका छन् । यी जिल्लाहरुमध्ये सिन्धुपाल्चोकका सबैभन्दा धेरै १८ हजार पाँच सय जना छन् ।

त्यस्तै काठमाडौंका १२ हजार ४१९, मकवानपुरका ११ हजार ३७४, काभ्रेपलाञ्चोकका नौ हजार ६३०, नुवाकोटका आठ हजार ३०१ र चितवनका सात हजार ७४४ जना छन् । बागमती प्रदेश पछि दोश्रोमा प्रदेश–१ बाट विदेश जाने महिला धेरै छन् । तथ्यांक अनुसार प्रदेश–१ को झापा र ईलामबाट मात्रै २२ दशमलव ७९ प्रतिशत महिला रोजगारीका लागि विदेश गएका छन् ।
महिला रोजगारीका लागि विदेश जाने प्रदेश मध्ये तेश्रोमा प्रदेश–२ छ ।

जहाँको मोरङ्ग र सुनसरीबाट मात्रै १८ दशमलव ३७ प्रतिशत महिला कामका लागि विदेशिएका छन् । वैदेशिक रोजगार विभाग कार्यालयका काठमाडौँका पूर्व प्रमुख मधुविलास पण्डित काठमाडौं वरिपरिका जिल्लाबाट महिला विदेश जान खोज्नुमा प्रमुख कारणमा राजधानी नजिक हुन पनि एक भएको बताउनु हुन्छ ।

काठमाडौं नजिकको जिल्लामा दलालको विगविगी भएको बताउँदै परिवार र जाने महिलालाई राम्रो कमाई हुने आश्वासन दिएर प्रभाव पार्ने गरेको उहाँको भनाइ छ । सरकारले महिला कामदार विदेश जान कडाई गरे सँगै अवैधानिक रुपमा दलालले भारत, श्रीलङकाको बाटो हुँदै तेश्रो मुलुक लैजाने गरेको पण्डित बताउनुहुन्छ ।

अबैधानिक रुपमा विदेश गएका कामदारको अवस्था डरलाग्दो भएको र कम्पनीको काममा भनेर लैजाने गरे पनि घरेलुकाममा दलालले लगाउने पण्डित बताउनुहुन्छ । सरकारले अवैधानिक रुपमा जाने कामदार रोक्न श्रम सम्झौता गरेर कानुनी रुपमा जाने बाटो बनाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

प्रकाशित मिति:June 20, 2023