बागमती नदीको बाढीमा फांसेका ५ जनाको उद्वार

  Sampatti News Online

June 25, 2023

रौतहट । रौतहट स्थित बागमती नदीको बाढीमा फसेका ५ जनालाई संयुक्त सुरक्षा टोलिले सकुशल उद्दार गरेको छ।वागमती नदीमा एक्कासी  बाढी आएपछि पारी गोठाला गएका ४ जना महिला सहित पाँच जनाको सुरक्षाटोलिले सुरक्षित सकुशल उद्धार गरेको हो।

जिल्लाको पूर्विभेग राजदेवी नगरपालिका  ३ चन्डिहा गाउँबाट शुक्रवार साँझ भैंसी चराउन बागमती नदीको वगरमा गएका ५ जना गोठालो एक्कासी नदीमा बाढी आएपछि उनीहरू वगरमा फसेको थिए। घटना बारे प्रहरीलाई राति १० बजे खबर आउनासाथ तत्कालै प्रहरीको उद्धार टोलीले ३ जनालाई राति १२ बजे २ जनालाई आज विहान उद्धार गरिएको  रौतहट प्रहरी प्रमूख एसपी वीरबहादुर बुढामगरले बताएका छन।

संयुक्त टोलिले राजदेवी ३ घर भएकी ५० बर्षिय रामपति देवी, ३० बर्षिया ललिता देवी र सर्लाही बलरा जमुनियाका ६० बर्षिय किसन सहनीलाई रातिनै उद्वार गरेको थियो। 

भैंसी सहित रहेका  राजदेवी ३ का ६० बर्षिय विलास साह र ४० बर्षिय करणशिला साहलाई चौपाया सहित आज उद्धार गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उद्वार टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समेत सहभागीता रहेको थियो।

प्रकाशित मिति:June 25, 2023