कामपाले छान्यो १० वटा गौरवका योजना

  Sampatti News Online

July 4, 2023

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक २०८०/८१ को नीति तथा कार्यक्रम मूलतः लोकप्रिय नारा दिनमै केन्द्रित छ । साथै, संघीय सरकारसँग अधिकार माग्ने विषय र अधुरा काम पूरा गर्ने विषयलाई पनि नीति कार्यक्रममा समेटिएको छ ।

बालेनको नीति तथा कार्यक्रमलाई नारै नाराको संकलन भन्न मिल्छ । शिक्षादेखि शहरी सौन्दर्यसम्म गरेर महानगरपालिकाले २० भन्दा धेरै लोकप्रिय नाराहरु रहेका छन् ।

कामपाका १० वटा गौरवका योजना छनौट गरी उक्त योजनाका लागि ३ अर्ब ८० करोड रुपियाँका छुट्टयाएको छ । उपमेयर सुनिता डंगोलद्वारा जारी बजेटमा उल्लेखित गौरवका योजनाको विषयमा सोमबार छलफल भएको थियो ।

कामपाको १३ औँ कार्यपालिकाको बैठकले आगामी आर्थिक वर्षको लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपियाँ बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटमध्ये ३ अर्ब रुपियाँ गौरवको योजनामा समेटिएको छ । कामपाले ‘उज्यालो शहर, मेरो महानगर’ शीर्षकअन्तर्गत ३० करोड रुपियाँ विनियोजन गरेको छ । उक्त शीर्षकअन्तर्गत सडकगल्लीमा सडकबत्ती, सय स्थानमा हाइमास्ट लाइट र ३ वर्षसम्म सबै सडक र गल्लीमा बत्ती जडान गर्न रकम विनियोजन गरेको छ ।

त्यस्तै, ३ वर्षभित्र महानगरको सबै गल्ली र सडकमा सीसीटिभी क्यामेरा जडान गर्नेगरी ‘महानगरले देख्छ’ शीर्षकमा २० करोड रुपियाँ विनियोजन गरेको छ । ३ वर्षभित्रमा महानगरको क्षेत्रअधिकारभित्रका सबै सडक र पेटीहरूलाई धुलोरहित बनाउन १ अर्ब रुपियाँ विनियोजन गरिएको छ ।

महानगरले ‘रोजगारी आयवृद्धि, महानगरको समृद्धि’ योजनाअन्र्तगत महानगरवासीको सिप, क्षमता, आय आर्जन गर्न र ३ वर्षभित्र १० हजार जनालाई रोजगारी उपलब्ध गराउन १० करोड रुपियाँको गौरवको योजना तय गरेको छ । ३ वर्षभित्र १ लाख वृक्षरोपण गर्न ‘मेरो शहर सुन्दर र हरित शहर’ योजनाअन्तर्गत ५० करोड रुपियाँ विनियोजन गरेको छ ।

‘संस्कृति, सम्पदा र पर्यटन महानगरको धन’ शीर्षकमा महानगरले समग्र कला संस्कृति र सम्पदाको पुनर्जीवन र पर्यटन प्रबद्र्धन गर्न प्रत्येक वर्ष ५० करोडको दरले ३ वर्षमा १ अर्ब ५० करोड रुपियाँको योजना तयार गरेको छ । स्वास्थ्य प्रवर्धन केन्द्र सलीकरण गरी ती केन्द्रमार्फत महानगरवासीको स्वास्थ्यमा टेवा पु¥याउन महानगरले ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ कार्यक्रमअन्तर्गत ३५ करोड रुपियाँ विनियोजन गरेको छ ।

‘सबैको चाहना ढुंगेधारा, हिटी र पोखरीको पुनःस्थापना’ योजनाअन्तर्गत ५० वटा हिटीको पुनःस्थापना गर्न ३५ करोड रुपियाँ विनियोजन गरिएको छ । महानगरपालिका र वडा समितिको कार्यालयबाट प्रवाह हुने सेवालाई सेवाग्राहीमैत्री बनाउन र प्रविधिको प्रयोग बढाउन १५ करोड रुपियाँ विनियोजन गरिएको छ ।

‘गरिखाने शिक्षा, महानगरको इच्छा’ शीर्षकमा महानगरको सामुदायिक विद्यालयको पूर्वाधार सुधार र गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न र गरीखाने शिक्षामा जोड दिन ५० करोड रुपियाँ छुट्टयाएको छ । कामपाले यो योजनालाई विभाग र सहरी योजना आयोगमार्फत कार्यान्वयन गर्नेछ । प्रवक्ता मानन्धरले गौरवका योजना कार्यान्वयन भएपछि कामपाको काम साँच्चिकै गौरव गर्न लायक हुने दाबी गर्नुभयो ।

यीबाहेक सामुदायिक विद्यालय परिसरको सरसफाइ र सौन्दर्यीकरण गर्न ५ करोड रुपियाँ विनियोजन गरिएको छ । महानगरपालिकाले यो शैक्षिक सत्रदेखि कक्षा ९ का विद्यार्थीको लागि ९० घन्टाको छोटो अवधिको सीपमूलक एग्रिकल्चर एन्ड अर्वान फार्मिङ, ब्युटिसियन एन्ड हेयर स्टाइल, कारपेन्ट्री एन्ड उड कार्भिङलगायत १० वटा तालिम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति:July 4, 2023