घोराही सिमेन्टको आईपीओ रद्द गर्न विप्लव समूहको माग

  Sampatti News Online

July 4, 2023

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले घोराही सिमेन्टको आईपीओ रद्द गर्न माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ज्ञापनपत्र बुझाएको छ । समूहले मंगलवार नेपाल धितो पत्र बोर्ड खुमलटार पुगी धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालसमक्ष एक ज्ञापनपत्र बुझाउँदै विना शर्त घोराही सिमेन्ट आइपीओ प्रकृया रद्द गरी सर्वसाधारणको लगानी फिर्ता गर्नुपर्ने अन्यथा जस्तोसुकै कदम चाल्ने चेतावनी दिएको हो ।

विप्लव समूह ललितपुर जिल्ला कमिटिले बुझाएको ज्ञापनपत्रमा घोराही सिमेन्ट आइपीओ प्रकरण मीहीन ढंगले छानबिन गरी संलग्न सबै पक्षलाई कारबाही गर्न समेत माग गरेको छ ।ज्ञापनपत्र बुझाउँदै उक्त समूहले पूँजीबजारमा आम सर्वसाधारणको लगानीकर्ता जो आमरुपमा आधारभुत वर्गका जोडिएका छन्,तिनलाई उज्वल भविश्यको मृगतृष्णा अनुभूति गराएर पूँजिबजारमा आकर्षिंत गरिएको तर सिमित वर्गहरुले तिनका पैसामा चलखेल गरिरहँदा पनि नियामक निकाय धितोपत्र बोर्ड किनाराको साक्षी बनेको भेटिएको आफुहरुलाई स्विकार्य नभएको उल्लेख छ ।

योसँगै धितोपत्र बोर्डले तत्काललाई आईपीओ निष्कासन रोक्का गर्न निर्देशन दिएको छ। केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरे/नगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो । रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक शेयर निष्कासनमा रोक लगाइएको हो ।

कम्पनीको आईपीओ प्रकरणमा सम्बन्ध राख्ने सम्पूर्ण सरोकारवाला निकाय र सिफारिस गर्ने कम्पनीलाई सुक्ष्म ढंगले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन समेत जोडदार माग गरेको छ ।

‘सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्न घोराही सिमेन्ट कम्पनीको संस्थागत शुशासनका सूचकांक, प्रोस्पेक्टसमा पेश भएका झुठा विवरणहरु, आधारभूत तथ्यांकहरु र अन्य समग्र वित्तीय अवस्थाको तथ्य र तथ्यांकहरू, जो तोडमोड गरिएको छ, ती समग्र कुराहरु अध्ययन गरी विवरण प्रमाणित गर्ने सम्पूर्णहरुलाई अबिलम्ब कारबाही गरियोस् ।’ ज्ञापनपत्रमा भनिएको छ ।

क्रेडिट रेटिङको सन्दर्भमा व्याप्त आशंकाहरुलाई निरुपण गर्न अन्य रेटिङ कम्पनीहरु मार्फत स्वतन्त्र रुपमा उक्त कम्पनीको क्रेडिट रेटिङ गराई इक्रा नेपाललाई पूर्ण अनुसन्धानको दायरामा ल्याएर ल्याउन समेत माग गरेको छ ।

बुक बिल्डिङ सिस्टममार्फत आधारमूल्य तय गर्दा कम्तिमा १० वटा संस्थागत लगानीकर्ता कम्पनीको प्रस्तिस्पर्धात्मक सहभागिता सुनिश्चित गराई प्रतिस्पर्धात्मक कम्पनीहरुको नाम अनिवार्य सार्वजनिक गर्न माग गरेको छ ।

विभिन्न निकायमा बिक्रीका लागि जारी गरिएको आईपीओमा पूर्ण रुपमा नबिक्नुले प्रिमियममा मूल्य बढी भएको र आईपीओ नबिक्ने भएपछि घोराही सिमेन्ट कम्पनी, कम्पनीको आईपीओ बिक्री प्रबन्धकहरु हिमालयन क्यापिटल र नबिल क्यापिटल, अन्डर राइट्स लिने नागरिक लगानी कोष सहित संस्थाहरुले षडयन्त्र पूर्वक कृतिम माग सृजना गरी नक्कली आवेदक मार्फत ओभरसब्सक्राइब्ड गराई लगानीकर्तालाई ठग्ने नियर राख्ने सबैलाई अबिलम्ब गरी कारबाहीको दयारामा ल्याउन पार्टीले माग गरेको छ ।

उक्त माग सम्बोधन नगरे पार्टी नीति अनुरुप जनहितको रक्षाको लागि सशक्त संघर्षमा उत्रने समेत चेतावनी दिएको छ ।

घोराही सीमेन्ट आइपीओ प्रकृयामाथिको छानबिन कसरी भैरहेको छ र लगानीकर्ताको रकम के हुन्छ भन्ने प्रश्नमा नेपाल धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालले छानबिन भैरहेको र अन्तमि टुंगोमा नपुगेको बताए । उनले दोषी उपर कारबाही हुने र लगानीकर्ताले इच्छा गरे रकम फिर्ता पाउने जानकारी गराए । प्राथमिक सेयर (आइपीओ) माथि गर्न यतिखेर नेपाल धितोपत्र बोर्डका सुपरिवेक्षण विभाग प्रमुख दिनेश ताम्राकारको संयोजकत्वमा समिति गठन भएर छानबिन भइरहेको छ ।छानबिन समितिले घोराहीको सम्पूर्ण पक्ष, रेटिङ कम्पनी र अन्डरराइटरमाथि पनि छानबिन भइरहेको बताएको छ ।

निष्काशन भएदेखि नै विवादिद रहेको कम्पनीको आईपीओमा पूर्वनिर्धारित समयावधिमा मागअनुसार आवेदन परेपनि समय लम्ब्याइएकोपछि बोर्डले स्थगित गरेको थियो ।

बोर्डले कम्पनीको आईपीओ निष्काशनमा माग भन्दा बढी कित्ता सेयरका लागि आवेदन पर्दासमेत आईपीओ निष्काशनको समयावधि थप गर्न कम्पनीले सूचना प्रकाशित गरेपछि स्थगन गरेको जनाएको छ।

बोर्डले अहिले कम्पनीको रेटिङ र सार्वजनिक निष्काशन सम्बन्धि कैफियतको जाँचबुझ गर्दैछ । खातामा पैसा नभएपनि ठूलो संख्यामा आवेदन परेकोलगायत विषयमा अनुसन्धान गर्नका लागि भन्दै बोर्डले आईपीओ स्थगित गरेको हो ।

७९ लाख ४३ हजार कित्ता आइपिओ प्रिमियम मूल्यमा ल्याउने भनेर हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङसँग सम्झौता गरेको घोराही सिमेन्टमा १४ जनाले १० लाख कित्ताको दरले सेयर आवेदन दिएको पाइएपछि उसको सम्पूर्ण प्रक्रिया रोक्का गरिएको थियो।

ठूलो संख्यामा आवेदन दिएका लगानीकर्ताको खातामा उक्त सेयरका लागि रकम नभएको पाइएको थियो भने सिमेन्टमा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको थियो । हाल आइपीओ प्रकृया रोक्का भएपछि हजारौं सर्वसाधारणको आवेदन दिँदा लगानी भएको पैसा पनि प्रकृया नटुंगिउनजेलका लागि होल्ड हुँदा लगानीकर्तामा निराशा पैदा भएको छ ।

प्रकाशित मिति:July 4, 2023