महामन्त्रीको क्यालेन्डरमा केही संशोधन गर्ने तयारीमा, देउवा

  Sampatti News

July 21, 2023

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको चौथो दिनको बैठक शुक्रबार बिहान ११ बजेदेखि सुरु हुँदैछ । आधाजसो केन्द्रीय सदस्यले बैठकमा आफ्ना धारणा राखेका छन् । अझै दुई दिनसम्म केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने र त्यसपछि पदाधिकारीको पालो आउने छ । त्यसैले अझै केही दिन बैठक लम्बिने संकेत देखिएको छ ।

केन्द्रीय समिति बैठकमा एजेन्डा र वार्षिक क्यालेन्डर पनि प्रस्ताव गरिएकाले केन्द्रीय सदस्यहरूले त्यही विषयमा आफ्नो धारणा राखिरहेका छन् । धेरैले सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन गरेको र बिग्रेको गठबन्धनलाई फेरि जोडेर सातै प्रदेश र केन्द्रमा सरकार बनाउन सकेको भन्दै प्रशंसा गरेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरूले महामन्त्री गगन थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजनासहितको क्यालेन्डरबारे पनि आफ्ना धारणा राखिरहेका छन् । केहीले क्यालेन्डरमा प्रश्न उठाएका छन् । लागू गर्न नसकिने हो कि भनेर आशंका गरेका छन् । केही केन्द्रीय सदस्यले परिमार्जनसहित कार्ययोजना थप गर्नुपर्ने सुझाव दिएका छन् ।

कांग्रेस विधानमा केन्द्रीय समिति बैठक बोलाउने अधिकार सभापतिमा निहित छ । यस्तो अवस्थामा महामन्त्री गगन थापाले पेस गरेको क्यालेन्डरअनुसारको वार्षिक कार्ययोजना देउवाले पालना कसरी गर्लान् ? भन्ने चासो देखिएको छ । क्यालेन्डरमा समयावधि तोकेरै केन्द्रीय समिति बैठक बस्ने भनिएको छ । कांग्रेसको विधानमा केन्द्रीय समितिको बैठक प्रत्येक दुई महिनामा बस्नुपर्ने उल्लेख छ । यसमा थोरै फेरबदल गर्ने मनस्थितिमा देउवा देखिएका छन् ।

महाधिवेशन भएको डेढ वर्षसम्म कोषाध्यक्ष मनोनीत भएका छैनन् । केन्द्रीय समितिले पूर्णता पाएको छैन । महाधिवेशन सकिएको ६ महिनाभित्र पदाधिकारी मनोनयन, केन्द्रीय समितिलाई पूर्णता, विभाग गठन तथा संसदीय बोर्ड गठन हुनुपर्ने व्यवस्था छ । यो सबै जिम्मेवारी सभापतिको हो । केन्द्रीय समिति र कार्यसम्पादन समितिको बैठकभन्दा पदाधिकारी र पूर्वपदाधिकारी बैठकबाट कांग्रेसले महत्वपूर्ण निर्णय गर्दै आएको छ ।

वार्षिक क्यालेण्डरअनुसार कांग्रेस अगाडि बढे पार्टीका सबै संरचना वर्षैभर चलायमान हुने अपेक्षा गरिएको छ । कार्ययोजनामा प्रस्ताव गरिएका अधिकांश विषय सभापति देउवासँग सम्बन्धित छन् । केन्द्रीय समितिले अनुमोदन गरेमा यो कार्यान्वयनमा आउने छ । तर, यसले सबैभन्दा बढी दबाब देउवामाथि नै पर्ने छ । त्यही भएर देउवाले के गर्लान् भन्ने चासो देखिएको हो ।

पार्टीलाई नियमित सञ्चालनका लागि सभापतिसँगै अन्य पदाधिकारीको पनि भूमिका हुन्छ । पदअनुसार जिम्मेवारी प्रदान र भूमिका निर्वाह गर्न नसक्ने हो भने कांग्रेसको अवस्था सुधार होला भन्न सकिन्न । महामन्त्रीले पेस गरेको प्रस्ताव देउवाले मानेमा भने कांग्रेस चलायमान हुने सम्भावना धेरै छ । देउवा पनि कांग्रेसलाई चलायमान बनाउने गृहकार्यमा लागेका छन् । कार्ययोजनाअनुसार कांग्रेस अगाडि बढे केन्द्रदेखि पालिका तहसम्मका पार्टीका संरचना वर्षैभर चलायमान हुनेछन् ।

प्रकाशित मिति:July 21, 2023