August 2, 2023
रौतहट । गौर हत्याकाण्डको दोषीलाइ कारबाहीको माग गर्दै पाँच दिनदेखि धर्ना जारी छ । रौतहटको चन्द्रपुरमा पीडित परिवारले पाँच दिन देखी धर्ना जारी राखेका हुन् ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीको नेतृत्वमा रौतहटमा पछिल्ला दिनमा निरन्तर संघर्ष जारी रहेको छ ।
गौर हत्या भएको १७ वर्ष भइसक्यो, हामी न्यायका लागि धेरै धायौँ । तर, अहिलेसम्म न्याय पाएनौँ । अति भएपछि सर्वोच्चमा मुद्दा हाल्न पुगेका हौँ,’ रूपसागर देवी उपाध्यायले भनिन्, ‘न्यायको लागि धेरै भौतारिनु पर्यो । धेरैपटक आन्दोलन गर्यौँ, अनशन बस्यौँ, आज नै प्रचण्डजीलाई भेट्यौँ ।’ उनका अनुसार सर्वोच्चमा उनीहरूले दिएको मुद्दा भने दर्ता भइसकेको छैन ।
तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादवसहित घटनाका ‘दोषी’विरुद्ध कारबाहीको माग गर्दै मुद्दा दर्ता गर्न आफूहरू सर्वोच्च पुगेको उनको भनाइ छ ।
मृतकका आफन्तहरूले दुई दिनपहिला उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि भेटेका थिए । उक्त भेटमा आफूहरूले घटनाका बारेमा जानकारी गराएको र श्रेष्ठले अगाडि बढाउने आश्वासन दिएको उनको भनाइ छ । ‘फाइल खोल्छु, मुद्दा अगाडि बढाउन सहयोग गर्छु भन्नुभयो,’ उनले भनिन् ।
हाल जसपा अध्यक्ष रहेका उपेन्द्र यादवसहित पूर्वसांसद बबन सिंहसमेत यो प्रकरणमा जोडिएका छन् । उनीहरूलगायतविरुद्ध रौतहट प्रहरीमा कर्तव्य ज्यान मुद्दा दर्ता छ । धेरैलाई प्रहरीले फरार सूचीमा राखेको छ ।
रौतहटका पूर्वमाओवादी नेता अमर साह पनि आफूहरू मुद्दा दर्ताका लागि सर्वोच्च पुगेको बताउँछन् । ‘गौर हत्याका दोषीहरू खुला घुमिरहेका छन् । मुद्दा हाल्न पीडितका आफन्तहरू काठमाडौं आएका हौँ । आज मुद्दा दर्ता गर्न गएका थियौँ,’ साहले भने, ‘तर, आज हुँदैन भनेर फिर्ता पठाइयो ।’
के हो गौर हत्याकाण्ड ?
तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले ७ चैत २०६३ मा एकैदिन रौतहटको गौर नगरपालिका–५ स्थित राइस मिल्सको चौरमा सभा आयोजना गरेका थिए । फोरमले उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएको थियो । यादव त्यतिबेला फोरमका अध्यक्ष थिए ।
सभा हुने दिन बिहान ११ बजेदेखि फोरमका कार्यकर्ताहरू लाठीसहित जुलुस निकारेर गौर नगर परिक्रमा गरे । दिउँसो २ बजेतिर माओवादीको पनि जुलुस निस्कियो । फोरम र माओवादीको जुलुस अदालत चोकनिर जम्काभेट हुँदा दुवैले एक अर्कालाई ताली बजाएर स्वागत गरेका थिए ।
एउटै चौरमा दुवै पक्षले १०० मिटरको दुरीमा मञ्च बनाएका थिए ।
फोरमको सभा पहिला सुरु भयो । माओवादीको जुलुसले नगर परिक्रमा गरिरहेको थियो । करिब २ः०५ बजेतिर फोरमका १५–२० जनाको समूहले माओवादीको मञ्च तोडफोड गरे । आफ्नो मञ्च तोडफोड गरेको देखेपछि माओवादीका कार्यकर्ताहरूले पनि राइस मिलको चौरमा सभा सुरु भएको फोरमको मञ्च तोडफोड गर्न थाले ।
माओवादीले मञ्च तोडफोड गर्न थालेको केही समयमा नै मञ्चको विभिन्न कुनाबाट गोली चलेको र बम विस्फोट भएको बताइन्छ । त्यसपछि दुवै पक्षको सभास्थल रणभूमिमा परिणत भयो । त्यसक्रममा माओवादीका कार्यकर्ताहरूको क्रुर ढंगले हत्या भयो । २७ जना माओवादी कार्यकर्ताले ज्यान गुमाए । जसमा ५ महिला र २२ पुरुष थिए । त्यस्तै ५३ जना घाइते भए ।
जिल्ला सदरमुकाम गौरभन्दा करिब १० किलोमिटर उत्तरतर्फ हजमिनिया गाविसअन्तर्गत पताही टोलको पूर्वपट्टी बागमती नदीको किनारसम्म भागेका माओवादी कार्यकर्तामध्ये ३ महिला र ८ पुरुषलाई पक्रेर बौधीदेवीको मन्दिरमा ल्याई क्रुर ढंगले हत्या गरिएको बताइन्छ ।
मञ्चनजिक ६ जनाको हत्या भयो । तत्कालीन हजमुनिया गाविसमा ११ जना, मुडवलवा गाविस जाने बाटोमा २ जना, लक्ष्मीपुर बेलविछुवा गाविसमा २ जना तथा उपचारको क्रममा गौर अस्पतालमा ४ जना र भरतपुर लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भयो । कतिपयका अनुसार यौनांगमा उखु घोचेर यातना दिइएको थियो भने स्तनसमेत काटिएको थियो ।
झडपमा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक/एक गरी २७ वाईसीएल कार्यकर्ताको मृत्यु भएको थियो । दुई जनाको सनाखत हुनै सकेन । मृतकका परिवारले ९ महिनापछि राज्यबाट १० लाखका दरले क्षतिपूर्ति पाए । तर, अझैसम्म न्याय नपाएको उनीहरूको भनाइ छ ।
मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उक्त आक्रमण नियोजित र संगठित रूपमा भएको देखिएको जनाएको थियो । तीन जना महिलालाई बलात्कारपछि हत्या गर्ने क्रममा क्रूर यातना दिइएको, आगो लगाउने तथा उनीहरूको संवेदनशील अंगमासमेत प्रहार गर्ने जस्ता अमानवीय कार्य गरिएको पाइएको इन्सेकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो ।
गौर हत्याकाण्डपछि…
उक्त हत्याकाण्ड भएको एक वर्षपछि संविधानसभाको चुनाव भयो । माओवादीको नेतृत्वमा सरकार बन्यो । त्यो समयमा सरकारले घटनाको छानबिन गर्ने र दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनायो । तर, १६ वर्ष पूरा हुँदा पनि न्याय नपाएपछि अदालत पुग्नु परेको पीडित परिवार बताउँछन् ।
प्रचण्डले त्यसबेला फोरमलाई प्रतिबन्ध लगाउनसमेत माग गरेका थिए । माओवादीले त्यसबेला निकालेको विज्ञप्तिमा भनिएको थियो, ‘दरबारिया प्रतिगामी शक्तिहरूमाथि कडाभन्दा कडा कारबाही गर्नुका साथै दरबारिया र भारतीय हिन्दू अतिवादी तत्त्वहरूले खडा गरेको मधेसी जनअधिकार फोरम नामक राष्ट्रिय सार्वभौमसत्तामाथि खलल पुर्याउने आपराधिक गिरोहमाथि तुरुन्त प्रतिबन्ध लगाई अपराधीहरूमाथि कडाभन्दा कडा कारबाही गरिनुपर्छ ।’
त्यसपछि फोरमका नेता तथा कार्यकर्ताहरू जिल्ला बाहिर भागे । चैत १० मा फोरम जिल्ला अध्यक्ष अमर राय यादवले विज्ञप्ति जारी गर्दै माओवादी अध्यक्ष प्रचण्डको प्रत्यक्ष इसारामा घटना भएको दाबी गरे । उपेन्द्र यादवले पनि एक हप्तापछि वक्तव्य जारी गर्दै प्रचण्ड र गृहमन्त्री कृष्णप्रसाद सिटौलाले घटनाको जिम्मेवारी लिनुपर्ने बताए ।
तर, १६ वर्ष पूरा हुँदा पनि घटनाको छानबिन भएन । कारबाही त परको कुरा । पीडितले आरोपित भनेका व्यक्तिहरू मन्त्री बने । माओवादीले पनि त्यसपछ घटनाबारे खासै चासो लिएन । बरु फोरमलाईसमेत पटक-पटक सत्ता सहयात्री बनायो । अहिले पनि दुवै दल सरकारमा छन् । प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन् ।
एमाले माओवादी एकता भएर बनेको नेकपामा घटनाका आरोपित भनिएका अमर राय यादव प्रवेश गरे । उनलाई प्रचण्डले नै अबिर लगाएर पार्टी प्रवेश गराएका थिए । फोरम छाडेर अमर राय यादवले गठन गरेको मधेश तराई पार्टी नेकपामा मिसिएको थियो ।
दोषीमाथि कारबाही माग गर्दै मृतकका परिवारले २०७७ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । घटनाबारे २०६४ चैत २८ मा कर्तव्य ज्यानसम्बन्धी जाहेरी दर्ता भए पनि हालसम्म कसैलाई कारबाही नभएको पीडित परिवारको गुनासो छ ।
प्रकाशित मिति:August 2, 2023
December 23, 2024