एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले गर्ने 

  Sampatti News Online

August 7, 2023

काठमाडौं । एक सय किलो सुन प्रकरणको अनुसन्धान अनुसन्धान अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने भएको छ । 

राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, महान्यायाधिवक्ता दिनमणि पोखरेल, आईजीपी बसन्त कुँवर, सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यसँगको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका हुन् ।

सुन तस्करीमा संगठित गिरोह लागेको र अपराध संगठित प्रकृतिको भएकाले सीआईबीलाई अनुसन्धान गर्न दिने निष्कर्मा प्रधानमन्त्री प्रचण्ड पुगेको बालुवाटारस्रोतले जनाएको छ । अब राजश्व अनुसन्धान विभागले अनुसन्धानको फाइल सीआईबीलाई बुझाउनेछ । 

सुन प्रकरणबारे सुरुवाती चरणमा विभागले आफैँ अनुसन्धान गरेको थियो । तर, अनुसन्धान जटिल देखिएको र संगठित अपराधमा अनुसन्धान गर्नुपर्ने देखिएपछि सीआईबीलाई अनुसन्धानको जिम्मा लगाउन लागिएको हो ।

राजश्व अनुसन्धान विभागको टोलीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पास गरेर बाहिरिएको एक सय किलो सुन सिनामंगलबाट बरामद गरेको थियो ।  विभागको टोलीले ट्याक्सी चालकसहित त्यही दिन तीन जनालाई पक्राउ गरेको थियो ।

उक्त सुन बरामद गरेको राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको सुनको बारेमा अनुसन्धान गरेको विभागले सुनका खास व्यापारी पत्ता लगाउन नसकेपछि थप अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिने निर्णय गरेको हो । १९ दिन लामो अनुसन्धानमा मुख्य अपराधी पत्ता लगाउन नसकेको विभागले अन्ततः थप अनुसन्धानका लागि नेपाल प्रहरीको साहारा लिने निर्णय गरेको छ ।

विभागले आइतबार पत्रकार सम्मेलन गरी विभागका महानिर्देशक नवराज ढुंगानाले पक्राउ परेको सुन तस्करीमा संगठित आपराधिक गिरोहको संलग्नता रहेको पाइएकाले थप अनुसन्धान गर्न प्रहरीलाई जिम्मा दिएकोे जानकारी दिनुभयो ।

विभागले गठन गरेको अनुसन्धान टोलीले मुख्य अपराधी पत्ता लगाउन नसकेको स्वीकार गर्दै भन्नुभयो– ‘हामीसँग साधन स्रोत र अनुसन्धान गर्ने विधि नभएकाले प्रहरीको विज्ञ समूहलाई जिम्मा दिने निर्णय गरेका छौं ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहतमा रहेको राजस्व अनुसन्धान विभागले शुरूमा अनुसन्धान गर्न विभाग आफै सक्षम रहेको दाबी गर्दै अनुसन्धानमा प्रहरीको आवश्यकता नरहेको बताउँदै आएको थियो । विभागले ५ जना अधिकृत संलग्न रहेको छानबिन समिति पनि गठन गरेको थियो । विभागको टोलीले सुन कसको हो भन्ने जानकारीसमेत पाउन नसकेपछि आइतबार साँझ हालसम्म भएको अनुसन्धानको फाइल र पक्राउ परेका १९ जनालाई नै प्रहरी प्रधान कार्यालयको जिम्मा लगाएको छ । विभागका सूचना अधिकारी नवराज अधिकारीले हाल विभागका हिरासतमा रहेका सुन काण्डका अभियुक्त भनिएका सबैलाई सीआईबीको हिरासतमा पठाएको जानकारी दिनुभयो ।

सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेताहरूकै नाम आउन थालेपछि अनुसन्धानमा शिथिल बनेको विभागको टोलीले आफूहरूसँग अनुसन्धान गर्ने विज्ञ टोली नभएको बहाना बनाएर थप अनुसन्धान गर्न प्रहरीलाई जिम्मा लगाउने निर्णय गरेको बताइएको छ ।

उक्त सुन काण्डको अनुसन्धान गर्ने जिम्मेवारी पाएका सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्रार्चायले उक्त सुन काण्डलाई टुंगोमा पु¥याउने बताउनुभयो । उहाँले यो गम्भीर प्रकारको संगठित अपराध भएकाले सीआईबीले गहन रूपमा अनुसन्धान गरेर टुंगोमा पु¥याउने दाबी गर्नुभयो । विभागले अहिलेसम्म गरेको अनुसन्धानको फाइल हेरेपछि यसलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरेर अघि बढ्ने बताउँदै भन्नुभयो– ‘यो अनुसन्धान नेपालभित्र मात्र नभएर नेपाल बाहिर पनि गर्नुपर्ने भए पनि सीआईबीले गर्ने बताउँदै अनुसन्धानमा कुनै कसर बाँकी राख्दैनौं ।’

हाल ललिता निवास जग्गा काण्डको अनुसन्धान गरिरहेको सीआईबीले अब सुन काण्डको समेत छानबिन गर्ने भएपछि सुन काण्डमा मुछिएका नेपालका नेता तथा व्यापारीको मनमा ढ्यांग्रो ठोक्न थालेको छ ।

प्रकाशित मिति:August 7, 2023