लामो दूरिका यातायात पनि २ दिन भित्रमा सञ्चालनमा आउने

  Sampatti News

July 19, 2020

काठमाडौँ । चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन्।

सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायतले सञ्चालन गरेका थिएनन् । आफूहरूको माग मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै महासङ्घले यातायात सञ्चालनको तयारी थालेको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले २÷३ दिनको तयारीपछि यातायात सञ्चालन गर्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामी भोलि र पर्सि सरकारसँग छलफल गरेर सम्भवत ६ गतेबाट गाडी चलाउँछौँ। मौद्रिक नीति ठीक छ तर लामो दूरीको पनि खोल्नुपर्छ, जिल्लाभित्रको खुलेर मात्र हुँदैन ।”

सरकारले मौद्रिक नीतिमार्फत यातायात क्षेत्रको बैङ्क सावाँ र ब्याज ६ महिनादेखि एक वर्षसम्म समय थप गर्ने भएको छ । सहुलियतपूर्ण कर्जा, पुनकर्जाको व्यवस्था गरेको छ । कोरोनाबाट अति प्रभावित पेसा व्यवसाय सञ्चालनका लागि ५० अर्ब रुपियाँको कोष सञ्चालनमा ल्याएर यातायात क्षेत्रलाई पनि समेटिएको छ । जसले गर्दा यातायात सुरु गर्न सहज भएको महासङ्घले जनाएको छ ।

मौद्रिक नीतिको कार्यविधि कस्तो आउँछ भनेर व्यवसायीले पर्खिएका छन् । उपाध्यक्ष स्वाँर भन्नुहुन्छ, “कार्यविधि आउनुपर्यो, यातायात क्षेत्रलाई राम्रै घोषणा भएको छ तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण देखिन्छ, त्यो हेर्न बाँकी छ ।”

सरकारले तत्कालका लागि ५० प्रतिशत भाडा वृद्धि गरी छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन खुला गरेको थियो तर यातायात क्षेत्रलाई राहत प्याकेज दिनुपर्ने भन्दै ठूला व्यवसायीले गाडी चलाएका थिएनन् । महासङ्घले यही अवस्थामा सार्वजनिक सवारी सञ्चालन गर्ने नसकिने भन्दै भाडा वृद्धिको विरोध गरेको थियो तर मौद्रिक नीति आएपछि भने यातायात सञ्चालन गर्ने भएको छ ।

छोटो दूरीका यातायात खुला गरेपछि काठमाडौँ उपत्यकामा सुन्दर यातायातका विद्युतीय बस, मयुर यातायात, संयुक्त, महानगर, साझा यातायातले सेवा सुरु गरिरहेका छन् । ट्याक्सी तथा टेम्पो पनि सञ्चालन भएका छन् । यो समाचार गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति:July 19, 2020