भारतले निर्यातमा ४० प्रतिशत भन्सार लगायाे

  Sampatti News Online

August 20, 2023

भारतमा गाेलभेंडापछि प्याजको मूल्य बढेपछि सर्वसाधारणको चिन्ता बढेको छ । भारतमा प्याजको मूल्य नियन्त्रण गर्न सरकारले निर्यातमा ४० प्रतिशत भन्सार लगाएको छ ।

यसअघि प्याजकाे निकासीमा कर लाग्ने गरेकाे थिएन। भारतीय सरकारले प्याजको उपलब्ध बनाउन र मूल्य नियन्त्रण गर्नका लागि यस्ताे निर्णय गरेकाे हाे । भारतकाे अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै प्याजमा तत्काल लागू भएको निर्यात शुल्क डिसेम्बर ३१ गतेसम्म कायम रहने बताएकाे छ ।

भारतीय सरकारी तथ्याङ्कका अनुसार, अगस्ट १० मा यसको अखिल भारतीय खुद्रा मूल्य प्रतिकिलाे २७.९० भारतीय रूपैयाँ थियो, जुन अघिल्लो वर्षको सोही अवधिकाे तुलनामा किलाेको २ रूपैयाँ भन्दा थोरै बढी थियो । अर्थात् गत वर्षको तुलनामा यस वर्ष प्याज १४ गुणा महँगो भएको छ ।

सरकारले कम आपूर्ति हुने सिजनमा भाउ बढ्न नदिन र आपतकालीन अवस्थाको सामना गर्न मूल्य स्थिरता कोष (पीएसएफ) अन्तर्गत ३ लाख टन प्याजको स्टक राखेको भारतीय संचारमाध्यमले जनाएकाे छ ।

यसबाहेक सरकारले प्याजको मूल्य बजारमा यथावत राख्नका लागि अन्य केहि विकल्प खोजिरहेको छ । जसमा प्याजको इ–अक्सन, इ–कमर्सका साथै राज्यसँगको सहकार्यमा उपभोक्ता सहकारी खुद्रा पसलहरु मार्फत प्याज भारतीय बजारमा जाँदैछ । 

क्रिसिलका अनुसार आपूर्तिमा कमी आएका कारण सेप्टेम्बरको शुरुसम्ममा प्याजको भाउ ६० देखि ७० भारतीय रुपैयाँसम्म पुग्न सक्छ । अहिले प्याज प्रतिकिलो १५ देखि ३० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ ।

क्रिसिलका अनुसार महाराष्ट्र जस्ता प्रमुख उत्पादन हुने राज्यहरूमा रबी बाली फेब्रुअरीको सुरुमा पाकेको थियो। मार्चमा यी क्षेत्रहरूमा बेमौसमी वर्षाले शेल्फ लाइफ ६ महिनाबाट ४ देखि ५ महिनामा  घटाइएकाे छ।

नेपालमा भारतबाट वार्षिक ७ करोडको सुकाएको प्याज र ६ अर्ब ७५ करोड बराबरको ताजा प्याज आयात हुने गरेकाे छ।

हाल नेपालमा भारतीय सुकेकाे प्याजकाे औसत थाेक मूल्य ६१ रूपैयाँ रहेकाे छ ।  जुन अघिल्लाे महिना अर्थात् साउन ४ गते, प्रतिकिलाे ५१ रूपैयाँ रहेकाे थियाे । एक महिनाकाे तुलनामा प्याजकाे थाेक मूल्य १० रूपैयाँले बढिसकेकाे देखिन्छ ।

प्रकाशित मिति:August 20, 2023