बजार अनुगमनमा फेला परे करौडौं रकमका अखाद्य चिनिका बोरा, गोदाममा तालाबन्दी

  Sampatti News

September 22, 2023

काठमाडौं । हिजो आज बजारमा अखाद्य वस्तुको बिगबिगी बढेको छ । पानीपुरी र चटपटेदेखि लगेर दैनिक जीवनमा उपभोग भइरहेका खाद्य सामाग्रीहरुकाे बजार अनुगमन गर्ने क्रममा कयौं अखाद्य वस्तुहरु फेला पर्छन् ।

पानीपुरी चटपटे प्रायः जसो कलेज बाहिर, सडक पेटीमा बेच्न राखिएको हुन्छ तर तिनै पानीपुरी र चटपटेको प्रयोगले गर्दा मानव स्वास्थ्यमा पर्ने असरको बारेमा ध्यान गएको पाइँदैन । रंगसहितको अखाद्य वस्तुमात्र नभएर गुणस्तहीन तेल प्रयोग गरेर बनाइएका वस्तु सडक पेटीमा बेच्ने गरेको भेटिन्छन् भने विभिन्न किराना पसलहरुले पनि खाद्य वस्तुको म्याद सकिएपछि पनि बिक्री गर्नका लागि राखिएको पाइन्छन् । त्यस्तै गोदामहरुमा पनि खाद्य सामानहरु स्टोर गरेर राख्दा कतिपय म्याद सकिएका, मिति नभएका र सडेगलेका वस्तुहरु राखिएको पाइन्छ । तिनै समानहरु गोदामले बजारमा बिक्री वितरण गर्नका लागि पठाउन्छन् ।

यसैक्रमका हिजो बिहिवार बजार अनुगमन गर्नेक्रममा विभिन्न स्थानहरुमा अखाद्य वस्तु भेटिएका थिए । हिजाे काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी खडग बहादुर श्रेष्ठको नेतृत्वमा बजार अनुगमन गरिएको थियो । सोहीक्रमा गुञ्जेश्वरी ट्रेड लिकंको गोदाममा अनुगमन गर्दा चिनीका बोरा, चाउचाउ लगायतका अन्य अखाद्य सामाग्रीहरु फेला परेका थिए ।

मिति नभएका र कम तौल भएका चिनिका बोराहरु र अन्य अखाद्य वस्तु भेटिएपछि श्रेष्ठको बजार अनुगमन टोलीले उक्त सामान जफत गर्दै गोदाममा तालबन्दी गरेको छ ।

सरकारी निकायले गर्ने अक्कलझुक्कल अनुगमनमा भेटिएको यो त प्रतिनिधिमूलक उदाहरण मात्र हो । बजार अनुगमनमा तेल मात्र नभएर प्रशोधित पिउने पानी, बेसन, प्रशोधित दूध, आइसक्रिम, घिउ, चामल, दाल, प्रशोधित सूर्यमुखी तेल, तोरी तेल, पाउरोटी, पप, बन, बिस्कुट, चकलेट, नमकिन, क्यान्डी, काजु लगायत थुप्रै गुणस्तरहीन सामान भेटिन्छन् ।

गुणस्तरहीन खाद्यवस्तुको प्रयोगले झाडापखाला, टाइफाइड, कमलपित्त, झाडा पखाला, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्ने उच्च जोखि हुने चिकित्सकहरु बताउँछन् । त्यसैले उपभोक्ता एकदमै चनाखो हुन अति आवश्यक छ । उपभोक्ताले कुनै पनि वस्तु प्रयोग गर्दा खाद्य बस्तुको नाम, उत्पादकको ठेगाना, ब्याच नं., उत्पादन मिति, उपभोग्य मिति, सम्मिश्रण गरिएका खाद्य वस्तुहरुको नाम, लेबलको बारेमा जानकार हुन पनि जरुरी देखिन्छ ।

नेपालमा प्रत्येक वर्ष भित्रने तरकारीमा मात्रै पनि विषादीको अधिक प्रयोग भएको पाइन्छ । यस्ता अखाद्य वस्तु बिक्री गरेर कहिले सम्म जनजीवको स्वास्थ्यमा खेलवाड गरिन्छ ? सरकारले गरेका प्रयास, विषादीसम्बन्धी कानुनी प्रावधान, विषादी परीक्षण र गुणस्तर मापनका लागि प्रयोगशालाको अवस्था, विषादी आयात निर्यात, परीक्षणका लागि प्रभावकारी व्यवस्थापन नहुँदा यस्ता समस्या हुँदै आएको छ ।

प्रकाशित मिति:September 22, 2023