November 5, 2023
काठमाडाैं । मुलुकी देवानी संहिता २०७४ साल असोज ९ गते पारित भएको हो । मुलुकी देवानी संहितासँगै मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनहरू पनि संसद् बाट पारित भएका हुन्। २०७४ साल असोज ३० गते प्रमाणीकरण भएका यी ऐनहरू २०७५ साल भाद्र १ गते देखि लागू भएका हुन् । यी ऐनहरूले देशमा कानूनी व्यवस्था कायम राखी नैतिकता, शिष्टाचार, सदाचार र सुविधा कायम राख्ने साथै आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा न्यायिक व्यवस्था गरेर विभिन्न जातजाति, वर्ण र समुदायबीच सद्भावपूर्ण सम्बन्ध कायम राख्ने लक्ष्य लिएका छन् । मुलुकी देवानी संहितामा ६ भाग र ७२१ दफाहरू छन् ।
ती सबै व्यवस्था मानवजीवन साथै उद्यमहरू र अरू सङ्गठनहरूका क्रियाकलापसँग धेरै नजिक छन् । यसका केही प्रावधान मुलुकी ऐन र अरू कानूनबमोजिम छन् भने केही नयाँ प्रावधान अन्य देशका कानूनी प्रावधानहरूको अध्ययनबाट मिलाएर थपिएका छन्। देवानी संहिताको भाग ६ मा निजी अन्तर्राष्ट्रिय कानूनसम्बन्धी व्यवस्था राखिएको छ। यसले नेपाली र विदेशी नागरिकबिचका सम्बन्ध, जस्तै विवाह, लेनदेन आदिका बारेमा र बहुराष्ट्रिय सम्बन्ध जोडिएका मामिलामा कस्ता कानूनको प्रयोग गर्ने भन्ने बारेमा व्यवस्था गरेको छ।
जापान सरकारले (जाईका मार्फत) सन् २००९ देखि नेपालको मुलुकी देवानी संहिता बनाउन सहयोग गरेको थियो । नेपाली कार्यदल सदस्यहरूले नेपाल र जापानमा धेरै छलफल गरेपछि यी कानूनी व्यवस्था यस ढाँचामा ल्याइएका हुन् ।
बेलाबेलामा श्रव्यदृश्य सञ्चारसाधनबाट पनि बैठकहरू भए जसमा जापानी कानून प्राध्यापकहरूसँग दफाबार छलफल गरिएको थियो । जापानी विज्ञहरूले सल्लाहकार समूहका सदस्यका रूपमा निरन्तर सल्लाह दिएका थिए ।
प्रकाशित मिति:November 5, 2023
November 24, 2024