कार्तिक पुर्णिमा स्नानको लागि लालबकैया,बाग्मती नदीमा भक्तजनको घईँचो, भुत मेलामा सैयौं प्रस्थान

  Sampatti News Online

November 27, 2023

रौतहट ११ मंसीर। कार्तिक पुर्णिमाको अवसरमा लालबकैया र बागमती नदीमा आज बिहानैदेखि स्नान गर्नेहरुको घुँईचो लागेको छ । पूर्णिमाको अवसर पारेर स्थानिय कटहरिया, मौलापुर, देवाही गोनाहि नगरक्षेत्र अन्तर्गत लालबकैया नदीको बिभिन्न घाट र गढीमाई, राजदेवी नगरक्षेत्र अन्तर्गत बागमती नदीको बिभिन्न घाटमा बिहानै देखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ।
त्यसैगरी कमला नदीमा स्नानका लागी यहाँ बाट सैयौं मानिस त्यहाँ पुगेका छन । बिहान सूर्य न उदाउँदै लालबकैया,बाग्मती, लगायत बिभिन्न नदीमा कमला नदिमा स्नानका लागी भिड लागेको छ । त्यसैगरी रौतहटको कटहरिया लगायत बिभिन्न पालिका बाट धामी झाँक्रीको पहलमा धनुषाको कमला नदिमा पुर्णिमा स्नान गर्न र भुत मेलामा सहभागी हुन सैयौं मानिस ( कारणी) त्यहाँ पुगेको छ।
कार्तिक महिनाको पूर्णिमालाई कार्तिक पूर्णिमा, त्रिपुरोत्सव पूर्णिमा र कार्तिकस्नान पनि भनिन्छ।
धर्मशास्त्रमा अनुसार कार्तिक पूर्णिमाको दिनमा गंगा स्नान गर्नुको बिशेष महत्व रहेको छ। आज पूर्णिमाको दिन नदी जलाशयमा स्नान, पछि दान गर्नाले मानव जुनी बाट मुक्ति पाउने जनविश्वास रहेको पाइन्छ।
कार्तिक महिना हिन्दू महिनाहरूको १२ महिनाहरू मध्ये सातौं महिना महिना हो। सौर्यमास प्रणाली अनुसार कार्तिक महिना तुला सक्रांतीको दिन देखि सुरु हुन्छ। चन्द्रमासका अनुसार कार्तिक महिना कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट सुरु हुन्छ। तर शाक्य पञ्चांगका अनुसार भने कार्तिक महिना तुला सक्रांतीको ५ दिन पछि सुरु हुन्छ। नेपालमा सौर्यमासलाई नै व्यवहारमा ल्याईएको छ। यो महिना शरदऋतुको दोस्रो महिना हो। अङ्ग्रजी महिनाको अक्टुबरको आधा महिना र नोवेम्बरको आधा महिना कार्तिक महिना भित्र पर्छ।प्राचीन हिन्दु परम्परा र मान्यता अनुसार कात्तिक महिनामा कुनैपनि देवकर्महरु गर्न नमिल्ने र गरिहालेमा पनि उल्टो फल प्राप्त हुने जनविश्वास रहिआएको छ। यसै कारण कार्तिक महिनामा शुभ विवाह हरु र विशेष पूजा आजाहरू गर्न नमिल्ने कुरा हिन्दु अभिलेख र ग्रन्थहरूमा उल्लेखित छ । कात्तिक महिनामा कार्तिक स्नानको ठुलो महत्व रहेको छ। यस महिनामा खास गरेर स्नान, दान, आदी कार्यहरू गर्न सकिन्छ।
आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि शुरु हुन्छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातक बाट पनि मुक्त भइने धार्मिक विश्वास छ ।धनुषा र सिराहाको सीमा भएर बग्ने कमला नदीमा आज भूत मेल लागेको छ ।
कात्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाग्ने यस भूत मेलामा एकाबिहानैदेखि कमला स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ ।
आइतबार साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका विभिन्न गाउँवासी सिराहा र धनुषाको सिमानामा पर्ने कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उतरवाहिनी, इनर्वालगायतका घाट पुगेका छन् ।
कात्तिक शुक्ल पूर्णिमाको दिन भूत बैताल, देवी देवताहरुको गुहान गर्दा त्यसबाट छुटकारा पाउने कटहरिया नगरपालिकाका ५ धामी सिकिन्दर यादवले बताएका छन्।
धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै कात्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा भएको र
यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ । आजका दिन देखि नयाँ-नयाँ धामी झाँक्री बन्ने तथा तन्त्रमन्त्रमा सिद्ध पाउने जनविश्वास रहेको छ ।
भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ-आफ्नो घर लैजाने गर्छन् । उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरु बताउँछन् ।
कटहरिया ५ का झाँक्री यादवले मात्र दर्जनौं कारणी लाईकमला नदी स्नानका लागि लागेका छन्।
( स्थानिय भाषामा भूत प्रेत लागेका मानिस महिला पुरुषलाई कारणी भन्ने गरिन्छ) मधेशको गाउँ ठाउँमा खासगरी अशिक्षित, गरीब , दलित र बिप्पन बर्गका महिला पुरुष भूत प्रेत लागेको ,बोक्सीले तन्त्र मन्त्र गरेको विश्वासका साथ धामी झाँक्रीको रेखदेखमा कार्तिक पूर्णिमा स्नान गर्न आआफ्नो ठाउँबाट कमला नदीमा जानेगरेको कटहरिया ५ का समाजसेवी दीनानाथ साहले बताएका छन्।
स्थानिय प्रशासनले वास्ता नगरेको कारण हाल रौतहटमा च्याउ जस्तै धामी झाँक्री देखिएका छन। कटहरिया, फतुवा विजयपुर, लगायतका पालिकाको बिभिन्न गाउँमा रहेका धामी झाँक्रीहरुले गत दशैँमा भूत प्रेत, तंत्र मंत्र लागेका लाई ठीक गरेको भन्दै लाखौँ बराबरको खसी बोका र लाखौं रुपैयाँ नगद चिराकी दक्षिणा स्वरूप लिएको प्रत्यक्षदर्सीहरुले बताएका छन्। सञ्जय मिश्रा

प्रकाशित मिति:November 27, 2023