मौलापुर पाँचौ मधानी महोत्सव २०८० भव्यरुपमा मनाईने

  Sampatti News Online

December 9, 2023

रौतहट । बिगतका बर्षहरु जस्तै यसपटक पनि मौलापुर नगरपालिका स्थित पाँचौं मधानी महोत्सव भव्यताका साथ मनाईउन ६ बुन्दे महत्वपूर्ण निर्णय गरिएको छ। 

महोत्सव संगै पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सुचिमा समावेश गराउन मौलापुर नगरपालिकाको सभाकक्षमा  आमजनता पार्टीका अध्यक्ष पुर्व मन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा बैठक बसेको थियो।

प्राचीन मधानी महोत्सव अनुष्ठानलाई देश विदेशमा प्रचार प्रसार गर्न लगातार पाँचौ पटक मधानी महोत्सव २०८० को आयोजना गर्ने विषयमा बसेको बैठकमा बिभिन्न निर्णयहरु भएको छ ।

आउँदो  फाल्गुन २४,२५ र २६ गते मधानी महोत्सव २०८० भव्यरुपमा मनाउने, गुप्तकाल ( २५ सय वर्ष अघि ) का भेटिएका अवशेषहरुको संरक्षण गर्ने तथा थप उत्खननका कार्यहरू अगाडि बढाउने निर्णय गरिएको छ।  महोत्सव लाई भव्यता दिन धार्मिक तथा सांस्कृतिक प्रस्तुतिका लागि हिन्दि तथा भोजपुरी  सिने जगतका प्रख्यात कलाकारहरु(गोबिन्दा, निरहुआ,  आम्रपालि, मैथिली ठाकुर, अनुप जलोटा आदि) लाई   सहभागिताका लागि पहल गर्ने निर्णय गरिएको छ। 

त्यसैगरी कांवरियाहरुको उल्लेख्य सहभागिताका लागि आवश्यक पहल गर्ने ,अन्तर्राष्ट्रिय स्तरको कुश्ती (दंगल)प्रतियोगिताको आयोजना गर्ने , र मन्दिर वरिपरिका सडकहरुको स्तरोन्नति कार्य तुरुन्त अगाडि बढाउने निर्णय गरिएको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन्।

बैठकमा मेयर रिनाकुमारी साह, उपमेयर नागेन्द्र यादव लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।

मौलापुर नगरपालिका  पतौरा स्थित पुरातात्विक महादेवको मन्दिर निर्माण पछि बिगत पाँच वर्षदेखि मौलापुर नगरपालिकाले प्रत्येक बर्ष मधानी महोत्सवको आयोजना गर्दै आएको छ।

पुरातात्विक महादेवको महत्व :::::

वरिष्ठ पुरातत्त्वविद् स्वर्गिय नारानन्द मिश्रको निगरानीमा पतौरा महादेव मन्दिरको उत्खनन तथा संरक्षण गर्ने काम भएको थियो । अध्ययनको प्रारम्भिक नतिजाले मन्दिरको संरचना कर्णाटकालीन भएको देखिएको नगरपालिकाका इन्जिनियर अशोक साहले बताएका थिए।

मन्दिरलाई उत्खनन गर्दै जाँदा जमिनको सामान्य सतहदेखि करिब २२ फिट गहिरोसम्म यसको संरचना भेटिएको छ । बाराको सिम्रौनगढमा कर्णाटवंशीय शासन स्थापना हुने समयकै हाराहारीको रौतहटको ईशनाथ मन्दिर (स्थापना विसं १११४)लाई विचार गर्दा पतौराको महादेव मन्दिर अझ पुरानो भएको हुन सक्ने अनुमान गरिएको छ ।पतौरा महादेव मन्दिरको विषयमा चासो बढेपछि बेलायतको दुर्हाम विश्वविद्यालयको पुरातात्विक टोलीले स्थलगत अध्ययन थालेको छ । जमिनमुनि दुई मिटरसम्मको पुरातात्विक एक्सरे गर्न सक्ने मेसिनको सहायतासमेत लिएर रिचिइ विलिइस र एरिक नायलोरको संयुक्त टोलीले पुरातात्त्विक अध्ययन गरेको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले बताएकी छन् ।

पहिले सामान्य अनुमान सेनकालीन मन्दिरको संरचनाजस्तो लागेको थियो तर प्रारम्भिक पुरातात्विक अध्ययनले कर्णाटकालीन भनेर रिपोर्ट आउँदा कर्णाटकालीन समयभन्दा पनि पुरानो मन्दिरको अवशेष देखिएपछि अध्ययन झन् चुनौतीपूर्ण बनेको मेयर साहको भनाई छ।

पहिले सामान्य अनुमान सेनकालीन मन्दिरको संरचनाजस्तो लागेको थियो तर प्रारम्भिक पुरातात्विक अध्ययनले कर्णाटकालीन भनेर रिपोर्ट आउँदा कर्णाटकालीन समयभन्दा पनि पुरानो मन्दिरको अवशेष देखिएपछि अध्ययन झन् चुनौतीपूर्ण बनेको मेयर साहको भनाई छ। सञ्जय मिश्रा 

प्रकाशित मिति:December 9, 2023