बाँसबारीको १० रोपनी जग्गाको विवाद के हो ? चौधरीसहित तीन पक्राउ

  Sampatti News Online

February 2, 2024

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।

सरकारको नामबाट हडपेर लगेको भनिएको १० रोपनी जग्गामा अहिले चौधरी ग्रुपले ‘चाँदबाग स्कुल’ सञ्चालन गरिरहेको छ ।

काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । उनी पश्चिम नवलपरासी–१ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद विनोद चौधरीका कान्छो भाइ हुन् ।

कपडाका जुत्ता उत्पादन गर्ने उद्देश्यले २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुट वेयरले तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो । यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थिए । तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको सीआईबीको दाबी छ ।

केही महिना अघिबाटै अनुसन्धान भइरहेकामा तथ्य र प्रमाणले कानुनविपरीतका गतिविधि भएको देखिएपछि केही आरोपितलाई नियन्त्रणमा लिइएको सीआईबीको भनाइ छ । ‘सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा लैजाने निर्णयमा संलग्न बाँसबारीका तत्कालीन कार्यकारी अध्यक्ष र सञ्चालक समिति सदस्य तथा सरकारी जग्गा लिएर भोगचलन गरिरहेका व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको छ,’ एसएसपी आचार्यले भने, ‘जग्गा हिनामिनामा संलग्न सबैमाथि अनुसन्धान भइरहेको छ ।’

२०२२ साउनमा चिनियाँ सरकारले स्थापना गरिदिएको जुत्ता कारखाना ८३ रोपनीमा फैलिएको थियो । कम्पनी निरन्तर घाटामा गएको कारण देखाएर सञ्चालक समितिले जग्गा बिक्री गर्ने निर्णय गरेको थियो । यस क्रममा सञ्चालक समितिले प्रतिरोपनी साढे २ लाखका दरले १० रोपनी (दुई पटक गरी) जग्गा २५ लाखमा च्याम्पियन फुटवेयरलाई बेचेको थियो । सरकारी उद्योगको जग्गा बिक्री गर्ने निर्णय मन्त्रिपरिषद्बाट मात्र सम्भव हुने भए पनि सञ्चालक समितिले नै त्यस्तो निर्णय गरेकामा कार्यकारी अध्यक्ष थापा र सञ्चालक समितिलाई सीआईबीले आरोपी मानेको छ । जग्गाको कुल मूल्य २५ लाख रुपैयाँ कायम भएकामा सो बराबर हुने गरी च्याम्पियन फुटवेयरको २५ सय कित्ता सेयर बाँसबारीले पाएको थियो । यसरी च्याम्पियनमा २५ प्रतिशतको सेयरधनी बाँसबारी भएकामा बाँकी ७५ प्रतिशत सेयर चौधरी परिवारका विनोद, अरुण, वसन्त, बाबु लुनकरणदास, दिदी गंगादेवी र भिनाजु महेशकुमार अग्रवालका नाममा कायम भएको थियो । यही अनुबन्धका आधारमा २०४३ कात्तिकमा च्याम्पियन फुटवेयर कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको थियो । बाँसबारीको ६ रोपनी जग्गा २०४४ को भदौमा र थप चार रोपनी जग्गा मंसिर १८ मा च्याम्पियन फुटवेयरको नाममा सारिएको थियो ।

च्याम्पियन फुटवेयरमा २५ प्रतिशत सेयरका लागि बाँसबारीको जग्गाको मूल्यांकनबाट २५ लाख लिइएकामा ७५ प्रतिशत सेयरबापत चौधरी परिवारले भने आठ लाख मात्र भुक्तान गरेको देखिएको सीआईबीको दाबी छ । ‘त्यसमा पनि तीन वर्ष जुत्ता उत्पादन गरेपछि कारखाना बन्द भएको देखिन्छ,’ सीआईबीका एसएसपी आचार्यले भने । बाँसबारी जग्गा प्रकरणमा उकालोडटकम र टक्सार म्यागजिनले समाचार लेख्दै आएका थिए ।

प्रकाशित मिति:February 2, 2024