देशभरका सडक वर्षात सगै जोखिममा

गुणस्तरहीन समग्रीको प्रयोगले जताततै खाल्डाखुल्डी

  Sampatti News Online

June 13, 2024

काठमाण्डौँ । देशभर सडक विस्तारको गति बढेको छ । तर सडक आफैँमा धरापमा छन् । यी धराप सडकका कारण कयौंले जोखिमपूर्ण यात्रा मात्रै गर्नुपरेको छैन जीवन नै गुमाउनुपरेको पनि छ । सडक जहाँसुकैका हुन् त्यसमा समस्या छ । अगाडि सडक ठीक होला भन्ने मनसायले यात्रारत जो सुकै होस गन्तब्य सम्म पुग्न कठिनाइ ब्यहोर्नु परेको तितो यथार्थ हामी सग छदैछ
हामीकहाँ प्रत्येक पाइलामा खतरा छ, कहाँ सावधानी अपनाउनु रु बर्खायाम सुरु भएसंगै सडकमा देखिने समस्याहरु उस्तै छन् । सडक बिभागका कर्मचारीहरुको सरुवा, बढुवाका कारणले पनि सडक निर्माण गर्ने कार्य तथा बिस्तार गर्ने कार्यमा निकै बाधा पुग्ने गरेको छ ।
एक बिभागको कर्मचारी अर्को शाखामा सरुवा भएर जाँदा अर्को आउने कर्मचारीले निर्माणाधिन सडकको बारेमा बुझ्न समय लाग्ने जस्ता कारणले गर्दा सडक निर्माणले पाउनु पर्ने गति लिन सकेको छैन । बेलाबेलामा सडक बिभागका कर्मचारीहरु भने सरुवा भईरहन्छन् ।
हिउँदको समयमा सुख्खा पहिरो र बर्खाको समयमा सडक भाँसिने, पहिरो जाने, कच्ची सडकहरु भाँसिने जस्ता समस्याहरु हुने गर्दछन् । सरकारले असार मसान्तसम्ममा सबै खालका बजेट तथा योजनाहरु सिध्याउने खेल अनुसार नै कयौँ सडक निर्माण कार्य अलपत्र पर्ने गर्दछन्, कयौँ सडक गुणस्तरीय रुपमा निर्माण भएका हुदैनन् भने कुनै सडक निर्माण कार्यमा खटिएका कामदारले ज्याला नै पाएका हुँदैनन् ।
खासगरी स्थानीय जनप्रतिनिधीहरुको बिषेश बिकासको रुपमा रहेको सडक संञ्चाल नै अलपत्र पर्ने गरेका छन् । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँमा पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ । कार्यालय प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखि छ ।
यसैगरी, बेला बखतमा चर्चामा आर्ईरहने यो सडकमा पहिरोको कम जोखिम भएका ठाउँमा गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलो क्षेत्र हुन् । ती ठाउँमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ । विसं २०८० को वर्षामा यो सडकमा ३० र २०७९ मा ३६ पटक पहिरो जाँदा यी क्षेत्रमा पटक–पटक सवारी आवागमन अवरुद्ध भएको थियो ।
कार्यालयका इञ्जिनियर सागर कार्कीले पानी परेपछि जुनसुकै बेला भू–क्षयको जोखिम रहेकाले सेती दोभान, मौरी पुल र चार किलोमा उपकरण तम्तयार अवस्थामा राखिने बताए । ‘हेटौँडास्थित हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट पनि उपकरणको प्रबन्ध गरिनेछ,’ उनले भने ।
सोही सडक खण्डको केराबारीमा नेचरबेस सोलुसन नामको संस्थाले बायो इञ्जिनियरिङ प्रविधिबाट पहिरो नियन्त्रण अध्ययन गरिरहेको छ । सोही सडकका खहरे खोला, भतेरीको ओरालो, गाईघाट, सेतीदोभान, जलवीरे, २६ किलो र चार किलो क्षेत्रका ११ ठाउँमा अध्ययन गर्न उक्त संस्थाले सडक विभागलाई पत्राचार गरेको छ ।
खासगरी ग्रमीण कच्ची सडकहरुमा कतिपय त ठेकेदारको लापर्वाहीका कारणले पनि निर्माण कार्यले गति लिन सकिरहेको हुँदैन भने कतिपय सहरी क्षेत्रकै सडकहरुमा पनि गुणस्तरहीन सामग्री, आवश्यक्ता भन्दा बढी वा थोरै सामग्रीको प्रयोग हुँदा ठाउँठाउँमा खाल्डाखुल्डीको समस्याहरु हुने गर्दछन् । राजधानी काठमाण्डौँको बुद्धनगर क्षेत्रमा बिचसडकमा भएका खाल्डाखुडीहरुले राजधानीलाई नै जिस्कारहेको छ ।

प्रकाशित मिति:June 13, 2024