नयाँ सरकार संविधानको कुन धारामा, ७६ (२) की (३) ?

  Sampatti News 2024

July 12, 2024

विपुल अधिकारी

काठमाडौं । असार १८ गते मध्यरातमा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले विगतका राजनीतिक तित्तता भुलेर नयाँ सरकार गठन गर्न तयार भए । नयाँ समिकरण तयार भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको सरकारबाट नेकपा एमालेलगायत अन्य साना दलले समर्थनसहित मन्त्री फिर्ता भए ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यराति गरेको सहमतिमा अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भनिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत नयाँ सरकार गठनका लागि छलफल गरेर दुई पार्टीले उक्त सहमति गरेको बुझिएको छ ।

प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिइसकेपछि प्रचण्डले आज विश्वासको मत लिदैछन् । नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीको निम्ति सहमति बने पनि संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुने या धारा ७६ (३) मा जाने विषय वहस चलिरहेको छ ।

एमाले–कांग्रेसले धारा ७६ (२) अनुसारनै आज नै सरकार गठनका लागि बहुमत हस्ताक्षर गठन गरेको छ ।

केहिदिन अघिको संसद बैठक नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रराय यादवले नेपालको संविधानको ७६ (२) अनुसार प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत नपाएपछि ३ अनुसारको सरकार बन्ने दाबी गरेका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने वैधानिक प्रक्रिया हो । उहाँले २८ गते विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसारको सरकार बन्छ। त्यसैले प्रतिपक्षका साथीहरुलाई धैर्यता गर्न आग्रह गर्छु ।’

नेपाली कांग्रेसका नेता शेकर कोइरालाले आफ्नो संविधानको धारा ७६ (२) अनुसार नै हुने दाबी गरेका छन् । उनले यसअघि धारा २ मा सरकार गठन हुनेमा आशंका गरेका थिए ।
संविधानको धारा ७६ मा मन्त्रिपरिषदको गठनको व्यवस्था छ । यो धाराको उपधारा २ मा ‘प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ लेखिएको छ ।

धारा ७६ को उपधारा ३ मा ‘प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ’ उल्लेख छ ।

यसअघि संघीय संसदमा कुनै पनि दलको बहुमत नहुँदा संविधानको धारा ७६ (२) अनुसार गत वर्ष सरकार गठन भएको थियो । हालको प्रचण्ड नेतृत्वको सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिएपछि एक महिनाभित्र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था संविधानमा छ । अहिले नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच यही असार १७ गते राति भएको सहमतिअनुसार संविधानको धारा ७६ (२) मै फर्कने भन्नेमा छ । काङ्ग्रेस र एमालेबीच सहमति बन्नेक्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर छलफल गरेका थिए । र, त्यो छलफलमा राष्ट्रपतिले धारा ७६ (२) अनुसार नै आफू अघिबढ्ने भनेर वचन दिएको चर्चा चलेको थियो ।

संवैधानिक कानुनका ज्ञाताहरु सरकार बनाउने दुवै धारामा जान सकिने बताउँछन् । कोशी प्रदेशमा सरकार गठनमा भएको बिवादलाई लिएर सर्वोच्च अदालतले धारा ७६ (२) र धारा ७६ (३) दुवै धाराबाट सरकार गठन गर्न सकिने आदेश दिएकोले त्यो नजीर बनेको छ ।

राष्ट्रपतिलाई तनाब

आज प्रधामन्त्रीले विश्वासको मत लिदै गर्दा एमाले–कांग्रेसले नयाँ सरकार गठनका लागि बहुमत हस्ताक्षर संकलन गरिसकेका छन् । आज नै सरकार गठनका लागि दाबी पेश गर्नेसमेत बुझिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल भने कुन धारमा सरकार गठन हुन्छ भन्ने विषयमा चिन्तित रहेको बुझिएको छ । केहि दिन अगाडि सितलनिवासमा भएको एक औपचारीक कार्यक्रममा उनले यसबारे चिन्ता व्यक्त गरेको सहभागि एक जनाले सम्पत्ति न्यूजलाई बताएका थिए ।

आफूलाई राष्ट्रपति बनाइदिएकोमा प्रचण्डप्रति रामचन्द्र पौडेल ‘नतमस्तक’ रहेको बताइन्छ । तसर्थ, काङ्ग्रेस–एमालेका शीर्ष नेतृत्वको आग्रह लत्याउने अनुमान कतिपय विष्लेषकले गरेका छन् । उनले विश्वासको मत पछि शिर्ष नेताहरुसँग छलफल गर्ने तयारी गरिरहेको बताएका छन् ।

माओवादीको संसदीय दलको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नपाए धारा ३ अनुरार नै सरकार गठन हुने दाबीसहितको निष्कर्ष निकालेको थियो ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा १)) को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका बुझिएको छ । त्यसपछि सरकार कसरी गठन हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

प्रकाशित मिति:July 12, 2024