थाइल्याण्डमा एडीपीसीको पाँचौ बैठक सुरु, नेपालमा सबसेन्टर खोल्न प्रस्ताव

  Sampatti News 2024

July 26, 2024

काठमाडौं । एसियन डिस्यास्टर प्रिपियर्डनेस सेन्टर(एडीपीसी)को पाँचौ बैठक थाइल्याण्डमा सुरु भएको छ । विहीबारदेखि शुरु भएको उक्त बैठकमा एडीपीसीमा नेपाललगायत चीन, भारत,थाइल्याण्ड,फिलिपिन्स,पाकिस्तान,श्रीलंका,बंगलादेश र कम्बोडिया सदस्य राष्ट्रका रूपमा रहेका छन् ।

सबै सदस्य राष्ट्रका उच्चपदस्थको सहभागिता रहेको सो बैठकमा नेपालको तर्फबाट गृहमन्त्रालयका सचिव एकनारायण अर्याल नेतृत्वको उच्च पदाधिकारीहरूको टोलीले सहभागिता जनाइरहेको छ ।

नेपालबाट सहभागि टोलीको नेतृत्व गरिरहेका गुहसचिव अर्यालले नेपालमा प्रकोप न्यूनीकरण, व्यवस्थापन र प्रकोपपूर्वको तयारीका लागि सबसेन्टर खोल्नुपर्ने प्रस्ताव राखेका छन् । सचिव अर्यालले विपद् व्यवस्थापनमा आवश्यक सहकार्य गर्नुपर्ने प्रस्ताव पनि राखेका थिए ।

गृहसचिव अर्यालले राखेको एजेन्डा र छलफलका विषयमा सहभागी अन्य राष्ट्रहरू सकारात्मक देखिएका छन् । बैठक शुक्रबारसम्म चल्ने जनाइएको छ ।
एडीपीसीले यस क्षेत्रमा संकटकालीन व्यवस्थापन, विपद् व्यवस्थापन,विपद् जोखिम न्यूनीकरण,क्षमता विकास, तालिम र जनशक्ति व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र साझा सहकार्य तथा विभिन्न सहयोग आदान प्रदानका विषयमा काम गरिरहेको छ । हाल यसको अध्यक्ष राष्ट्रको रूपमा भारत रहेको छ र नेपाल भाइस अध्यक्षको रूपमा मनोनयन भएको छ । यससँगै आगामी २०२५ मा नेपाललाई स्वतः एडीपीसीको अध्यक्षता ग्रहण गर्ने बाटो खुलेको छ ।

प्रकाशित मिति:July 26, 2024