August 2, 2024
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरुवा भएर जान लागेका र नयाँ आउने सचिवलाई स्वागत गरेको छ । मन्त्रिपरिषद्को सोमबारेको निर्णयानुसार आयोगबाट रक्षा मन्त्रालयमा सरुवा भई जान लागेका सचिव रामेश्वर दंगालको बिदाइ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट आयोगमा सरुवा भई भएका सचिव घनश्याम उपाध्यायलाई आयोगले बुधवार स्वागत गरेको हो ।
नवनियुक्त सचिव उपाध्यायलाई प्रमुख आयुक्त प्रेम कुमार राई तथा आयुक्तहरू किशोर कुमार सिलवाल, जय बहादुर चन्द, डा। हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ अमात्यले स्वागत गरेका छन् । पदभार ग्रहणसँगै नवनियुक्त सचिव उपाध्यायले गरिमायुक्त संवैधानिक आयोगमा प्रशासन प्रमुखको जिम्मेवारी दिएकोमा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दै आयोगमा पूर्ण जिम्मेवार र प्रतिबद्ध रही कार्य सम्पादन गर्ने बताएका छन् ।
आयोगलाई सफल बनाउनु सबै कर्मचारीहरूको जिम्मेवारी रहेको र आयोगको सफलता नै कर्मचारीको सफलता हुने भएकोले कार्य सम्पादनमा निखार ल्याउने गरी काम गर्नु पर्ने उपाध्यायले बताए ।
सो क्रममा आयोगबाट सरुवा भई जान लागेका सचिव रामेश्वर दंगालले आयोगमा काम गर्न पाएकोमा आफू गौरवान्वित भएको बताउँदै नयाँ जिम्मेवारी पनि आफ्नो क्षमता, बुद्धि र विवेकले भ्याएसम्म कुशलतापूर्वक निभाउने प्रण गरे । मुलुकमा सुशासन कायम गरी आर्थिक सम्वृद्धि ल्याउनमा आफूले सक्दो प्रयास गर्ने भन्दै दंगालले आयोगमा आफूप्रति गरिएको विश्वास र सम्मानका साथ काम गर्ने वातावरण जुटाई दिएकोमा आयोगप्रति हार्दिक आभार व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले यस आयोगमा काम गर्नु गौरवको विषय भएको उल्लेख गरे । बिदाइ भएर जान लागेका सचिवले सुशासन कायम गर्न गरेको योगदानको कदर गर्दै प्रमुख आयुक्त राईले नयाँ जिम्मेवारीमा समेत कुशलतापूर्वक कार्य सम्पादनको लागि शुभ कामना व्यक्त गरे ।
आयोगमा सरुवा भएर आउनु भएका सचिव उपाध्यायलाई स्वागत गर्दै आयोगको लक्ष्य, संवैधानिक दायित्व र जिम्मेवारी पुरा गर्नमा योगदान हुनेछ भन्ने आफूले विश्वास लिएको प्रमुख आयुक्त राईले उल्लेख गरे ।दुबै सचिबले आआपना जिम्मेवारी समालिसकेका छ्न।दुबै सचिब नेपाली प्रशासन क्षेत्रमा नतिजा दिनसक्ने काबिल प्रशासकका रुपमा परिचित छ्न्।
प्रकाशित मिति:August 2, 2024