पशुपतिनाथभित्र चलेको एतिहासिक महायज्ञमा महापुराण सुनाउँदै देवीहरू

विरोधिको निशानामा ‘ट्रोल’ बने वाचिकाहरु

  Sampatti News 2024

August 5, 2024

काठमाडौं । यो साउनको पवित्र महिना हो । पशुपतिनाथ क्षेत्र परिसरमा एक महिने महायज्ञ चलिरहेको छ । यहाँ देश विदेशका भक्तजनहरुको घुइँचो नै लागेको छ । यहायज्ञका विशेष आकर्षण भनेको देश विदेशबाट बोलाइएका कथा बाचकहरुनै हुँन् ।

नवसेवा फाउण्डेशलगायत संघ संस्थाको आयोजनामा नेपाल महात्म्य एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ साउन ३२ गतेसम्म चल्ने छ ।

आयोजकले जनाए अनुसार यहाँ दैनिक रुपमा करिव ५० हजारको हाराहारीमा भक्तजनहरु आउने गरेका छन् ।

कोटिहोममा अधिकाशं महिला वाचक

पशुपतिक्षेत्र वनकालीको हंस मण्डपमा जारी कोटिहोममा अधिकाशं महिला वाचिकाहरुले पुराण सुनाए । प्रष्ट वाचन शैली र प्रस्तुतिमा धेरैको मन लोभिएको छ । आयोजकले अधिकांश महिलालाई प्राथमिकत दिएर पितृ शत्तात्मक सोच परिवर्तन गरि मातृसत्तालाई उजागर गर्न खोजिएको प्रष्ट देखिन्छ ।

कोटिहोममा डा. कान्ता भट्टराई, राधिका दासी, देवि प्रतिभा, चन्द्रकला सखी र अनुराधा पाण्डेले कथा वाचन गरेर सबैलाई मन्त्र मुग्ध बनाएका छन् ।

को हुन कान्ता भट्टराई ?

डा. कान्ता भट्टराईले संस्कृत विश्वविद्यालयबाट पूर्वीय दर्शनमा विद्यावारिधी गरेकी कथा वाचिका हुन् । भट्टराईले करिव २ वर्ष अगाडिबाट कथा वाचन गर्दै आएकी छिन् । ६ वर्ष अगाडिदेखि उनी निरन्तर कथा बाचनमा लागेकी हुन् ।
डा. भट्टराईले श्रीमद् देवी भागवत महापुराण वाचन गरेकी छिन् । कोटिहोमले महिलालाई प्राथमिकता दिएकोमा उनी निकै हर्षित थिइन् ।
उनले भारतको वृन्दाबन, अमेरिकाको टेक्सासलगायतका स्थानमा पनि श्रीमद् भागवत महापुराणको महात्म सुनाईसकेकी छिन् ।
उनले महिलाले पनि पछिल्लो समय धेरै स्थानमा कथा वाचन गर्दे आएको बताएकी छिन् । राप्रपाको केन्द्रीय सदस्यसमेत रहेकी डा. भट्टराई २०७४ सालमा तत्कालीन राप्रपा नेपालको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण राज्यमन्त्रीसमेत भइसकेकी छिन् ।

मोहित पार्ने राधिका दासीको वाचन शैली

प्रष्ट वत्ताको रुपमा चिनिएकी राधिका दासी २०४५ साल भदौ १ गते परिवारमा दोस्रो सन्तानको रुपमा जन्मिएकी हुन् उनको आध्यात्मप्रतिकोरुचि र शिक्षा आफ्ना हजुरबुबाबाट आएको हो ।

उनको कथा वाचानमा धेरै भक्तजन मोहित भए । उनको बैवाहीक जिवनमा घटेको एउटा घटनाले उनी वृन्दावन पुगेकी हुन् । विवाह भयो, एक सन्तान पनि भयो तर श्रीमान्सँग सम्बन्ध तोड्नु पर्यो र वृन्दावन पुग्नु पर्यो । वृन्दावन पुगेर आफूले आफैंलाई चिन्ने मौका पाएको उनले बताउने गरेकी छिन् । यो धर्तीमा आफू वास्तबमै किन आएको रहेछु भन्ने बुझेर उनले आफ्नो अध्यात्मिक यात्रा सुरु गरिन् । त्यहाँ अध्ययन पूरा गरेर नेपाल फर्केर उनी समाज सेवामा लागिन् ।

१८ पुरानको सारमा बेदव्यासले ‘परोपकार सबैभन्दा ठूलो पुण्य हो र परपीडा सबैभन्दा ठूलो पाप हो’ भनेकाले आफूले पनि नेपाल आएर सेवाको बाटो रोजेको बताइन् ।

तिख्खर वाचिका देवी प्रतिभा

तिख्खर र शान्त वाचिकाको रुपमा आफ्नो प्रतिभा देखाएर आफ्नो प्रस्तुति दिने अर्की वाचिका हुन देवी प्रतिभा । सानै उमेरमा पण्डित बन्ने उनको धोको पुरा गर्दै उनी विभिन्न उतार चढावको जोखिम मोल्दै वाचिका बनेकी हुन् । १२ वर्षको हुँदा भारतको वृन्दावन पुगेकी उनले १७ वर्षको उमेरदेखि कथा वाचन सुरु गरेकी हुन् । हजुरबुबाको प्रेरणाले नै वृन्दावनसम्म पुगेर अध्ययन थालेको २३ वर्षीया देवी प्रतिभा बताउछिन् । विभिन्न सामाजिक काममा सम्लग्न संस्था राष्ट्र सेवा परिवारमा पनि उनी आबद्ध छिन् । उनी भागवत पुराणका साथै रामचरित मानस पनि सुनाउँछिन उनको प्रस्तुतिले सबैलाई मनमोहक बनाउछ । उनी जहाँ–जहाँ प्रवचनका लागि जान्छिन् त्यहाँ निकै ठूलो भीड जम्मा हुने गर्छ । यही कारणले गर्दा उनलाई सम्बन्धित आयोजकले विशेष सुरक्षासमेत प्रदान गर्ने गरेको छ ।

लोकप्रिय कथा वाचिका चन्द्रकला सखी

बेलायतमा बसोबास गर्ने चन्द्रकला सखीको प्रस्तुतिले झन सबैलाई मोहित बनाएको छ । उनी कुनै समय आफ्नो फुपु दिदीसँग आश्रम जाने अवसर मिलेको र त्यहिबाट आफ्नो अध्यात्म सुरु भएको बताउछिन् ।

आश्रममा गुरुद्वारा धर्म संस्कृतिको महत्वको बारेमा वैज्ञानिक ढंगले प्रस्तुत भएको सुनेर आध्यात्म प्रति उनको आकर्षण बढ्दै गएको उनले सुनाउने गरेकी छिन् । उनले विशेष गरेर अग्रेंजीमा राम कथा सुनाउछिन् । कोटिहोममा भने उनले नेपाली भाषामा राम कथा बाचन गरेकी छिन् ।

धेरै देशमा आफूले यात्रा गर्दा नेपालको जस्तो महान संस्कार संस्कृति कहीँ रहेछन् भन्ने आफूले अनुभव गरेको उनले सुनाइन्। हामी नेपाली सँगै खान्छौं, सँगै हिँड्छौं । तर, विदेशमा सँगैको छिमेकीसँग पनि नबोल्ने कारणले धेरैमा तनाव र एन्जाइटी भएको उनको भनाइ छ ।

अनुराधा पाण्डे जसले जितिन सानै उमेरमा लाखौंको मन

सानै उमेर अर्थात ९ वर्षको उमेरमा अनुराधा पाण्डेले आफ्नो प्रतिभा देखाएकी छिन् । उनले संस्कृत, हिन्दिलगायतका भाषामा प्रस्तुति दिदै आएकी छिन् । सानै उमेरमा निकै आत्मविश्वास ढंगमा उनले वाचन गरेका कथा सुनिरहुँ झै लाग्ने गरि उनले प्रस्तुति दिएकी छिन् । आफू उमेरमा सानै भएको र धेरै ज्ञान नभए पनि भगवानको कृपा रहेको बताउछिन् ।

त्यसैगरी गुरुजनहरूको शिक्षा र ममतामही आमा बाबाहरूको आशीर्वादबाट जे प्राप्त गरेको छु, त्यही प्रस्तुत गर्छु भन्दै उनले बीचबीचमा संस्कृतका श्लोकहरू पस्कँदै कथा वाचन गरेकी थिइन् ।

विरोधिको निशानामा वाचिकाहरु

कथा वाचनका क्रममा वाचिकाहरु विरोधिका निशाना बनेका छन् ।

देवि प्रतिभा पराजुली र राधिका दासीका कथा श्रवणमा जति पनि मोहित भए तर विरोधि पनि त्यतिकै मात्रामा देखिए ।
उनीहरुको कथा वाचनमा भन्दा पनि उनीहरुको व्यक्तिगत विषयमा लिएर उनीहरुलाई सामाजिक सञ्जालमा ट्रोल नै बनाइयो । देवि प्रतिभा आफ्ना अघिपछि हिँड्ने बाउन्सरहरुका कारण विवादित ल्याउन खोजियो ।

धेरैले कथा प्रवचन गर्नेहरुलाई त्यति धेरै सुरक्षा किन चाहियो ? भन्ने प्रश्न गरे । नेपाललाई माया गर्ने नै थिए भने यतिन्जेल कहाँ थिइन् जस्ता प्रश्नको सिकार बनाइए । तर, कतिपयले भने यसलाई नारी अघि बढेको देख्न नसक्ने समाजको टिप्प्णीका रुपमा अथ्र्याएका छन् । त्यसमाथि उनले लिने पारिश्रमिकबारे चर्चा भइरहँदा आफूले लाखौं पारिश्रमिक लियो भन्नेहरुलाई उनले सार्वजनिक मञ्चमै अधर्मी भनेकी छिन् ।

प्रतिभाको डिभोर्सबारेको प्रवचन चर्चामा छ । उनले स्त्री पतिव्रता हुनुपर्ने र सम्बन्ध विच्छेद पाप हुने भन्दै दिएको अभिव्यक्ति विवादमा तानिएको छ । केही वर्षअघि मात्रै राधिका दासी आफैँले मानसिक समस्या भएका पुरुषसँग आफ्नो विवाह गराइदिएपछि डिभोर्स गरेको र मुक्ति पाएको बताएकी थिइन् । आफूमाथि अत्याचार सहन नहुने दासीको भनाइ छ ।
त्यस्तै अर्की वाचिका चन्द्रकला सखीपनि दुष्टहरुको ट्रोलको शिकार भइन् । उनले कथा वाचानका क्रममा गोरुले मयुरको भोजन गर्छ भनेपछि उनी ट्रोलको सिकार बनेकी हुन् । तर, उनले आफ्नो क्रुटी स्वीकार गरेपछि पनि उनलाई ट्रोल बनाउन छोडेका छैनन् ।

कतिपयले यस्ता विवाद निकालेर हिन्दुहरुमाथि प्रहार गरेको टिप्पणी गरेका छन् भने कतिपयले क्रिस्चियनहरुले हिन्दुहरुलाई भ्रम फैलाएर आफ्नो संख्या बढाउन उक्त विवाद ल्याईएको रुपमा अर्थाएका छन् ।

प्रकाशित मिति:August 5, 2024