प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काल स्थगन गर्ने सर्वोच्चको आदेश

  Sampatti News 2024

August 22, 2024

काठमाडौं । सर्वोच्च अदालतले प्रहरीको ३० वर्षे विवादमा अन्तरिम आदेश जारी गरेको छ।

प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्काल स्थगन गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । आज न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै यस्तो आदेश दिएको हो ।

प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण कतिपय व्यक्तिहरू ५०–५१ वर्षमै अवकाशमा जानुपर्ने र ती तहका प्रहरी कर्मचारी उत्पादन गर्नसमेत राज्यलाई लाखौँ खर्च हुने भन्दै ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै एसएसपी जीवनकुमार श्रेष्ठ लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सो रिटमाथि अन्तरिम आदेश जारी गर्दै न्यायाधीश फुयाँलको इजलासले निजामती सेवामा ३० वर्षे सेवा अवधि हटे पनि प्रहरी सेवामा किन नहटाइएको हो, सो को जवाफ १५ दिनभित्र पेस गर्न र अवकाशमा जाने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको हो ।

साथै उक्त रिटमाथि छिटो सुनुवाइ हुनुपर्ने भएकाले रिटलाई अग्राधिकार समेत दिई आगामी असोज १० गतेका लागि पूर्ण सुनुवाइमा पेस गर्न आदेश दिइएको छ ।

प्रकाशित मिति:August 22, 2024