काठमाडौंका प्रजिअ आचार्यको आज पदबहाली

  Sampatti News 2024

September 11, 2024

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा नियुक्त भएका नयाँ प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आज पदबहाली गरेका छन् ।

चौध महिना प्रजिअको कुशलता पुर्वक जिम्मेवारी निर्वाह गरेका यस अघिका जितेन्द्र बस्नेतको विदाई र नयाँ प्रजिअ जयनारायण आचार्यको स्वागतसहितको पदबहाली भएको हो ।

प्रजिअ आचार्यले पद बहाली गर्दै काठमाडौंको शान्ति सुरक्षाको सन्दर्भमा सबै पक्षको सल्लाह र सहयोगले मात्र सम्भव रहेको बताएका छन् । उनले आफू सबैसँग हातेमालो गरेर अगाडि बढ्ने समेत बताए ।

उनले शान्ति सुरक्षा सुदृढ बनाउने, सुशासन कायम गर्ने र सेवा प्रवाह प्रभावकारी बनाउने विषय आफ्नो उच्च प्राथमिकतमा रहेकोसमेत बताएका छन् । सो कार्यक्रममा निवर्तमान प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वार्षिक प्रगति प्रतिवेदन र हयाण्डओभर नोट नयाँ प्रजिअ आचार्यलाई हस्तान्तरण गरेका छन् ।

कुशल प्रशासक हुन काठमाडौंका नयाँ सिडिओ आचार्य

काठमाडौं जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य एक कुशल प्रशासका रुपमा परिचिति छन् । उनी २०५९ सालमा निजामती सेवामा प्रवेश गरेका हुन् । उनको पहिलो पोष्टिङ सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा रामेछापमा भएको थियो । उनी त्यहाँ कार्यरत रहदा देखिनै कुशल प्रशासकका रुपमा चिनिदै आएका छन् ।

उनी २०६६ सालमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएका थिए । २०६८ सालमा खुला प्रतिस्पर्धाबाट उपसचिव बनेपछि आचार्यले आफ्नो कार्यकुशलता अझै फराकिलो बनाउदै आफुलाई परिचति गराउदै आएका छन् ।

उनी उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया गए, जहाँ सउल नेशनल युनिभर्सिटीबाट गोल्ड मेडल हासिल गरे नेपाल फर्किए । अध्ययनपछि नेपाल फर्केर उनले फेरि प्रधानमन्त्री कार्यालयमा नै उपसचिवको रुपमा खटिएका थिए ।

उनी राष्ट्रिय योजना आयोगमा २०७१ सालमा सहसचिव बनेर पोष्टिङ भए । त्यसपछि उनी पर्यटन विभागका महानिर्देशक, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा काम गर्दै प्रशासनिक जिम्मेवारी सम्हाल्दै अघि बढे ।

आचार्य पहिलो पटक दाङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा २०७६ सालमा पोष्टिङ भए । दाङपछि सप्तरी, कास्की र ललितपुरमा प्रमुख जिल्ला अधिकारीका रूपमा आफ्नो प्रशासनिक अब्बलता कायम गरेका व्यक्तित्व हुन् ।

२०७९ मा ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए । जतिबेला कर्णालीकै सहसचिवत्रयहरुले सम्हालेका थिए उपत्यका प्रशासनको कमाण्ड ।

गृहकै क्याडरका रुपमा परिचित आचार्य जिल्ला प्रशासन काठमाडौंमा आउदा उनको सेवा प्रवाहमा चुस्तता आउने विश्वास छ ।

नागरिक र राज्य बीचको दुरी घटाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र प्रशासनिक कार्यालयहरूको पारदर्शितालाई बढावा दिने काममा विशेष जोड दिने आचार्य नागरिकको सहज पहुँच सुनिश्चित गर्न आफ्नो कार्यकक्षको ढोका सधैँ खुला राख्ने परम्परा बसाल्ने प्रशासकका रुपमासमेत चिनिन्छन् ।

आफूमा भएको इच्छाशक्ति र निष्पक्ष लोक सेवा आयोगकै कारण आफू आज यो अवस्थासम्म आईपुगेको उनले बताउने गरेका छन् । उनले भन्ने गरेका छन् – म मेरो कार्यकक्षमा कहिले पनि ढोका लगाउदिन । सधैँ ढोका खुल्ला राख्छु, ताकि कुनै पनि सेवाग्राही केही पनि कामले आउँदा रोकिन नपरोस् ।

सादा जीवन उच्च बिचारका धनी प्रजिअ आचार्य चाडपर्व नजिकै आइरहेको बेलामा जिम्मेवारी समाल्ने अवसर प्राप्त भएकाले पहिलो प्राथमिकतामा कालाबजारीलाई नियन्त्रण गराउन भुमिका खेल्नुपर्ने हुन्छ जिप्रकाका एक कर्मचारीले सम्पत्ति न्यूजलाई बताए ।

प्रकाशित मिति:September 11, 2024