ठूलो संख्या राष्ट्रसेवक कर्मचारी भ्रष्टाचारी

  Sampatti News 2024

September 16, 2024

काठमाडौं । ठूलो संख्यामा राष्ट्रसेवक कर्मचारी भ्रष्टाचारी भएको तथ्याङ्क सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा दायर गरेका भ्रष्टाचार मुद्दाको प्रतिवादीमा सबैभन्दा ठूलो संख्या राष्ट्रसेवक कर्मचारीको रहेको जनाएको तथ्याङ्क सार्वजनिक भएको हो ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन बुझाउने क्रममा अख्तियारले तथ्याङ्क सार्वजनिक गर्दै पछिल्लो समय भ्रष्टाचार गर्ने कर्मचारीको संख्या बढेको जनाएको हो ।

अख्तियारका अनुसार, गत आर्थिक वर्ष २०८०/८१ मा कुल २०१ भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । दायर गरिएको मुद्दामा कुल एक हजार ५४५ जनालाई प्रतिवादी बनाइएको थियो । प्रतिवादीमध्ये राष्ट्रसेवक कर्मचारीको संख्या ५२० रहेको अख्तियारले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै कर्मचारी पछि ठूलो संख्यामा निर्वाचित जनप्रतिनिधि भ्रष्टाचारमा संलग्न भएको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार २५४ जनप्रतिनिधि तथा मनोनीत पदाधिकारीलाई प्रतिवादी बनाइएको छ । गत आर्थिक वर्ष दायर गरिएका मुद्दामा प्रतिवादी बनाइएकामा १०६ जना निर्वाचित जनप्रतिनिधि र १४८ मनोनीत पदाधिकारी रहेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार कुल एक हजार ५४५ प्रतिवादीहरूमध्ये राष्ट्रसेवक कर्मचारी ५२०, निर्वाचित जनप्रतिनिधिहरू १०६, मनोनीत पदाधिकारी १४८, राजनीति नियुक्ति ३२, लेखापढी व्यवसायी, बिचौलिया, संघसंस्था र अन्य व्यक्तिहरू ७३९ रहेका छन् । प्रतिवादी ५२० राष्ट्रसेवक कर्मचारीमा विशिष्ट श्रेणीका ६, सहसचिव वा सोसरहका ३०, उपसचिव र सीडीओ वा सो सरहका ८२, शाखा अधिकृत र इन्जिनियर वा सो सरहका २०२ र सहायक स्तरका २०० जना भ्रष्टाचारमा संलग्न गरेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।

यो तथ्याङ्क हेर्दा नेपालको निजामति र राजनीति कोमामा पुगेको विश्लेषण हुन थालेको छ ।

एक वर्षमा २६ हजार ९ सय १८ मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगल आर्थिक वर्ष २०८०/०८१ मा २६ हजार ९ सय १८ वटा भ्रष्टचार सम्बन्धि मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ उजुरीहरूसमेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३६ हजार १८६ रहेको जानकारी दिए । उनले यस अवधिमा कुल ३६ हजार १ सय ८६ उजुरीमध्ये २७ हजार ७१४ अर्थात् ७६.५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्राथमिक छानबिनबाट फछ्र्यौट भएको बताए ।

उनले फछ्र्यौट गरेका उजुरीहरूमध्ये आयोगको क्षेत्राधिकारभित्र नपरेका गोलमटोल प्रकृतिका भइरहने वा दुःख दिने नियतका र कुनै तथ्य प्रमाणबिनाका सामान्य प्रकृतिका १३ हजार ५०३ वटा उजुरीहरू तामेली गरिएको बताए ।

उनले फछ्र्यौट भएकामध्ये १ हजार १३३ वटा उजुरीहरू उपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको, १३१ उजुरीउपर सुझाव दिई तामेली गरिएको र १२ हजार ७८६ उजुरी उपर कानून बमोजिम अन्य आवश्यक कारबाही गरिएको जानकारी दिए । उनले प्रारम्भिक छानबिनको क्रममा रही फछ्र्यौट हुन बाँकी रहेका ८ हजार ४७२ उजुरीहरू आर्थिक वर्ष २०८१/०८२ मा सरेको बताए ।

प्रकाशित मिति:September 16, 2024