मूल्यभन्दा बढीमा सामान बिक्री गरे महानगरले कारबाही गर्ने

  Sampatti News 2024

September 25, 2024

काठमाडौं । काठमाडौं महानगरपालिकामा सञ्चालित खुद्रा तथा थोक बिक्रीस्थल (पसल)ले मूल्यसूची अनिवार्य रुपमा राख्नुपर्ने भएको छ।

काठमाडौं महानगरपालिकाले आज एक सूचना जारी गर्दै पसलहरुलाई मूल्यसूची अनिवार्य रुपमा राख्न निर्देशन दिएको हो। मूल्यसूची बनाएर पसलको अग्रभागमा देख्ने गरी राख्न महानगरले निर्देशन दिएको छ।

यस्तै, खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि महानगरले आग्रह गरेको छ । अनुगमनका क्रममा आग्रह विपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी महानगरले दिएको छ । 

यस्तैगरी, स्वच्छ, गुणस्तर तथा सुपथ सामान प्राप्त गर्न सबै उपभोक्ताहरूलाई जाँचेर मात्र सामान, वस्तु तथा सेवा खरिद गर्न महानगरले अनुरोध गरेको छ । बस्तु खरिदमा कुनै समस्या परेमा वा उजुरीको लागि ११८० मा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ ।

प्रकाशित मिति:September 25, 2024