परराष्ट्रमा थपियो एक सयभन्दा बढी कर्मचारीको दरबन्दी

  Sampatti News 2024

October 18, 2024

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालय र उसका निकायमा १०७ जना कर्मचारीको स्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ । गत असोज २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

उक्त निर्णय अनुसार, लोक सेवा आयोगले रिक्त दरबन्दी परिपूर्ति गर्न असोज ३० गते सूचना समेत प्रकाशित गरिसकेको छ । “२०७२ सालदेखि परराष्ट्रमा अर्गनाईजेसन एण्ड म्यानेजमेन्ट (ओएण्डएम) सर्वेक्षण हुन सकेको थिएन । जसका कारण दरबन्दी थप गर्न सकिएको थिएन,” राईले बाह्रखरीसँग भने, “ओएण्डएमको रिपोर्ट आएपछि दरबन्दी थप गर्ने निर्णय भएको हो ।

यसले परराष्ट्रलाई थप सक्षम बनाउने विश्वास हामीले लिएका छौं ।” परराष्ट्रमा थपिएका दरबन्दीमा एक जना राजदूत, ११ सहसचिव, ३३ जना उपसचिव, ५ जना कम्प्युटर इन्जिनियर, ६२ जना शाखा अधिकृत, ४ जना नायव सुब्बा र १० जना सवारी चालक छन् ।

दरबन्दी थप गर्दा राज्यलाई वार्षिक ७४–७५ करोड रुपैयाँ ब्ययभार थपिने जानकारी उनले दिए । चालु आर्थिक वर्ष परराष्ट्र मन्त्रालयको बजेट साढे ५ अर्ब छ । परराष्ट्रअन्तर्गत हाल राहदानी विभाग, कन्सुलर सेवा विभाग छन् । यस्तै विदेशमा ३० वटा दूतावास, ३ वटा स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास गरी ४० वटा नियोग परराष्ट्र मातहतमा छन् ।

पोर्चुगलमा यसै वर्ष दूतावास स्थापना गरेपछि नेपाली नियोगको कुल संख्या ४१ हुनेछ । दक्षिण एसिया, दक्षिणपूर्वी एसिया तथा प्यासेफिक, उत्तरपूर्वी एसिया, पश्चिम एसिया तथा अफ्रिका, सामान्य प्रशासन, युरोप अमेरिका, क्षेत्रीय संगठन, नीति तथा योजना, यूएन, अन्तर्राष्ट्रिय संगठन तथा अन्तर्राष्ट्रि कानून र शिष्टाचार महाशाखा छन् ।

नयाँ दरबन्दी थपिएसँगै परराष्ट्रले अब सार्वजनिक कूटनीति महाशाखा, डायस्पोरा महाशाखा र अन्तर्राष्ट्रिय कानुन महाशाखा थप गर्ने भएको छ । यस्तै युरोप, अमेरिका महाशाखालाई टुक्राएर युरोप महाशाखा र उत्तर तथा दक्षिण अमेरिका दुई वटा महाशाखा बनाउने प्रवक्ता राईले बताए । यस्तै दुई देशका तीन स्थानमा महावाणिज्य दूतावास खोल्ने तयारी पनि भइरहेको उनले जनाए ।

“अमेरिकाको टेक्सास र लस एन्जलस र युनाइटेड अरब इमिरेट्स (यूएई)को दुवईमा महाबाणिज्य दूतावास खोल्ने तयारीमा हामी छौं,” प्रवक्ता राईले भने । थप गर्न लागिएका तीन वटा महावाणिज्य दूतावासमा महावाणिज्यदूतको रुपमा परराष्ट्रकै सहसचिव पठाउने उनले जनाए । दरबन्दी थपिएका सहसचिवमध्ये तीन जनाको यिनै तीन वटा महाबाणिज्य दूतावासमा पोष्टिङ हुनेछ ।

सरकारले केही महिनाअघि पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेको थियो । उक्त दूतावासमा एक जना राजदूत, एक जना उपसचिव, एक जना अधिकृत र एक जना नासुको दरबन्दी तोकिएको छ । “धेरै देशमा ठूलो संख्यामा नेपाली पुगेका छन् । उनीहरूलाई सहज रुपमा सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो । यसैका लागि विदेशस्थित नेपाली नियोगहरूमा दरबन्दी थप गर्नु परेको हो,” परराष्ट्र प्रवक्ता राईले भने ।

परराष्ट्र मन्त्रालयअन्तर्गत हाल विदेशमा सञ्चालनमा रहेका ४० वटा नियोगमा कम्तीमा २५३ जना लोकल स्टाफ कार्यरत छन् । विदेशस्थित नियोगमा २३८ वटा स्थानीय कर्मचारीको दरबन्दी थियो । दरबन्दीभन्दा बढी लोकल स्टाफ राखिएको छ ।

दरबन्दी थप हुनुअघि पराष्ट्र मन्त्रालय र अन्तर्गतका निकाय तथा नियोगमा कुल ३२५ स्थायी दरबन्दी थियो । यो कूटनीतिक कर्मचारीको संख्या मात्र हो । यसमा स्थानीय कर्मचारी जोडिएको छैन । थप गरिएका दरबन्दी समेत जोड्दा अब परराष्ट्रअन्तर्गत करिब साढे चार सय स्थायी दरबन्दी हुनेछन् ।

हाल कायम स्थायी दरबन्दी अनुसार परराष्ट्र मन्त्रालयमा ९०, राहदानी विभागमा ४६, कसुन्लर सेवा विभागमा १३, वीरगन्जस्थित लियाजो अफिसमा २, सात वटा प्रदेश प्रमुखको कार्यालयमा एक÷एक जना गरी ७ जना, प्रधानमन्त्री कार्यलयमा एक जना र राष्ट्रपति कार्यलयमा दुई जना कूटनीतिक कर्मचारी रहने व्यवस्था छ ।

यस्तै, विदेशमा रहेका ४० वटा नेपाली नियोगमा १६४ स्थायी दरबन्दी छ । परराष्ट्र मन्त्रालयअन्तर्गत नेपालभित्र १६१ र विदेशस्थित नियोगमा १६४ स्थायी दरबन्दी छ । दरबन्दी थप गरिएसँगै अब यो संख्या बढ्ने छ ।

प्रकाशित मिति:October 18, 2024