November 16, 2024
काठमाण्डू, करिब पाँच वर्षदेखिको प्रयासले अन्तिम सार्थकता पाउँदै नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश पुगेको छ ।
प्रतियुनिट ६।५ सेन्ट अमेरिकी डलर मूल्यमा बिक्री हुने गरी नेपालको बिजुली भारतीय प्रसारण ग्रिडमार्फत पहिलो पटक शुक्रबार बङ्गलादेश पुर्याइएको हो ।
शुक्रबार नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहम्मद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रूपमा स्विच अन गरी विद्युत् निर्यातको शुभारम्भ गरेका थिए ।
नेपाल र भारतबिच मात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत् तेस्रो देशमा विस्तार भएको छ ।
नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बङ्गलादेशसम्म पुगेको छ । नेपाल र भारतबिचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्ने छ ।
त्यहाँबाट भारतको प्रसारण लाइनमार्फत भारत–बङ्गलादेशबिचको बहरामपुर (भारत)– भेरमारा (बङ्गलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बङ्गलादेश विद्युत् पुग्ने छ ।
ऐतिहासिक उपलब्धि : भारत
त्रिदेशीय विद्युत् व्यापार सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश पुगेकामा भारतले पनि औपचारिक रूपमा यसलाई ऐतिहासिक उपलब्धि भनेको छ ।
सम्झौतालगत्तै भारतको विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै भारतीय ग्रिडमार्फत नेपालको विद्युत् बङ्गलादेश पुग्नुले उपक्षेत्रीय अन्तरआबद्धता विस्तार हुँदै गरेको टिप्पणी गरेको छ ।
नेपाल भारत बङ्गलादेश त्रिदेशीय उक्त उपलब्धि हासिल हुनुमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको भूमिकालाई भारतले स्मरणीय मानेको छ ।
“सन् २०२३ मे ३१ देखि जुन ३ सम्मको भएको दाहालको भ्रमणका क्रममा भारतले नेपाल बङ्गलादेश विद्युत् व्यापारलाई प्रवर्धन गर्ने निर्णय लिएको थियो”, विज्ञप्तिमा भनिएको छ, “त्यही निर्णय स्वरूप नै नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण ग्रिड प्रयोग गरी बङ्गलादेश लैजानका लागि नेपाल विद्युत् प्राधिकरण, एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) भारत र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बिच अक्टोबर ३, २०२४ मा त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो ।”
२८ हजार डलर आम्दानी
नेपालबाट भारत हुँदै बङ्गलादेशतर्फ विद्युत् निर्यात मध्याह्न साढे १२ बजेबाट सुरु भएको हो । यस वर्ष ९सन् २०२४० को वर्षायाममा विद्युत् निर्यात शुक्रबार राति १२ बजेसम्म मात्र हुने छ ।
त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बङ्गलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुने छ ।
प्राधिकरणले शुक्रबार साढे ११ घण्टा बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात गर्दा २८ हजार १६० डलर (३७ लाख ९३ हजार ४३३ रुपियाँ) पाउने छ ।
बङ्गलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दूमा पाउने छ ।
ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्ने छ ।
मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बङ्गलादेशले नै बेहोर्ने छ ।
त्रिपक्षीय विद्युत् बिक्री सम्झौतापछि प्राधिकरणले गत २३ असोजमा बङ्गलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएको थियो ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले बिहीबार स्वीकृति दिएपछि शुक्रबारबाट विद्युत् निर्यात सुरु गरिएको हो ।
भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत् बङ्गलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो ।
केन्द्रीय विद्युत् प्राधिकरणले दुई आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बङ्गलादेश निर्यात स्वीकृति दिएको हो । यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनासमेत हुन् ।
नेपाल विद्युत् प्राधिकरणले वर्षायामको छ महिना अर्थात् हरेक वर्षको जुन १५– नोभेम्बर १५ सम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बङ्गलादेशलाई बिक्री गर्ने छ ।
नेपाल–बङ्गलादेशबिच विद्युत् व्यापार डलरमा हुने छ । प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट पाउँछ ।
नेपालले विद्युत् बिक्रीबाट पहिलो पटक डलरमा आम्दानी गर्न लागेको हो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपियाँमा हुँदै आएको छ ।
ऐतिहासिक कोसेढुङ्गा
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोसेढुङ्गा भएको बताए ।
बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा ऊर्जामन्त्री खड्काले नेपालबाट बङ्गलादेश पहिलो पटक विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोसेढुङ्गा भएको बताएका हुन् ।
“यो कोसेढुङ्गा दक्षिण एसियामा दिगो र अन्तरसम्बन्धित ऊर्जा भविष्यका लागि साझा दृष्टिकोणको प्रतिविम्ब हो,” मन्त्री खड्काले भने ।
प्रकाशित मिति:November 16, 2024
November 16, 2024