December 12, 2024
कालीकोट, कालीकोटको रास्कोटमा अस्पताल बनाउन देश–विदेशबाट आएको चन्दा र सरकारी अनुदान गरी ११ करोड लगानी भएको दाबी गरेको रवि लामिछाने फाउन्डेसनले खर्च विवरण लुकाएको छ ।
रास्कोट नगरपालिकाले पटक–पटक ताकेता गरेको छ । तर, अस्पताल हस्तान्तरण गरेको ४ वर्षसम्म पनि फाउन्डेसनले खर्च विवरण दिएको छैन ।
रास्कोटमा अस्पताल बनाउन भन्दै आफ्नै नाममा गैरनाफामूलक कम्पनी खोलेका लामिछानेले आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेर रकम जम्मा गरेका थिए ।
अस्पताल निर्माण सम्पन्न गरी २०७७ चैतमा नगरपालिकालाई हस्तान्तरण गरेका उनले ऋण लागेको भन्दै २०७८ मा ‘लबिइङ’ गरेर तीन तहका सरकारबाट ५ करोड ५२ लाख रुपैयाँ अनुदान पनि लिएका थिए ।
यसका लागि संघीय सरकारले अन्तर्राष्ट्रिय मुद्राकोष ९आईएमएफ० बाट आएको विशेष ऋण ९ईसीएफ० बाट ४ करोड ९० लाख दिएको थियो भने कर्णाली सरकारबाट ३२ लाख र रास्कोट नगरपालिकाबाट ३० लाख पनि फाउन्डेसनले प्राप्त गरेको थियो ।
तर, प्रदेश र स्थानीय तहको अनुदानबारे फाउन्डेसनले कहीँकतै उल्लेख नगरेको देखेपछि नगरपालिकाले पत्र काटेको थियो ।
लामिछानेले आफ्नै नाममा खोलेको फाउन्डेसनबाट पत्नी निकिताको खातामा रकम सारेको पनि भेटिएको छ ।
प्राइम बैंकमा रहेको फाउन्डेसनको खाताबाट कम्तीमा दुई पटक गरी ४० लाख सिद्धार्थ बैंकमा रहेको निकिताको व्यक्तिगत खातामा सारिएको पुष्टि हुने बैंक स्टेटमेन्ट कान्तिपुरले बुधबार प्रकाशित गरिसकेको छ ।
नगर प्रमुख धर्मराज शाहीले अस्पताल निर्माणमा अनियमितता भएको प्रश्न उठेपछि खर्च विवरण माग गर्दै पत्राचार गरिएको तर त्यसको उत्तर नपाएको बताए ।
अस्पताल निर्माणमा नगरपालिकाको ३० लाख बराबरको योगदान छ, कर्णाली सरकारले समेत ३२ लाख दिएको छ । तर यी दुवै रकमबारे फाउन्डेसनले कहीँकतै उल्लेख गरेको छैन,’ उनले भने ।
अस्पताल हस्तान्तरण गर्ने क्रममा नै आम्दानी र खर्चबारे सार्वजनिक सुनुवाइ गर्न माग गर्दा लामिछानेले अस्वीकार गरेको तत्कालीन मेयर काशीचन्द्र बरालको भनाइ छ ।
रवि लामिछानेले आफ्नो घर–खेत बेचेर अस्पताल बनाइदिएजस्तो प्रचार गरेको तर सर्वसाधारण र सरकारले दिएको रकमको विवरण लुकाएको भन्दै उनले आपत्ति जनाए ।
‘यसमा स्थानीय समुदाय, सरकार, देशरविदेशका दाताको योगदान छ । अस्पताल नगरपालिकालाई हस्तान्तरण गर्दा सार्वजनिक स्नुवाइसमेत गरिएन,’ उनले भने, ‘रास्कोट अस्पतालका नाममा भएको आम्दानी र खर्चको विवरण पारदर्शी हुनुपर्छ ।’
त्यसपछि स्थानीय प्रतिनिधिहरूले लामिछानेसँग यस विषयमा पटक–पटक चासो राखेका थिए ।
तर, सुनुवाइ नभएपछि रास्कोट नगरपालिकाले २०८० पुस १८ मा निर्णय गरेर आम्दानी र खर्चको विवरण उपलब्ध गराउन फाउन्डेसनलाई पत्र लेखेको थियो ।
‘रास्कोट कम्युनिटी हस्पिटलका नाममा रवि लामिछाने फाउन्डेसनले विभिन्न निकायबाट सहयोग उठाई सञ्चालन गरेको रास्कोट कम्युनिटी हस्पिटलको स्थापनाकालदेखि रास्कोट नगरपालिकालाई हस्तान्तण हुँदासम्मको आय–व्यय विवरण रास्कोट अस्पतालमा समेत नभएकाले, सोधपुछ गर्दा फाउन्डेसनसँग भएको जानकारी हुन आएकाले सो अवधिभित्र भएको आम्दानी र खर्चको वास्तविक विवरण उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ,’ पत्रमा उल्लेख छ । कार्यपालिकाको बैठकबाटै निर्णय गरेर अस्पतालको सम्पूर्ण हिसाब माग गर्दासमेत उत्तर नआउनु विडम्बनापूर्ण रहेको नगर उपप्रमुख मनिराज बरालले बताए ।
अस्पताल व्यवस्थापक कौशल न्यौपानेले रास्कोट अस्पताल निर्माण र दाताले गरेको सहयोगबारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘सबै रकम फाउन्डेसनकै खातामा जम्मा भएको हो । कहाँ केमा कति खर्च भयो, उतै सोध्नुहोला ।’
स्थानीय अगुवा तुलाराज सिम्खडाको अध्यक्षतामा रहेको नाफारहित संस्थाका रूपमा रास्कोट कम्युनिटी हस्पिटल दर्ता गरिएको थियो । सिम्खडाले पनि अस्पताल निर्माणमा भएको खर्चबारे प्रस्ट बताउन सकेनन् । ‘
रवि लामिछाने फाउन्डेसनमै सोध्नू । सबै हिसाब किताब रवि लामिछानेलाई नै थाहा होला,’ उनले भने ।
रास्कोट–४ का वडाध्यक्ष दिनेश सन्ज्यालका अनुसार गौतुकोटको पाखो बाहुन स्युनाका बासिन्दाले भोगचलन गर्दै आएको सामुदायिक वनको करिब १० हजार वर्गमिटर क्षेत्रफल अस्पतालका नाममा उपलब्ध गराइएको थियो ।
त्यस्तै स्थानीय ५ जनाले ५ हजार ५ सय वर्गमिटर जग्गा अस्पताललाई दिएका थिए । ‘जग्गा धेरै भएर होइन, गाउँमै रोगी–बिरामीले उपचार पाउलान् भनेर दिएका हौं ।
धेरैतिरबाट पैसा उठाएर सही रूपमा लगानी नगरेको सुन्दा दुःख लागेको छ,’ स्थानीय चन्द्रखर सन्ज्यालले भने ।
अस्पताल निर्माणमा रकमको सही उपयोग नभएको रास्कोट–३ का सामाजिक अभियन्ता अशोकनाथ योगीले बताए ।
‘मेरै घरछेउमा अस्पताल बनेको छ,’ उनले भने, ‘स्थानीयदेखि राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका व्यक्तिबाट रकम लिइएको छ, तर के काममा कति रकम खर्च भयो भन्ने कतै उल्लेख छैन ।’
कुन स्रोतबाट कसले, कसरी, कति सहयोग गरे भनेर अस्पतालमा हिसाबकिताबको बोर्ड राखिनुपर्ने उनले बताए । ‘अस्पतालका लागि आएको रकम दुरुपयोग भएको छैन भन्ने कुनै आधार छैन,’ उनले भने ।
लामिछानेले आफ्नै नाममा स्थापना गरेको फाउन्डेसन गैरनाफामूलक संस्थाका रूपमा २०७५ पुस १६ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरिएको थियो ।
त्यसको ११ दिनपछि अर्थात् २०७५ पुस २७ मा उनले कालीकोटको रास्कोटमा अस्पताल बनाउने घोषणा गर्दै देशरविदेशबाट सहयोगको अपिल गरेका थिए ।
सामाजिक परियोजनाका लागि दाताबाट आर्थिक सहयोग संकलन गर्दा फाउन्डेसनले समाज कल्याण परिषद्बाट प्रमाणपत्र पाएकै थिएन ।
२०७५ चैत ७ मा मात्रै फाउन्डेसनले समाज कल्याणबाट प्रमाणपत्र पाएको हो ।
त्यतिबेला लामिछानेले अस्पताल निर्माणको अनुमानित लागत ८ करोड ७१ लाख ५८ हजार १ सय ५५ रुपैयाँ ३२ पैसा रहेको घोषणा गरेका थिए । करिब त्यति नै रकम उनले विभिन्न व्यक्ति तथा संस्थाबाट संकलन गरेका थिए ।
देश–विदेशका संघसंस्था र नागरिकस्तरबाट मात्रै नभएर सरकारबाट समेत ठूलो रकम खन्याएर बनाइएको रास्कोट अस्पतालको भविष्यबारे स्थानीय नै शंका गर्छन् ।
नगरको ३ किमि क्षेत्रफलभित्रै स्युना स्वास्थ्य चौकी छ । आरसीपी बजारमै १५ शय्याको नगर अस्पताल बनिरहेको छ ।
त्यहाँ १८ करोड रुपैयाँ लागतमा साढे तीनतले पक्की भवन बन्दै गरेको हो । रास्कोट अस्पतालमा प्रयोग गरिएको प्रिफ्याब, यूपीभीसी र जस्तापाताको छानाको टिकाउ अवधि १० वर्ष मात्र भएकाले त्यहाँ नगर अस्पताल सञ्चालन नगरेर नयाँ निर्माण गर्नुपरेको नगर उपप्रमुख मनिराज बरालले बताए ।
उनका अनुसार फाउन्डेसनले बनाएको अस्पतालको संरचनासमेत त्यहीं सार्ने तयारी छ ।
कान्तिपुर दैनिकबाट
प्रकाशित मिति:December 12, 2024
December 18, 2024
December 17, 2024