दक्षिण एसियामा सबैभन्दा बढी धान उत्पादन गर्ने देश नेपालको भारतबाट आयत हुने चामलको तथ्यांक हेर्दा टिठ लाग्दो

  Sampatti News

December 21, 2024

काठमाण्डू, नेपालमा ८० लाख टन धानको माग छ । हाल स्वदेशमा वार्षिक ५१ देखि ५५ लाख टन हाराहारीमात्रै धान उत्पादन भइरहेको छ ।

मागअनुसार वार्षिक करिब ३० लाख टन धान अपुग छ । एक सय किलो धानबाट ६० किलो चामल तयार हुन्छ ।

तर, अहिले ३० लाख ६० हजार चामलमात्रै उत्पादन भइरहेको छ । चामलमात्रै साढे १७ लाखदेखि १८ लाख टन अभाव रहेको आंकलन गरिएको छ ।

यस वर्ष धान उत्पादन कम भएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी भएको हो ।

यकिन तथ्याङक सार्वजनिक नभएपनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ ।

मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष धान भित्र्याउने समयमा मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्न सक्ने जानकारी दिए ।

गत असोजमा आएको बाढी तथा डुबानका कारण मधेस प्रदेश तथा वाग्मती प्रदेशलाई सबैभन्दा बढी असर गर्‍यो, पाकेको बाली पनि बगायो, कति स्थानमा काटेको बाली नै पानीको भेलले नष्ट गरायो, उनले भने, मधेस प्रदेशमा ५७ हजार हेक्टर धान खेतमा क्षति भएको छ, वास्तविक क्षतिको विवरण आउन अझै बाँकी छ ।

सिरहा, सप्तरीमा जग्गा कटानी भएको र बालुवा थुप्रिएर धान क्षति भको छ जसले गर्दा दुई प्रतिशतसम्म धान उत्पादनमा ह्रास आउँछ कि भन्ने हाम्रो अनुमान छ ।

राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा.मथुरा यादवले गत असोजमा परेको भारी वर्षाका कारण कोशी, मधेस र वाग्मती प्रदेशमा धान उत्पादनमा असर परेको बताए ।

मौसमसम्बन्धी पूर्वसूचना किसानमा पुग्न सकेमा धान कति बेला काट्न हुने या नहुने विषयमा जानकारी हुन्छ र कम क्षति पुग्छ, उनले भने ।

क्षतिको आकलन गरिँदै

मन्त्रालयले मनसुनजन्य विपद्का कारण धान खेतमा भएको क्षतिसम्बन्धी विस्तृत आकलन निकाल्न आगामी मङ्सिर अन्तिम साता प्रदेशिक गोष्ठी गर्ने भएको छ ।

मन्त्रालयका सूचना अधिकृत जोशीका अनुसार सबै प्रदेशबाट सङ्कलित डाटालाई समेटेर क्षतिको यकिन तथ्यांक निकाल्न गोष्ठी आयोजना गर्न लागिएको छ । गोष्ठीमा सबै प्रदेशकासम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहने उनको भनाइ छ ।

रोपाइँमा मात्रै अनुकूल रह्यो मनसुन

यस वर्ष धान रोपाइँका लागि मात्रै मनसुन अनुकूल रहेको थियो । अधिकांश रोपाइँ आकाशे पानीकै भरमा सम्पन्न हुने गरेकोमा यस वर्ष धेरै पानी पर्दा रोपाइँका लागि मनसुन सुखद् रहेको मन्त्रालयले विश्लेषण गरेको थियो ।

मन्त्रालयको अनुसार ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अघिल्लो वर्ष ९४ दशमलव ६ प्रतिशतमा रोपाइँ सम्पन्न भएकोमा यस वर्ष झण्डै चार प्रतिशत रोपाइँ बढेको थियो ।

मुलुकभर १३ लाख ९८ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७८ हजार छ सय ११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९९ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

कोशी प्रदेशमा करिब दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर रोपाइँ हुने क्षेत्रफल रहेकामा हालसम्म दुई लाख ७५ हजार दुई सय ६७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।

अघिल्लो वर्ष भदौ ७ गतेसम्म कोशी प्रदेशमा ९७ दशमलव सात र मधेस प्रदेशमा ९७ दशमलव तीन प्रतिशतमा रोपाइँ सम्पन्न भएको थियो ।

वाग्मती प्रदेशमा यस वर्ष ९९ दशमलव दुई, गण्डकी प्रदेशमा भने ९७ दशमलव आठ, लुम्बिनी प्रदेशमा ९८ दशमलव तीन, कर्णाली प्रदेशमा यस वर्ष ९९ दशमलव दुई र सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत नै रोपाइँ सम्पन्न भएको थियो ।

गत वर्ष करिब ५७ लाख मेट्रिकटनसम्म धान उत्पादन भएको थियो । यस वर्ष बढी रोपाइँ हुँदा धान उत्पादन सात प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ ।

तर, भित्र्याउने बेलामा खराब मौसमका कारण उल्टो गत वर्षको तुलनामा घट्ने अनुमान गरिएको छ ।

कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले धान भित्र्याउने समयमा मौसम अनुकूल नरहँदा उत्पादनमा ह्रास आउने सम्भावना रहेको बताए ।

यस वर्ष धान रोपाइँ राम्रो भएको थियो, धानका लागि वर्षा पनि राम्रो भयो,ु उनले भने, तसर्थ ७ प्रतिशतसम्म धान उत्पादन बढ्ने अपेक्षा थियो, भित्र्याउने बेलामा मौसम अनुकूलन नहुँदा अब उत्पादन घट्ने भयो ।

यस वर्ष रासायनिक मलको सहज उपलब्धता र किसानका लागि मनसुन सुखद रहेको कारण झण्डै चार प्रतिशतले रोपाइँ बढेको थियो ।

अधिकांश स्थानमा रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको र वर्षा राम्रो भएकाले रोपाइँ समयमा नै सकिएको जोशीले जानकारी दिए ।

अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ समयमा नै हुनेगर्छ, नत्र आकाशे पानीकै भर पर्नुपर्छ, उनले भने, रोपाइँलाई सहज थियो मौसम, अहिले भएन ।

आयात बढ्ने सक्ने

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा रु ८८ करोड ६५ लाख मूल्य बराबरको धानको बीउ आयात भएको छ । यसैगरी, करिब ११ अर्ब ५५ करोड रुपैयाँ मूल्य बराबरको धान आयात भएको छ ।

मन्त्रालयका अनुसार यस अवधिमा आठ अर्ब ६९ करोड रुपैयाँ मूल्य बराबरको चामल आयात भएको छ ।

करिब नौ लाख २० हजार रुपैयाँ मूल्य बराबरको कनिका आयात भएको छ । यस वर्ष धान उत्पादन कम भएसँगै आयात पनि बढ्न सक्ने मन्त्रालयको अनुमान गरिएको छ ।

यस्तो छ, धान उत्पादनको अवस्था

कृषि मन्त्रालयको तथ्यांकअनुसार गतआर्थिक वर्षमा धानको कूल उत्पादन गत आवभन्दा ४ दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिकटन पुगेको थियो ।

जुन विगत चार वर्षको औषत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो ।

कूल धानबाली भित्र्याइएको क्षेत्रफल आव २०७९/८० को तुलनामा शून्य दशमलव ६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको छ ।

यो क्षेत्रफल अघिल्लो चार आवका औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो ।

धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा चार दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन दशमलव ९८ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ ।

जुन गत चार वर्षको औषत उत्पादकत्वभन्दा छ दशमलव ९२ प्रतिशतले बढी हो । गत आवमा धानको उत्पादन कोशी प्रदेशमा उच्च रहेको छ भने कर्णाली प्रदेशमा न्यून रहेको छ ।

गत आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश चार दशमलव ४३ मेट्रिकटन प्रतिहेक्टरसहित अग्रस्थानमा रहन गर्‍यो भने मधेस प्रदेश तीन दशमलव ४९ मेट्रिकटन प्रतिहेक्टर मेट्रिकटनमा सीमित भई न्यून स्थानमा रहन पुग्यो ।

मुख्य धानको तुलनामा विगतका आवमा जस्तै चैते धानको उत्पादकत्व उच्च कायम रहेको छ ।

गत आवमा धान उत्पादन वृद्धि हुनुमा बीउको उपलब्धता र प्रयोग रोग कीराको प्रकोपमा कमी बाढीपहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई लिइएको छ ।

मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएका कारणले समग्र मधेस प्रदेशको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको छ ।

जनकपुर, कात्तिक २८ गते । मधेश प्रदेशमा यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।

मधेशभरिका आठ वटै जिल्लाका गरी गत वर्षको तुलामा यस वर्ष कूल दुई लाख पाँच हजार २५१ मेट्रिक टन बढी धान उत्पादन हुने जनाएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा १२ लाख ९६ हजार ६०७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

चालू आर्थिक वर्ष २०८१/८२ मा १५ लाख दुई हजार ४५८ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले जानकारी दिए ।

गत वर्षभन्दा चालू वर्षमा बढी हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको तुलनामा चालू वर्षमा पाँच हजार २६४ दशमलव पाँच हेक्टर क्षेत्रफल बढीमा धानबाली लगाएको उनले जानकारी दिए ।

आर्थिक वर्ष ०८०/८१ मा तीन लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा धानबाली लगाएको थियो भने चालू आर्थिक वर्षमा तीन लाख ७५ हजार ६१४ दशमलव पाँच हेक्टर क्षेत्रफलमा धान रोपेको उनको भनाइ छ ।

धानबाली लगाएको क्षेत्रफल र उत्पादन हुने अनुमान गरिएको आधारमा चालू वर्षमा ०.५ (शून्य दशमलव पाँच) मेट्रिक टन प्रतिहेक्टर धान उत्पादनमा वृद्धि हुने देखिएको छ ।

गत वर्ष तीन दशमलव ५० मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो भने यस वर्ष प्रति हेक्टर चार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

धानबाली रोपेको क्षेत्रफलको हिसाबले सबभन्दा बढी सप्तरीमा ६५ हजार २८० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

यहाँ सबभन्दा बढी दुई लाख ६१ हजार १२० मेट्रिक टन धान उत्पादन हुने अनुमान पनि गरिएको छ । सबभन्दा कम रौतहटमा ३७ हजार ६२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

यहाँ रोपिएको धानबालीबाट एक लाख ५० हजार ४८० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

मधेश प्रदेशका कृषि विकास निर्देशनालयका अनुसार मधेशको पर्सामा ४६ हजार १८७ हेक्टर क्षेत्रफलमा रोपेको धानबालीबाट एक लाख ८४ हजार ७४९ दशमलव मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

यस्तै, रौतहटमा ३७ हजार ६२० हेक्टर क्षेत्रफलबाट एक लाख ५० हजार ४८०, सर्लाहीमा ४५ हजार ५४० हेक्टर क्षेत्रफल धानबालीबाट एक लाख ८२ हजार १६० मेट्रिक टन, धनुषामा ४१ हजार ५६५ हेक्टर क्षेत्रफल धानबालीबाट एक लाख ६६ हजार २६० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको सो निर्देशनालयले जनाएको छ ।

यसैगरी, महोत्तरीमा ४१ हजार ९४२ दशमलव पाँच हेक्टर क्षेत्रफलमा लगाएको धानबालीबाट एक लाख ६७ हजार ७७० मेट्रिक टन, सिरहामा ५२ हजार ३८० हेक्टर क्षेत्रफलबाट दुई लाख नौ हजार ५२० मेट्रिक टन, सप्तरीमा ६५ हजार २८० हेक्टर क्षेत्रफलमा दुई लाख ६१ हजार १२० मेट्रिक टन, र बारामा ४५ हजार ९९ दशमलव छ हेक्टर क्षेत्रफलले एक लाख ८० हजार ३९८ दशमलव चार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि विकास निर्देशनालयका निर्देशक जीतेन्द्र यादवले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा तीन लाख ५४ हजार ३८३ हेक्टर क्षेत्रफलबाट १२ लाख ६३ हजार ९४१ मेट्रिक टन र आव ०७९/८० मा तीन लाख ८१ हजार ६१३ हेक्टरमा १४ लाख २२ हजार ४३६ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

खेती बेला समयमा नै आवश्यक पानी परेकोले धान रोपाइँ पनि समयमै भएको र त्यसपछि पनि चाहिएको बेला पनि पानी भइरहने गरेकोले धान उत्पादनमा वृद्धि भएको उनले बताए ।

बेमौसमी वर्षाले लगाएको धानवालीमा केही क्षति पुर्‍याए पनि उत्पादनमा भने कमी नहुने जनाए ।

कर्णाली प्रदेशमा यो वर्ष धान उत्पादनमा वृद्धि

कर्णाली प्रदेशमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८/८१ मा १ लाख २४ हजार ९६९ मेट्रिक टन धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०८१/८२ मा १ लाख ३० हजार ७९० मेट्रिक टन धान उत्पादन भएको छ।

अघिल्लो वर्षभन्दा ५ हजार २२१ मेट्रिक टन धान उत्पादन वृद्धि भएको थापाले जानकारी दिए। यो वर्ष ३९ हजार ७६३ हेक्टरमा धान बाली लगाइएको थियो।

कर्णालीमा सबैभन्दा कम धान उत्पादन डोल्पामा हुने गरेको छ। डोल्पामा ३५० मेट्रिक टन उत्पादन भएको छ। यहाँ खेतीयोग्य जमिन १९९ हेक्टर मात्र रहेको छ। मुगुमा ८८५ हेक्टरमा लगाएको धानबाली ९७५ मेट्रिक टन उत्पादन भएको छ।

हुम्लामा ५५० हेक्टरमा एक हजार ३६ मेट्रिक टन धान उत्पादन भएको जानकारी गराएको छ। मर्सी धानको उत्पादन हुने जुम्लामा यो वर्ष अघिल्लो वर्ष जती धान उत्पादन भएको छ।

त्यहाँ दुई हजार ९३० हेक्टरमा लगाएको धानबाली ६ हजार ३९५ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

कालिकोटमा अघिल्लो वर्ष भन्दा यो आवमा धान उत्पादन वृद्धि भएको छ। यहाँ अघिल्लो आवमा दुई हजार ४१५ हेक्टरमा धान खेती गरिएकोमा यो आवमा २ हजार ४२५ हेक्टरमा विस्तार भएको छ।

यहाँ ५ हजार ५०० मेट्रिक टन उत्पादन भएको छ। यो अघिल्लो आवभन्दा २१८ मेट्रिक टन बढी हो।

रुकुम पश्चिममा २ हजार ६४ हेक्टर जमिनमा पाँच हजार ४८५ मेट्रिक टन धान उत्पादन भएको छ। रुकुम पश्चिममा समेत यो पटक क्षेत्रफल बढेको छ।

पाँच हेक्टर क्षेत्रफल धान उत्पादनका लागि बढेको छ। सल्यानमा २३ हजार ६३० मेट्रिक टन धान उत्पादन भएको छ।

६ हजार ७६० हेक्टरमा धानबाली सल्यानमा लगाइएको थियो। सल्यानमा समेत यो आवमा खेतीयोग्य जमिन बढ्नुका साथै धान उत्पादनसमेत अघिल्लो वर्षभन्दा बढेको छ।

८ हजार ७८५ मेट्रिक टन धान जाजरकोटमा उत्पादन भएको छ। दुई हजार ५६० हेक्टरमा धानबाली लगाएकोमा अघिल्लो आवभन्दा राम्रो धान उत्पादन भएको हो।

क्षेत्रफल समेत अघिल्लो आव भन्दा यो आवमा बढेको छ। त्यस्तै दैलेखमा २५ हजार १२० मेट्रिक टन धान उत्पादन भएको छ।

जुन अघिल्लो आब भन्दा १ हजार ६२० मेट्रिक टन धान कम उत्पादन भएको छ। ७ हजार ९२५ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो ।

सुर्खेतमा यो आवमा धानबाली उत्पादन बढेको छ। ५२ हजार ९०४ मेट्रिक टन धान उत्पादन भएको छ।

अघिल्लो आवभन्दा ५ हजार ९०९ मेट्रिक टन धान उत्पादन बढेको हो। १३ हजार ७६५ हेक्टरमा धानबालीको खेती गरिएको थियो।

कर्णालीमा ३९ हजार ७६३ हेक्टरमा लगाएको धानबाली १ लाख ३० हजार १९० मेट्रिक टन उत्पादन भएको छ।

२७.५५ प्रतिशत अर्थात ८२ हजार ४५९ हेक्टर जमिन कर्णालीमा जमिन बाँझो छ।

वर्षभर सिँचाइ हुने जमिनको क्षेत्रफल ३८ हजार २३३ हेक्टर छ भने आंशिक रूपमा सिँचाइ रहेको क्षेत्रफल ३० हजार ४०७ छ।

बागमती प्रदेशमा यस वर्ष धान उत्पादनमा ह्रास

बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ ।

गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पुर्‍याउँदा धान एक दशमलव ३७ प्रतिशतले उत्पादनमा ह्रास आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

चालू आर्थिक वर्षमा बागमती प्रदेशमा कुल एक लाख पाँच हजार चार सय १५ हेक्टरमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ८७ मेट्रिक टनका दरले चार लाख आठ हजार तीन सय १६ मेट्रिक टन धान उत्पादन भएको निर्देशानलयका कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिए ।

अघिल्लो आव २०८०/८१ मा एक लाख ९ हजार एक सय ५१ हेक्टरमा धानबाली लगाइएकामा चार लाख १३ हजार नौ सय ८८ मेट्रिक टन उत्पादन भएको थियो ।

कुँवरका अनुसार गत वर्षको तुलनामा यस वर्ष चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर र नुवाकोटमा धान उत्पादन बढे पनि अन्य जिल्लामा घटेको हो ।

बागमती प्रदेशको सबैभन्दा बढी धानखेती हुने चितवनमा यस वर्ष २३ हजार सात सय हेक्टरमा प्रतिहेक्टर चार दशमलव १५ मेट्रिक टनका दरले ९८ हजार तीन सय ५५ मेट्रिक टन धान उत्पादन भएको छ ।

नुवाकोटमा ११ हजार छ सय १५ हेक्टरमा प्रतिहेक्टर चार दशमलव १७ प्रतिशतका दरले ४८ हजार तीन सय ९० मेट्रिक टन, धादिङमा ११ हजार तीन सय १२ हेक्टरमा प्रतिहेक्टर तीन दशमलव ८९ प्रतिशतका दरले ४४ हजार चार मेट्रिक टन उत्पादन भएको छ ।

काठमाडौँमा यस वर्ष चार हजार नौ सय २४ हेक्टरमा प्रतिहेक्टर चार दशमलव ७१ प्रतिशतका दरले २३ हजार एक सय ९२ मेट्रिक टन, ललितपुरमा चार हजार एक सय ७८ हेक्टरमा प्रतिहेक्टर चार दशमलव ५३ प्रतिशतका दरले १८ हजार नौ सय २६ मेट्रिक टन र भक्तपुरमा तीन हजार पाँच सय ९९ हेक्टरमा प्रतिहेक्टर पाँच दशमलव ५१ प्रतिशतका दरले १९ हजार आठ सय २३ मेट्रिक टन धान उत्पादन भएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

बाढीपहिरोबाट बढी प्रभावित मकवानपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोकलगायत जिल्लामा यस वर्ष धान कम उत्पादन भएको छ ।

मकवानपुरमा सात हजार १७ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव नौ प्रतिशतका दरले २७ हजार तीन सय ६६ मेट्रिक टन, काभ्रेमा आठ हजार १९ हेक्टरमा प्रतिहेक्टर तीन दशमलव ९१ प्रतिशतका दरले ३१ हजार तीन सय ५४ मेट्रिक टन, रामेछापमा सात हजार आठ सय ८० हेक्टरमा प्रतिहेक्टर दुई दशमलव ५४ प्रतिशतका दरले २० हजार १५ मेट्रिक टन र सिन्धुपाल्चोकमा सात हजार नौ सय हेक्टरमा प्रतिहेक्टर दुई दशमलव ९२ प्रतिशतका दरले २३ हजार ६८ मेट्रिक टन धान उत्पादन भएको हो ।

दोलखामा दुई हजार आठ सय ७२ हेक्टरमा प्रतिहेक्टर दुई दशमलव ५० प्रतिशतका दरले सात हजार ६८ मेट्रिक टन र रसुवामा एक हजार ९९ हेक्टरमा प्रतिहेक्टर दुई दशमलव २३ प्रतिशतका दरले दुई हजार चार सय ५१ मेट्रिक टन धान उत्पादन भएको कृषि विज्ञ कुँवरले जानकारी दिए ।

बाढीपहिरोले ३७ हजार हेक्टरमा लगाइएको पाँच हजार छ सय मेट्रिक टन धानबालीमा क्षति पुगेको जनाइएको छ ।

समयमा वर्षा र रोग कीराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिए पनि बाढीपहिरोले क्षति पुर्याएपछि उत्पादनमा घटेको हो ।

१९६० को दशकसम्म नेपाल दक्षिण एसियामा सबैभन्दा बढी धान उत्पादन गर्ने देश

धान/चामल उत्पादन स् सन् १९६० को दशकसम्म नेपाल दक्षिण एसियामा सबैभन्दा बढी धान उत्पादन गर्ने देश थियो । तर २०७७र७८ आइपुग्दा सबैभन्दा कम धान उत्पादन गर्ने देश भएको छ ।

आ ब २०८०/८१ मा नेपालमा सबैभन्दा बढी धान उत्पादन भएको छ । विगत चार बर्षमा (०७६/७७ देखि ७९/८० सम्म) औसत ५४ लाख ४७ हजार चार सय २१ मेट्रिक टन उत्पादन हुने गरेकोमा २०८०/८१ मा औसतभन्दा बढी अर्थात् ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिकटन धान उत्पादन भएको स्रोत बताउँछ ।

विगत पाँच वर्षमा अर्थात् २०७४/७५ देखि २०७८/७९ सम्ममा भएको धानको उत्पादन तुलनात्मक २०७८/७९ सम्मको न्यून उत्पादन भएको जनाइएको छ ।

धान थक्याउने समयमा २०७८ असोज ३१ देखि कार्तिक ३ गतेसम्म भएको आँधीबेहरी हावाहुरीसहितको अप्रत्यासित वर्षाले धानमा क्षति पुगेकाले २०८/७९ मा धान उत्पादन घट्न गएको हो ।

२०७८/७९ मा २०७७/७८ भन्दा पाँच लाख मेट्रिक टनभन्दा कमको धान उत्पादन भएको छ । यद्यपि २०७८/७९ मा मौसम अनुकुल हुँदा पनि आव २०७८/७९ मा धान उत्पादन घटेको छ ।

२०७८/७९ मा ५१ लाख ३० हजार मेट्रिक टन मात्र उत्पादन भएको देखिन्छ । तर, २०७७/७८ मा ५६ लाख २१ हजार सात सय १० मेट्रिक टन धान उत्पादन भएको यियो ।

२०७७/७८ भन्दा २०७८/७९ मा चार लाख ९१ हजार मेट्रिक टन कम धान उत्पादन भएको देखिन्छ ।

२०७७/७८ को तुलनामा धानबाली लगाइएको क्षेत्रफल करिब चार हजार हेक्टरको वृद्धि भए पनि उत्पादकत्व नौ दशमलव शून्य नौ प्रतिशतले कमी आई उत्पादकत्व तीन दशमलव ४७ मेट्रिक टन प्रतिहेक्टरमा सीमित हुन पुगेको बताइन्छ ।

यसरी सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीनमा उत्पादकत्व भने सात टन प्रतिहेक्टर रहेको छ ।

यसैगरी बंगलादेशको चार दशमलव सात टन प्रतिहेक्टर, भुटानको चार दशमलव तीन टन प्रतिहेक्टर, भारतको तीन दशमलव नौ टन प्रतिहेक्टर, पाकिस्तान तथा श्रीलंका दुवैमा तीन दशमलव आठ प्रतिहेक्टर छ ।

नेपालको लागि वार्षिक करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्छ । जसमध्ये तीन लाख १२ हजार मेटन मात्र उत्पादन र आपूर्ति हुने गरेको छ ।

जबकि धान नेपालसहित एसियाली देशहरूको प्रमुख खाद्यान्न बाली हो । विश्वका कुल धान उत्पादनको ९० प्रतिशत उत्पादन र खपत यसै क्षेत्रमा हुने गर्छ ।

चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्याण्ड, भियतनाम, म्यानमार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान नै संसारको दश प्रमुख धान उत्पादक देश हुन भने नेपाल १७ औँ धान उत्पादक देशमा पर्छ ।

नेपालमा धान खेती ७७ जिल्लामध्ये ७५ जिल्लामा मनाङ र मुस्ताङबाहेक धान खेती हुने गर्छ ।

धान समुन्द्री सतहभन्दा ६० मिटर झापाको कचनाकेलममाथिदेखि तीन हजार ५० मिटरसम्मको जुम्लाको हुमचौरसम्म धान खेती हुने गरेको छ ।

धान खेती उच्च पहाडमा पाँच प्रतिशत, मध्य पहाडमा २५ प्रतिशत र तराईमा ७० प्रतिशतको क्षेत्रमा धान खेती हुन्छ ।

देशमा प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धान बालीको क्षेत्रफल आव २०७६र७७ को तुलनामा आव २०७७र७८ मा एक प्रतिशतले बढोत्तरी भई १४ लाख ७३ हजार चार सय ७० हेक्टर पुग्ने अनुमान छ ।

नेपाललाई कृषिमा आत्म निर्भर बनाउने योजना दशकौं पूरानो हो । धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा दिंदै सरकारले आगामी दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम बजेटमा प्राथमिकतामा राखिएको छ ।

धानमा आत्मनिर्भर हुन व्यवसायिक खेती प्रणाली, सिचाइँको सुविधा, यान्त्रिकीकरणलाई प्राथमिकतामा राखिने सरकारको दावी छ ।

तर, नेपालमा धान उत्पादनको अवस्था भारतबाट आयत हुने चामलको तथ्यांक हेर्दा टिठलाग्दो छ । सरकारी उपेक्षा कारण बर्षेनी कृषि उपज मात्रै ३ खर्ब रुपैयाँबराबरको आयात भइरहेको तथ्यांक छ ।

प्रधानमन्त्रीदेखि कृषि मन्त्रीसम्मले आगामी बर्षमा मुलुक धानमा आत्मनिर्भर बन्ने भनेर घोषणा गर्दै आइरहेका छन् ।

तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निकायहरुले सार्वजनिक गरेको तथ्यांकमा चालू आर्थिक बर्षको एघार महिनामा १२ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको ३ लाख ७ हजार ४ सय १७ मेट्रिक टन धान आयात भएको छ ।

यस्तै ८ अर्ब ६९ करोड १७ लाख रुपैयाँ बराबरको विभिन्न प्रकारको ८२ हजार ७ सय ९१ मेट्रिक टन चामल पनि आयात भएको छ ।

प्रकाशित मिति:December 21, 2024