एमालेले गलहत्याएपछि भीम रावलले नयाँ दलको घोषणा गर्दै, शीर्ष नेतृत्वसँग रुष्ट बनेकाहरूको साथ पाउन सक्ने

  Sampatti News

January 1, 2025

काठमाण्डू, पार्टी हितविपरीतका गतिविधि र अभिव्यक्ति दिएको आरोप लगाउँदै नेकपा एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावललाई निष्कासन गरेसँगै उनी अहिले पार्टीविहीन भएका छन् ।

गत बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेपछि उनी केही नयाँ गर्ने योजनामा छन् ।

पार्टी अध्यक्ष केपी ओलीको निरंकुश, स्वेच्छाचारी र तानाशाही व्यवहारकै कारण आफू निष्काशित भएको अभिव्यक्ति दिँदै हिँडिरहेका ६९ वर्षीय रावलले अब नयाँ पार्टी बनाएर राजनीतिक यात्रालाई अगाडि बढाउने आँकलन अहिले अधिकांशले गरेका छन् ।

उनका पछिल्ला गतिविधिले पनि त्यस्तै देखाएको छ । यो आशंकालाई पुष्टि गर्ने संकेत रावलको पछिल्ला व्यवहारले पनि देखाइरहेका छन् ।

पार्टीले निष्कासन गरेको ठिक एक सातामा रावलले बुधबार पत्रकार सम्मेलनको गर्ने घोषणा गरेका छन् ।

उनी निकटस्थहरूका अनुसार सम्भवतः बुधबार नै उनले नयाँ पार्टी घोषणा गर्ने छन् । नयाँ पार्टी बनाउँदा रावलले पार्टीको नाममा ‘कम्युनिस्ट’ शब्द नराख्ने पक्काजस्तै भएको छ ।

एमालेमै रहँदा पनि रावलले ‘कम्युनिस्ट’ शब्दको प्रयोग गर्नुहुँदैन भन्ने धारणा राख्दै आएका थिए ।

उनले भेट गरेका नेताहरूले पनि पार्टी बनेको खण्डमा ‘कम्युनिस्ट’ नामबाट नराख्ने छलफल भएको कुरा सार्वजनिकरूपमै भनिसकेकाले रावलले बनाउने पार्टीमा ‘कम्युनिस्ट’ शब्द नरहनेमा विश्वस्त हुनुपर्ने देखिन्छ ।

तर, उनको पार्टीको नाम के हुनसक्छ ? त्यसका नीति, विचार, सिद्धान्त कार्यक्रमबारे अझै पनि कसैले कुनै अनुमान वा आशंका भने गर्न सकिरहेका छैनन् ।

यस्तै आशंका र आंकलनकै बीचमा नेता रावलले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् । उक्त पत्रकार सम्मेलनले पनि धेरैका अनुमान र आशंकाको जवाफ दिनेछ र सम्भवतः बुधबार नै पार्टीको न्वारन हुनेछ ।

रावलको नयाँ यात्रा

रावलले आफ्नो जीवनको करिब पाँच दशक नेकपा एमालेमा बिताए । तर, केही दिनअघि उनलाई पार्टीले संगठित सदस्यसमेत नरहने गरी निकाल्यो ।

तीखो बोली र आफूलाई गलत लागेको विषयमा कोही कसैसँग नडराउने स्वभावकै कारण उनलाई पार्टीबाट निकालिएको हो भन्नेमा अब आशंका रहेन ।

आफ्नै पार्टी अध्यक्ष ओलीका गलत गतिविधिको आलोचना गरेकै कारण पनि उनी आफ्नो जीवनकालका पाँच दशक बिताएको पार्टीबाट निकालिनु परेको हो ।

पार्टीबाट निकालिएपछि रावलले आफूनिकट नेता तथा कार्यकर्तासँगको छलफल र भेटघाटलाई तीव्र बनाएका छन् । उनको यो व्यवस्थालाई राजनीतिक जगतमा अनेक नजरले हेरिएको छ ।

कसैले उनले नयाँ पार्टी खोल्ने अनुमान लगाएका छन् त कतिले उनी अन्य कुनै पार्टीमा प्रवेश गर्ने अनुमान गरिरहेका छन् ।

रावल अन्य पार्टीमा गए भने माधव नेपाल नेतृत्वका नेकपा (एकीकृत समाजवादी) पार्टीमा जाने आशंका धेरैले गरेका छन् ।

त्यस्तै नयाँ पार्टी नै गठन गरेमा रावललाई आगामी २०८४ सालको चुनावको तयारी गर्ने अवसर छ ।

उनले पार्टी गठन गरे भने अहिले विभिन्न पार्टीका शीर्ष नेतृत्वहरूसँग रुष्ट बनेकाहरूको साथ पाउनसक्ने देखिन्छ ।

रावलका पछिल्लो दुईरतीन दिनका भेटघाट तथा छलफलले पनि यो कुरालाई पुष्टि गरेको छ ।

तर, पार्टी गठन गरेर त्यसलाई स्थापित गर्ने र नेकपा एमालेलाई टक्कर दिने पार्टी बनाउन रावललाई चुनौती पनि छ ।

एमालेबाटै अलग भएका वामदेव गौतम र माधव नेपालले राजनीतिक जगतमा सोचे जति उपलब्धि हासिल गर्न सकेका छैनन् ।

यसले पनि रावललाई नयाँ पार्टी गठन गरेको खण्डमा त्यसलाई दरिलो बनाउन कति कठिन छ भन्ने महसुस गराउन सक्छ ।

अहिले रावलले आन्तरिक भेटवार्ता र छलफललाई तीव्रता दिइरहेका छन् । सोमबार मात्रै उनले सुदूरपश्चिम प्रदेशका सांसद तारा जोशी र नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ललाई भेटेर सम्भावित विविध पक्षमा छलफल गरेका छन् ।

मल्लसँग भेटवार्ता गरेका रावलले गैरकम्युनिस्टलाई समेत नयाँ पार्टीमा समेट्ने र सोहीअनुसार आफू पार्टी निर्माण गर्न लागेको बताएको रावल निकटस्थको भनाइ छ ।

सुदूरपश्चिममा राम्रो पकड जमाएका भनिएका दुवै नेता मल्ल र जोशी विगतमा आफ्नो पार्टीको कारबाहीमा परेका थिए । मल्लले रावलसँगको भेटघाटमा नयाँ पार्टी गठनबारे प्रारम्भिक छलफल भएको जानकारी दिए ।

‘अब भविष्यमा कसरी जान सकिन्छ भन्ने प्रारम्भिक एक चरण छलफल भयो र त्यो छलफल सकारात्मक रह्यो,’ मल्लले भने ।

उनले भूगोलका हिसाबले पनि आफ्नै क्षेत्रको नेता रहेको र उमेरका हिसाबले वरिष्ठ नेता रहेकाले पार्टीबाट निष्कासित भएदेखि नै आफू रावलको सम्पर्कमा रहेको जनाए ।

रावललाई नयाँ पार्टी खोल्न कति चुनौती ?

नेपालको राजनीतिक विकासक्रम रोचक किसिमको छ । शासन व्यवस्था र त्यसको अन्त्यसँगै राजनीतिक दलको उदय भएका छन् ।

२००७ सालमा राणाविरुद्धको क्रान्तिसँगै नेपाली कांग्रेस, राणाविरुद्धको क्रान्तिकै बेला कम्युनिष्ट पार्टीको नामबाट विकसित हुँदै बहुदलपछि बनेको एमाले होस् या ०६२र०६३ पछि मूलधारको राजनीतिमा आएको माओवादी सबै दल कुनै न कुनै आन्दोलनसँग जोडिएर आएका छन् ।

घटनाक्रमले जन्मिएर परीक्षणकालमै थुप्रै आरोहरअवरोहपछि परिपक्वता पाएका पार्टीहरूको वरिपरि नै अहिले मुलुकको शासन सत्ता घुमेको छ ।

पटक/पटक व्यवस्था फेरिने तर अवस्था नफेरिने भएपछि अहिले पनि हालिमुहाली गरिरहेका तीन ठूला राजनीतिक दलविरुद्ध पनि नयाँ पार्टी खुलेका छन् र खुल्दै पनि छन् ।

राजनीतिको मियोमा एकै व्यक्तिको रजाइँ भएको भन्दै नयाँ राजनीतिक विचारहरू जन्मिएका छन् । जसलाई जनताको मतलेसमेत अनुमोदन गरिदिएको छ ।

पुरानै राजनीतिक दलहरूको रजगज चलिरहेका बेला खुलेका नयाँहरूलाई राजनीतिक दलले मात्र होइन जनतालेसमेत पत्याउने अवस्था भने छैन् ।

पुराना दलका कार्यशैलीबाट आजित भएका जनताले नयाँ राजनीतिक दललाई मत दिने अवस्था देखिन्छ ।

तर, दिगो कार्ययोजना र नेतृत्वकर्ताप्रति जनताको धारणाले पार्टी कतिसम्म टिक्ला भन्न सकिने अवस्था नरहेको बेला रावलको नयाँ पार्टी खोल्ने पूर्व तयारी धमाधम चलिरहेको छ ।

रावलले नयाँ पार्टी खोल्नेबारे एमालेका केही नेताहरूसँग पनि छलफल गरिरहेका छन् । रावलले पार्टी खोलेका खण्डमा एमाले छाडेर क(कसले साथ दिन्छन् अहिले तय भइसकेको छैन् ।

एमालेभित्रको असन्तुष्ट पक्षलाई विश्वासमा लिनुपर्ने चुनौती पनि रावललाई छ । रावलका पछिल्ला गतिविधि हेर्दा विभिन्न पार्टीमा कारबाहीमा परेका, उपेक्षामा परेकाहरूमाझ भेटघाट गर्न व्यस्त देखिन्छन् ।

यसले पनि के जनाउ दिन्छ भने रावलले खोल्न आँटेको नयाँ पार्टीमा विभिन्न पार्टीको नेतृत्वसँग असन्तुष्ट नेता तथा कार्यकर्तालाई उनी एक ढिक्का बनाउन चाहन्छ ।

रावलनिकट एकिन्द्र कुँवरले पनि रावलकै नेतृत्वमा वाम, प्रजातान्त्रिक, प्रगतिशील र देशभक्तहरूको नयाँ पार्टी बन्ने जनाए ।विस्तृतरूपमा बुधबार हुने भनिएको पत्रकार सम्मेलनमै जानकारी हुने उनले बताए ।

विभिन्न पार्टीमा कारबाहीमा परेका, उपेक्षामा परेकाहरूलाई समेटेर रावलले कस्तो पार्टी बनाउनेछन् त्यसको छनक उनले आउँदो बुधबारको पत्रकार सम्मेलनमा दिनेछन् ।

रावलका पाँच दशक

अछामका भीम रावल कुनै समय नेकपा एमालेमा प्रभावशाली नेतामा गनिन्थे । जन्मथलो सुदूरपश्चिममा बलियो पकड भएका रावल पार्टी सरकारमा जाँदा कमै मात्र छुट्ने गरेका थिए ।

उनको भागमा कहिले गृहमन्त्री त कहिले अर्को कुनै प्रभावकाशाली मन्त्रालय पर्थ्यो ।

एमालेमा ओलीको युग सुरु नहुँदासम्म पार्टीमा रावलको बोलबाला राम्रै चल्थ्यो । माधव नेपाल प्रधानमन्त्री हुँदा कैयौँ प्रभावशाली नेतालाई पछि पार्दै उनी गृहमन्त्री बनेका थिए ।

२०४६ सालदेखि नै रावल शक्तिको वरिपरि रहे । २०४६ सालमा झलनाथ खनालको स्वकीय सचिव भएर काम गरेयता उनले राजनीतिमा पछाडि फर्केर हेर्नुपरेन ।

रावल २०५२ सालमा पर्यटन राज्यमन्त्री बने । यसैगरी २०५५ सालमा उनी पर्यटनमन्त्री भए । जीवनका झन्डै ६९ वसन्त पारे गरेका रावल २०३० सालबाट प्रगतिशील विद्यार्थी राजनीतिमा जोडिएका थिए ।

रावल पार्टीबाट एकाएक निष्कासित हुनुलाई धेरैले एमालेको ओरालो यात्रा सुरु भएको टिप्पणी गरेका छन् ।

ओलीका आँखा रावल

आफूलाई गलत लागेको कुरा देख्न नसक्ने, आफ्नै नेतृत्वलाई औँला उठाउन पछि नपर्ने छवि बनाएका रावल र पार्टी अध्यक्ष ओलीको सम्बन्ध एमाले दसौँ महाधिवेशनसम्म आइपुग्दा ठिकठाकै थियो ।

त्यसअघि ओलीले पनि रावललाई पार्टीका विभिन्न जिम्मेवारी दिँदै आएका थिए । तर, जब दसौँ महाधिवेशनमा रावलले पार्टी अध्यक्षमा रुचि देखाए त्यसपछि भने ओलीसँगको सम्बन्ध चिसिँदै बुझिन्छ ।

सर्वसम्मतीले पार्टी अध्यक्षमा निर्वाचित हुने ओलीको चाहनामा ब्रेक लगाइदिएपछि रावल ओलीको आँखामा बिझाएका हुन् ।

कुनै हालतमा अध्यक्षको उम्मेदवारबाट पछि नहट्ने अडान लिएपछि दसौँ महाधिवेशनमा रावलले उम्मेदवारी दिए तर ओलीले जिते ।

अध्यक्षमा निर्वाचित भएसँगै ओली र रावलको टकराबले उग्ररूप लिएर सतहमा पोखिन थाल्यो । दसौँ महाधिवेशनपछि रावल एमालेको स्थायी कमिटी सदस्य बने । तर कहिल्यै पार्टी बैठकमा सहभागी भएनन् ।

पार्टी केन्द्रीय कार्यालय बनाउन अध्यक्ष ओलीले व्यवसायी मीनबहादुर गुरुङसँग १० रोपनीभन्दा बढी जग्गा दान लिएको विरोधमा एमालेभित्र सबैभन्दा खरोरूपमा रावल गुज्रिए ।

उनीसँगै बोल्ने आँट गरेका स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिना पनि रावलसँगै कारबाहीमा परेका छन् ।

पछिल्लो समय नेता रावल कम्युनिस्ट राजनीतिबाट बिरक्तिएको भान हुन्छ । यद्यपि, जीवनभर कम्युनिस्ट राजनीतिक गरेका रावलले खोल्ने पार्टी कुन राजनीतिक सिद्धान्तको होला भन्नेतर्फ चौतर्फी चासो बढेको छ ।

अहिले एमालेभित्रैबाट आएको सद्भाव र बाहिरको माहोल बुझेर मात्र अगाडि बढ्ने मनस्थितिमा रावल देखिन्छन् ।

प्रकाशित मिति:January 1, 2025