पहिलो केन्द्रीय सहकारी बजार सरस्वतीनगरमा

  Sampatti News

December 4, 2020

काठमाडौँ । पहिलोपटक सरकारी र सहकारी साझेदारीमा काठमाडौँ महानगरपालिका–६ चाबहिलस्थित सरस्वतीनगरमा केन्द्रीय सहकारी बजारको शुरुआत भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी) को सहयोगमा कृषि–बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडले करिब रु सवा करोडको लागतमा बजार सञ्चालनमा ल्याएको हो । सन् २०१८ फेबु्रअरीमा शुरु भएको सहकारी बजार विकास कार्यक्रम (सिएमडीपी) ले चितवन, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, नुवाकोट र धादिङ गरी छ जिल्लाका १८ स्थानीय तहमा काम शुरु गरेपछि आज राजधानीमा पहिलो बजार सञ्चालनमा ल्याएको हो ।

बजार उद्घाटन गर्नुहुँदै सहकारीमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरे पनि बजारको समस्या भोगिरहेका बेला बजार उचित मूल्य दिलाउन सहयोग गरिने बताए । सरकार र सहकारी हाम्रो साझेदारी भन्ने नाराका साथ यो कार्यक्रमलाई वाग्मती प्रदेशबाट अन्यमा पनि विस्तार गर्न लागिएको उनले जानकारी दिए। “बचत तथा ऋण परिचालन गर्ने सहकारी धेरै भएकाले एकीकरण गरिनुपर्छ, सहकारी कृषि, फलफूल, पशुपालनमा पनि लाग्नुपर्छ, सहकारीले यी क्षेत्रबाट गरेका उत्पादनको बजारीकरण गर्न यस्ता केन्द्र ठाउँठाउँमा खोलिनुपर्छ”, मन्त्री अर्यालले भने ।

मन्त्रालयका सचिव टेकनारायण पाण्डेले किसानको बजारका बीच सहकारीले पुलको काम गरेपछि उपभोक्तासमेत लाभान्वित हुने भएकाले यो कार्यक्रमलाई देशव्यापी रुपमा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले २० केन्द्र सहकारी सङ्घमध्ये १३ कृषि क्षेत्रकै रहेकाले किसानका उत्पादनको उचित मूल्य दिनसमेत यस्ता प्रवद्र्धन हुनुपर्ने बताए । सहकारी बजार विकास कार्यक्रमका प्रमुख सुमनशेखर मानन्धरले पहिलो चरणमा छ जिल्लाको १८ पालिकाका १४ हजार ४०० घरधुरी किसान लाभान्वित हुने गरी कार्यक्रम शुरु गरिएको जानकारी दिए ।

हाल छ जिल्लाका १८ पालिकाका ५० सहकारीले तरकारी सङ्कलन केन्द्र स्थापना गरेको पनि उनले बताए । आगामी दिनमा ललितपुरलगायत कार्यक्रम लागू भएका छवटै जिल्लामा सहकारी बजार स्थापना गर्ने तयारी भइरहेको छ । सङ्कलन गरिएका तरकारी ढुवानी गर्न गत आर्थिक वर्षमा कार्यक्रमले पालिकाका सहकारीलाई २८ सवारी साधानसमेत वितरण गरेको छ । चालु आर्थिक वर्षमा पनि २५ साधन वितरण गर्ने कार्यक्रम रहेको कार्यक्रम प्रमुख मानन्धरले बताए ।

बजारमा थोक तथा खुद्रा दुवै व्यापार गरिने छ । सहकारीबाट सिधै बजारमा ल्याइने तरकारी र फलफूल बजारमा पाइने मूल्यभन्दा सस्तोमा ग्राहकले किन्न पाउने बजारका सञ्चालक हरिप्रसाद प्याकुरेलले बताउनुभयो । एक महिना अघिदेखि खुद्रा बजार शुरु गरिएकामा केही दिनमा थोक बजार शुरु गर्न चार वटा सटरसमेत सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए ।

राष्ट्रिय सहकारी बैङ्क लिमिटेडका अध्यक्ष केबी उप्रेतीले बैङ्कमा रु ६० अर्बको कारोबार रहेकाले कृषिमा काम गर्न चाहने सहकारीलाई पूँजीको अभाव नहुने बताए। सङ्घका केन्द्रीय अध्यक्ष विनोद पराजुलीले कृषिको तीनवटामात्र केन्द्रीय सङ्घ बनाउने एकीकरण अभियान शुरु गरी गत असार ३१ गते कृषि बीउ र तरकारी तथा फलफूल सङ्घकाबीच एकीकरण गरी पहिलो साधारणसभा समेत आजै गरिएको जानकारी दिए ।

सङ्घका सहअध्यक्ष ध्रुवराज पाण्डेले सहकारीको ध्यान तरकारी, फलफूल जस्ता चीजमा देशलाई आत्मनिर्भर बनाउनेतर्फ अघि बढ्नुपर्नेमा जोड दिए । सङ्घको आजै हुने साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ ।

प्रकाशित मिति:December 4, 2020