उद्योगमन्त्रीलाई उच्च तहका नेताको फोन ‘चिनी उद्योगीलाई नसमाउँनु’, यता दुई दिन बित्दा समेत प्रहरीले समाउन सकेन ‘साहु’

  Sampatti News

December 18, 2020

काठमाडौँ । नेपाल प्रहरीले उखु किसानलाई उखु लगेको रकम भुक्तानी नगर्ने उद्योगीलाई समाउन प्रहरी परिचालन गरेको २ दिन भएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले किसानबाट उखु लगेर ठगी गरी रकम नदिने उद्यागीलाई समाउन सर्कुलर जारी गरे पनि प्रहरीले भने उनीहरूलाई बुधबार र बिहीबार दुई दिन बित्दासमेत भेटेको छैन ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले किसानबाट उखु लगेर रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न सर्कुलर भएको तर बिहीबार रातिसम्म कोही पनि पक्राउ नपरेको र खोजतलास जारी रहेको बताउनु भयो ।

अर्काेतर्फ उखु किसानको आन्दोलन चलिरहँदा उद्योग मन्त्री लेखराज भट्टले किसानको वक्यौता नर्तिने उद्योगीलाई बचाउ गर्न उच्चतहका नेताबाट दबाब आएको बताउनुभएको छ । मंगलबार मन्त्रीहरको बैठकले वक्यौता नतिर्ने चिनी उद्योगीलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालय मार्फत निर्णय गरेको थियो ।


उक्त निर्णय कार्यन्वयन नगर्न आफुलाई उच्च तहका नेताको दवाव आएको मन्त्री भट्टले बताउनु भयो । उद्योग समितिको बिहीबार भएको बैठकमा उखु किसानको हितमा आफुले निरन्तर काम गरेको र अव पनि गर्ने भन्दै कसैको फोनको भरमा पछि नहट्ने तर्क गर्नुभयो । उहाले उखु किसानहरुको वक्तौता उद्योगीले तिर्नुपर्ने भन्दै यसका लागि सरकार जस्तो सुकै कठोर नीति लिन पनि तयार रहेको बताउनुभयो ।

संसदीय समितिले सात दिन भित्र उखु किसानको बक्तौता रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात दिन भित्र उखु किसानको बक्तौता रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन र सोको जानकारी समितिलाई गराउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति बिमल श्रीवास्तावले उखु किसानको भुक्तानीको समस्याप्रति गम्भीर भएर भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको जानकारी दिनुभयो ।

त्यस्तै बैठकले श्रमिकले पाउने तलव सुविधा लगाएतका अवस्थाका बिषयमा स्थलगत छानविन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको उहाले बताउनुभयो ।

बैठकमा सांसदहरुले चिनी मिल सञ्चालकहरुले नियतवस नै किसानहरुको रकम भुक्तान नगरेको आरोप लगाएका थिए । किसानको रकम भुक्तान गराउन सरकार गम्भीर हुनुपर्ने उनीहरुको भनाई छ । लामो समयदेखि आफुहरुले रकम नपाएको भन्दै उखु किसानहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् तर सर्लाहीका चिनी मिल सञ्चालहरुले काठमाडौंको माइतिघरमा धर्नामा बसेकाहरु उखु किसान नभएर बिचौलिया मात्र भएको आरोप लगाउदै आएका छन् ।
आइतबार देखि आफ्नो बाँकी वक्यौताको माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरु आज भने हलो र जुवा सहित आन्दोलनरत रहेका छन् ।

विभिन्न चार वटा चिनी मिलका सञ्चालकले उखु लगेबापत किसानलाई करिब ७० करोडभन्दा बढी बक्यौता भुक्तानी गर्न बाँकी छ । जसअनुसार लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख, अन्नपूर्ण सुगर मिलले १७ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख र श्री राम सुगर मिलले सबैभन्दा धेरै २६ करोड ७७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

प्रकाशित मिति:December 18, 2020